मतदाताको नङमा मार्कर
काठमाडौं : स्थानीय तहको निर्वाचनका लागि मतदाताको नङमा लगाउने मसी भारतबाट नआएपछि निर्वाचन आयोगले 'मार्कर पेन' किनेको छ । भारतबाट मसी आउने/नआउने टुंगो नभएपछि आयोगले स्थानीय तहको निर्वाचनमा मार्कर पेन प्रयोग गर्ने तयारी गरेको छ ।
२०७० को संविधानसभा निर्वाचनमा नङमा लगाउने मसी भारत सरकारले दिएको थियो । यसपटक पनि आयोगले मसी उपलब्ध गराइदिन भारत सरकारसँग अनुरोध गरेको थियो । तर भारत सरकारबाट सकारात्मक जबाफ नआएपछि मार्कर पेन किनेको आयोगले जनाएको छ । 'भारतले दिने÷नदिने केही भनेको छैन', निर्वाचन आयुक्त नरेन्द्र दाहालले अन्नपूर्णसँग भने, 'निर्वाचनको दिन नजिकिँदै गएकाले आयोगले तयारी अवस्थामा रहन मार्कर पेन किनेको हो ।'
भारतबाट मसी प्राप्त भए त्यसलाई आगामी निर्वाचनमा प्रयोगमा ल्याउन सकिने दाहालले बताए । 'मसीभन्दा मार्कर प्रयोग गर्न सहज हुन्छ होला भन्ने हाम्रो विश्वास हो', दाहालले भने, 'मसी आयो भने प्रतिनिधिसभा र प्रदेशको निर्वाचनमा पनि प्रयोगमा ल्याउन सकिन्छ ।' आयोगले नउड्ने मसी भएको मार्कर किनेको जनाएको छ ।
आयोगका अर्का आयुक्तले निर्वाचन सुरक्षाका लागि भारत सरकारसँग केही सवारीसाधन माग भएकोमा अहिलेसम्म कुनै खबर नदिएको बताए । 'हामीले भारत सरकारबाट सवारीसाधन सहयोगका लागि माग गरेका थियौं तर अझै आएका छैनन्', ती आयुक्तले भने, 'सवारीसाधन नआउँदैमा चुनावमा भने असर पर्दैन।'
आयोगले मिनीबस, मोटरसाइकलसमेत गरी ३८ वटा सवारीसाधन भारतसँग माग गरेको थियो । उत्तरी छिमेकी चीनबाट भने निर्वाचन सामग्री प्राप्त भएको आयोगले जनाएको छ । कैंची, रातो र कालो कलम, स्ट्याप्लर, पन्चिङ मेसिनलगायत १२ प्रकारका सामग्री चीन सरकारबाट आएको जानकारी आयोग प्रवक्ता सूर्यप्रसाद शर्माले दिए ।
आयोगले निर्वाचनमा प्रयोग हुने ६७ सामग्रीको जोहो गरिरहेको छ । सियो, धागोलगायत १२ वटा सामग्री जिल्लाबाट किन्न भनिएको र अन्य सामग्री ठेक्कापट्टा र दातृ संघसंस्थाको सहयोगमा जुटाउने काम आयोगले गरिरहेको छ । अपुग मतपेटिका चीनबाट र मतदाता परिचयपत्र आयोग परिसरमै छाप्ने काम भइरहेको छ ।
'ढुक्क भएर लाग्नुस्'
प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचनको तयारीमा ढुक्क भएर लाग्न आयोगलाई सुझाव दिँदै सबै दलले भाग लिने राजनीतिक वातावरण बन्दै गएको बताएका छन् । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवसहितका आयुक्तसँग बिहीबार छलफल गर्दै प्रधानमन्त्री दाहालले ३१ गते निर्वाचन हुने भन्दै ढुक्क भएर तयारीमा जुट्न आयोगका पदाधिकारीलाई सुझाव दिएका थिए ।
मधेसकेन्द्रित दलले पनि चुनावमा भाग लिने राजनीतिक वातावरण बन्दै गएको छ ।
पुष्पकमल दाहाल, प्रधानमन्त्री
आयोगका पदाधिकारीले २ नम्बर प्रदेशमा मतदान केन्द्र तोक्न नसकिएको तथा गृहमन्त्रीलगायत केही मन्त्रीहरूबाट आचारसंहिता उल्लंघन भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको स्रोतले बतायो । 'आचारसंहिता पालनामा आयोगले गरेको कडाइप्रति म खुसी छु ।
आयोगले कडाइ नै गरेको छ भन्ने चर्चा पनि चलेको छ', प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । प्रधानमन्त्री दाहालले मधेसकेन्द्रित दलले पनि चुनावमा भाग लिने राजनीतिक वातावरण बन्दै गएको र त्यसका लागि राजनीतिक सहमति बन्दै गएको बताएका थिए । गृहमन्त्री विमलेन्द्र निधिले आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले स्पष्टीकरण सोधिसकेको छ ।