मधेसमा चुनाव जित्ने रणनीति बनाउँदै एमाले
बर्दिबासः दुई नम्बर प्रदेशमा तोकिएका एक सय २८ वटा स्थानीय तहमध्ये प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कम्तिमा एक सयवटामा चुनाव जिताउने निष्कर्ष निकालेको छ। महोत्तरीको बर्दिबासस्थित गौरीडाँडामा आयोजना गरिएको दुई दिने दुई नम्बर प्रदेश स्तरीय भेलाले यस्तो निष्कर्ष निकालेको हो।
जिल्ला–जिल्लामा एमाले पार्टीप्रतिको दृष्टिकोण र जिल्लाका स्थानीय निकायमा एमालेलाई जिताउन रणनीति बनाउँदै एमालेको अगुवा भेला सकिएको एमाले पार्टी सचिव योगेश भट्टराईले जानकारी दिए। बैशाख ३१ हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर बर्दिबासमा फागुन २५ गते हुने भनिएको एमालेको सभा सप्तरी गोलीकाण्डपछि २ नम्बर प्रदेशमा मेची महाकाली अभियान स्थगित गरिँदा दुई नम्बर प्रदेशको एमालेको चुनावी अभियान अन्यौलमा परेको थियो। सप्तरीको हिंसात्मम घटनापछि केही समयपछि एमाले फेरि मधेस केन्द्रित चुनावी माहौल बनाउन जुटेको छ।
महोत्तरी, धनुषा, सर्लाही, रौतहट, बारा, पर्सा, सिरहा र सप्तरी गरी दुई नम्बर प्रदेशका ८ जिल्लामा सर्वसाधारणको नेकपा एमालेप्रतिको दृष्टिकोण र चुनावी माहौलको विषयमा भेला केन्द्रित भएको थियो। सबै जिल्लाको चुनावी माहौल आंकलन गर्दै पार्टीका अगुवा कार्यकर्ताहरुलाई एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेल, सचिव योगेश भट्टराईसहितका नेताहरुले स्थानीय निकायको चुनावमा एमालेलाई जिताउने जुक्ति सिकाएको भेलाका सहभागीहरुले बताएका छन्।
‘मोर्चाका नाममा तराईमा जवासिंह, गोइत समुह अपराधिक गतिविधि गर्न सक्रिय रहको हाम्रो जिल्लागत रिपोटिङ्गले देखाएको छ। मोर्चाले यसलाई नियन्त्रण गर्न सकेको छैन,’ एमालेका सचिव योगेश भट्टराईले भेलापछि भने,‘ यसले समाजमा असहिष्णुता ज्यादा बढाइको छ। मधेशी पहाडीबीचको समाजिक सद्भाव भड्कायो।’ मधेशमा ठूला पार्टीहरुलाई ती समुहहरुले कमजोर बनाएको बताउँदै उनले भने,‘राज्यका निकायहरु पनि मधेसमा कमजोर पार्ने काम भइरहेको हामीले पाएका छौं।’
मधेसी मोर्चाले एमालेप्रति फैलाएकोे भ्रम चिर्न दुई नम्बर प्रदेश अन्तर्गतका जिल्लाका मुख्य स्थानहरुमा आम सभा, कोण सभाको आयोजना गरिने उनले बताए। ‘सबै अपराधिक गतिविधि र भ्रमको एउटै औषधी हो स्थानीय निकायको चुनाव । चुनावले सबै पार्टीहरुलाई ठीक ठाउँमा ल्याउँछ । चुनाव मोर्चाको विरुद्धमा भने होइन्,’उनले भने।
‘सरकारले चुनाव गराउन दाँयावाँया गर्नु हुदैंन,’ नेता भट्टाईले भने,‘मधेशमा पनि तोकेकै समयमा चुनाव हुन्छ । मोर्चा चुनावमा नआएपनि उनको कार्यकर्ता चुनावमा भाग लिन्छ । मोर्चाको कार्यकर्ताहरुले हामीलाई भनिरहेको छ। हाम्रो पार्टी चुनावमा नआएपनि एमालेबाट टिकट दिनुस् हामी चुनावमा उम्मेदवार बन्छौं। ’
करिव दुई हजार अगुवा कार्यकर्ता सहभागी रहेको भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र ईश्वर पोखरेलले २ नम्बर प्रदेशको विकासको खाकासहित अब एमाले मधेसमा अड्डा जमाएर बस्ने उद्घोष गरे। उनीहरुले मधेसी मोर्चा र कांग्रेसको धाक धम्कीसँग नडराउन कार्यकर्तालाई ढाडस समेत दिए।