गुरु, ज्ञान र भन्ज्याङ
हामीले पढेका तीनैवटा पाठशाला र कलेजले एक शताब्दी पूरा गरेछन् । सिंहमारी-दार्जिलिङको स्कट्स मिसियन प्राइमेरी स्कुल, प्रसिद्ध टर्नबुल हाईस्कुल र सन्त जोसेफ कलेज (नर्थ पोइन्ट) । यी स्कुल र कलेजले हजारौंको संख्यामा समाजसेवीदेखि बुद्धिजीवी, वैज्ञानिकदेखि राजनीतिज्ञ, पत्रकारदेखि कम्पनीका मालिक र डाक्टरदेखि प्रशासनिक सेवारत व्यक्तिहरू जन्माए । कोही सेनाध्यक्ष भए, कोही विश्वविद्यालयका कुलपति, कोही देश सम्हाल्ने राजा त कोही प्रतिष्ठित लेखक एवं संगीतकार ।
भारतका कुना-कुना त छँदैछ, तर पाकिस्तान, बंगलादेश, बर्मा, थाइल्यान्ड, श्रीलंका, नेपाल, भोटाङ, भियतनाम, लाओस, कम्बोडिया र मलायासमेतबाट दार्जिलिङमा अध्ययन गर्न आउँथे । यी तीन संस्थाहरूबाहेक कालिम्पोङ र खर्साङका विभिन्न स्कुलहरूबाट शिक्षा-ज्ञान लिन फर्कन्थे । एउटा स्वस्थ होडबाजी नै हुन्थ्यो । कुन स्कुलले अध्ययन, खेलकुद र अनुशासनमा नाम कमाउने, विश्व नै थर्काउने भनी । फुटबल, हकी, क्रिकेटको विभिन्न ऋतु नै थिए- वसन्त, हेमन्त, गृष्म, वर्षा ऋतु झैं । अंग्रेजी स्कुलमा पढ्नेले क्याम्ब्रिजको सपना देख्थ्यो । सबैले उनीहरूलाई मकै बाबा भन्थे । स्यान्डविज र ओेरेन्ज जुस खान्थे उनीहरू ।
हप्तामा एकपटक क्यापिटल र रिंक हलमा गएर वाइस्कप हेर्थे । जर्ज ह्यारिसन, उन विलियम्स र विटल्सहरूमा संगीत सुन्थे । दिनभरि क्रिकेट पनि खेल्थे । 'हिपी हिपी या या' ले गुन्जायमान हुन्थ्यो, उनीहरूको संस्कृति । यिनीहरू एउटा नौलो सभ्यताको डोको बोकी यी स्कुल, कलेजहरूमा आउँथे । दार्जिलिङ पहाडलाई जगमगजगमग पारिदिन्थे । नेपालका राजकुमार, भोटाङका राजा, थाइल्यान्डका मन्त्री, बंगलादेशका विदेशसचिव र बर्माका उद्योगपति पनि यी स्कुलहरूले जन्माए ।
यी अंग्रेजी स्कुलहरूका साथसाथै दार्जिलिङ पहाडमा सरकार र ख्रिस्तान मिसिनरीहरूले अत्यन्तै राम्रा अनेकन स्कुलहरू स्थापित गरे । दार्जिलिङको टर्नबुल, सन्त रोबर्टस, महारानी, सन्त, टेरेजा, बोर्डिग, शारदेश्वरी, रामकृष्ण आदि । खर्साङमा पुष्परानी, सेन्ट अलफन्स, रामकृष्ण र कालिम्पोङमा एसयूएमआई, कुमुदुनी होम्स, सन्त जोसेफ, पेदोङ हाईस्कुल, सेन्ट फिलोमिना जस्ता अनेकन । स्कुलहरूले अति उच्चकोटीको मानव संसाधन देशलाई समर्पित गरे ।
यी स्कुलहरूमा प्रायः नै कमान बस्ती र पहाड कन्दराका विद्यार्थीहरू पढ्थे । के हुन्थेन यी स्कुलहरूमा ? खेलकुद, संस्कृति, पढाइ, दसैं-तिहारमा सबैले स्कुललाई सदैव व्यस्त राख्थे । स्वतन्त्रता दिवस भव्य रूपमा मनाइन्थ्यो । उता भानु जयन्ती र शिक्षक दिवसले स्कुल, विद्यार्थी र शिक्षकलाई खर्लप्पै खान्थे ।
पोलेको मकै, गुन्द्रुक, सिन्की, काँक्रो, भटमास, सेलरोटी आदुदम, भुजा, काठ मिठाई, मुरयको डल्लाको सुवासनाले स्कुलको खाजा खाने ४५ मिनेटको हाफछुट्टीमा जमिन्थ्यो । रमाइरमाइ खान्थे एक सुरमा रहेका चबला-अबलाहरू ।
दार्जिलिङको यी दुवै प्रकारका स्कुल र कलेजका सबैभन्दा मुख्य आकर्षण नै त्यहाँका शिक्षकहरू थिए । स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय शिक्षकहरूले सुशोभित थिए दार्जिलिङको हरेक स्कुल । यी शिक्षकहरूका जात, धर्म, जाति, राष्ट्रियता र भाषा केही थिएन । उनीहरू केवल शिक्षक थिए । पेसा नै शिक्षक, धर्म नै शिक्षक, जात नै शिक्षक र लक्ष्य नै शिक्षक । श्रेणीमा पढाउँदा, ख्रिस्तान, हिन्दु, बुद्धिस्ट र मुसलमान भएर पढाउँदैनथे ।
दार्जिलिङ जस्तो कुनाको सानो सहरमा पढाउने गुरुहरू विश्वसँग टक्कर दिने आकांक्षा र क्षमता बोकेर बाँचेका थिए । उनीहरूले हामीलाई अन्तिम ज्ञान र शिक्षा के दिए भने आफ्नो जरा कहिल्यै नभुल्नू ।
क्षेत्री, बंगाली, गुरुङ, थाई, अंग्रेज र तामिल भएर पढाउँदैनथे । धनी घरको, गरिब घरानाको पानीमाथिको र शाकाहारी भएर श्रेणीभित्र पस्दैनथे । मन, मस्तिष्क र मुख तीन अंगबाट यिनीहरू केवल शिक्षक थिए । विद्यार्थीहरूलाई शिक्षा दिन्थे, ज्ञानका ठूलाठूला पोकाहरू खोलेर अगाडि राखिदिन्थे । दैनिक जीवनमा आइपर्ने लोभ, लालच, ईष्र्या, घमण्ड, क्रोध, रोगबाट आफूलाई कसरी टाढा राख्न सकिन्छ भन्ने अनुभव र आकांक्षा बाँड्थे ।
हामीले पढेका स्कुल र कलेजमा यस्तै शिक्षकहरू थिए । लोकल र ननलोकलको नामसमेत लिइँदैनथ्यो । थोरै तलब खाएर पनि स्कुल र कलेजलाई आठदेखि बाह्र घन्टाको समय दिन्थे । विद्यार्थीहरू कसरी स्वस्थ रहनेदेखि लिएर घर, समाज कसरी चलाउने भन्ने ज्ञानसमेत दिन्थे । खेतीपाती, पानीका मुहान सबै संरक्षणका उपायहरू बताउँथे । भूगोल पढाउँदा विज्ञानको उदाहरण, अंग्रेजी पढाउँदा नेपाली साहित्यको ज्ञान र अर्थशास्त्र पढाउँदा राजनीतिकको तनावमाथि स्पष्टसँग मनखाने कुरा गर्थे । स्कुल र कलेज अति नै आकर्षक थिए । दुई महिनाको ठण्डा महिनाको छुट्टी कहिले सकिन्छ र स्कुल लाग्छ जस्तो लाग्थ्यो, सबै विद्यार्थीलाई । सिंहमारीको स्कट्स मिसियन प्राइमरी स्कुलमा हामी पढ्दा कर्थक सर, शान्ति सर, सावित्री गुरुमा, बाहुन सर थिए । तीनवटा स्कुलका कोठाका भित्तैभरि ज्ञान नै ज्ञान थिए । दार्जिलिङको सिमाना, राष्ट्रिय गीत जनगनमन र विभिन्न फलफूल ईश्वर रुखबारे तस्बिर ।
कुमाले, डकर्मी, सिकर्मीले परि श्रम गरेका तस्बिर । कार्थक सर, प्रधानाध्यापक थिए । घडी नै थिए उनी । समयले उनको र उनले समयको अत्यधिक इज्जत राख्थे । भुइँमा मकैको दाना र ससाना ढुंगाले कखरा... लेख्ने पाँचबर्से नानी र मौखिक हिसाबमा निपुण चार कक्षाका नौबर्से विद्यार्थी हरेकको नाम कार्थक सरलाई थाहा थियो । सावित्री गुरुमा सरस्वतीको मूर्ति झैं चिटिक्क परेकी थिइन् । छुच्ची तर ममतामय थिइन् । शान्ति सर सानै उमेरमै तीव्र ज्ञान बोकेका व्यक्तित्व थिए । बाहुन सरले भुत्ले टोपी गर्मी महिनामा पनि नहिच्किचाइ लगाउँथे ।
अचम्मैको स्कुल थियो । हर आइतबार स्कुल लाग्थ्यो । 'खुम्बया ओ माई लर्ड खुम्बाया' भनी चम्की-चम्की गाउँथ्यौं । अन्धा सर गीतार बजाउँथे । लक्की सरले ईश्वरका विभिन्न रूपहरूबारे प्रवचन दिन्थे । धेरै मज्जा गथ्र्यौं । कार्थक सर कहिलेकाहीं विद्यार्थीका घरघर जान्थे । सन् १९६८ मा आएको भलपहिरोले दिलिप राईलाई बगाएपछि हामी सबैले एकैसाथ उनको आत्माले शान्ति पाओस् भनी प्रार्थना गर्यौँ । दिलिप चार कक्षामा थिए । स्कुले जीवनको मित्रता साँच्चै प्रगाढ हुँदोरहेछ । प्राइमरी स्कुल भन्नासाथ शिक्षकहरूबाहेक सांगे दुराल, कमल आँखामै नाच्छन् अहिले पनि । तीनैजना स्वर्गवास भए अरे ।
टर्नबुल स्कुलमा अति नै चाखलाग्दो र कुशल शिक्षकहरू थिए । ठीक साढे नौ बजे स्कुलको खेलमैदानमा बिहान भेला हुन्थ्यो । हेमचन्द्र सरले लगभग आधा घन्टा स्कुलको गीत 'वेन टर्नबुल बोइज' प्रार्थना, जनगनमन सबै श्रेणीका विद्यार्थीहरूलाई एकैसाथ गाउन र गर्न लगाउँथे । लक्की दीक्षित र कुमाइ सरले आआफ्नै प्रकारले गणित पढाउँथे । लक्की सरको रातो गोह्रो अनुहार, दीक्षित सरको चाइनिज कलम र कुमाई सरको नीलो टाई आँखामै छन् । ठूलो श्रेणीमा पुगेपछि खालिङ र चन्द्रकान्त सर औधी नै रोचक थिए । अंग्रेजी भाषा साहित्यमा पहिलोपटक दखल दिने व्यक्ति खालिङ सर नै थिए । चिटिक्क परेर सुरिलो आवाजमा पढाउँदा हामी मख्ख पथ्र्यौं । चन्द्रकान्त सरले पढाएको अर्थशास्त्र अहिलेसम्म त्यस्तै रह्यो । विश्व कहाँ पुगिसक्यो, तर सरले सिकाएका अर्थशास्त्रको परिभाषा अझै पनि महत्वपूर्ण छ ।
कतिपय शिक्षकहरू राजनीतिमा खप्पिस थिए । पीपी राई सरलाई कांग्रेसका नेता भनेर प्रधानमन्त्री इन्दिरा गान्धीसमेतले चिन्थे । उनी भूगोल पढाउँथे । साथसाथै राजनीतिक भूगोल पनि त्यही कलिलो उमेरमै छिचोलेका थियौं । कविराज सर अचम्मका व्यक्ति थिए ।
पण्डित नेहरूलाई महात्मा गान्धीको आत्मकथाका कुनाकुना थाहा थियो । इन्द्रबहादुर राई सर नेपाली पढाउँथे । राई सर विद्यार्थीसँग कहिल्यै ख्यालठट्टा गर्दैनथे । हाम्रा हेडमास्टर महेन्द्र सर थिए । उनी एउटा आदर्श नै थिए । अंग्रेजी फट्कारेर बोल्थे । चिनी भाषा सिकाउँथे र देश-विदेशका घटना अघि ल्याइदिन्थे । कहिल्यै बूढो नहुने सर आज पनि हामीलाई स्कुल नै ठानेर माया गर्छन् । आईपी मुन्ना, शंकर, शाशंकर, अलबर्ट सीधा तर कुशल शिक्षक थिए । अलबर्ट सरले धर्म, भक्ति, प्रेम र समाज आदिबारे विशेष कुरा पढाउँथे । एनवी देवान सरले सातौं श्रेणी पुग्नासाथ अंग्रेजी व्याकरण अगाडि राखिदिए । आज अंग्रेजी बोल्दा र लेख्दा सरको सुनौलो चस्माको फ्रेम र तीखो आवाज घरिघरि अगाडि आउँछ । सुखछिरिङ सरले पढाउनुका साथै एनसीसीमा कसरत परेड गराउँथे ।
टर्नबुल एउटा सग्लो स्कुल थियो । हामीले शिक्षा-ज्ञानका साथै अनुशासन पनि यहींबाट सिक्यौं । सजाय कडा थियो । पारस सरलाई सबैभन्दा स्मार्ट शिक्षक भनिन्थ्यो । उनले लगाएको सुटभित्र इस्टकोट र टाइ हुन्थ्यो । श्रेणीमा आउनासाथ मराठा, अगरबत्ती जलाउनुपथ्र्यो । बर्खा झरीमा भिजेर आएपछि श्रेणीमा भीड हुँदा दुर्गन्ध नफैलियोस् भनेर होला सायद । पहिला सिरकुला, पछि बेत र अझै पछि लट्ठी चल्थ्यो । वरिपरि केटीहरूका स्कुल थिए । साह्रै बद्मास गरे मूल ढोकामा घोप्टो पारेर लट्ठीद्वारा सजाय दिइन्थ्यो । सबै लजाउँथे त्यस्तो स्थितिमा पुग्दा । शिक्षकहरू आफ्नो पेसामा निपुण थिए । नौ-दस घन्टाको समय स्कुललाई दिन्थे । तलब सायद एक सय रुपैयाँ थियो होला । धेरै शिक्षकहरू भन्ज्याङ काटी विलुप्त भए । उहाँहरूबारे अहिले पनि प्रार्थना गर्छौं । सिकाएका एकएक कुरो राख्छौं । आज चालीस वर्षपछि पनि ती शिक्षकको नाम लिनासाथ शिर निहुराउँछौं । उनीहरूसँग जे थियो सबै दिए हामीलाई- व्यक्तित्व र चरित्रदेखि आत्मसम्मान र बौद्धिक विकाससम्म । जीवन संघर्षमा अझै व्याप्त रहेका हामी हाम्रा गुरुहरूलाई सुस्वास्थ्य र दीर्घायुको कामना गर्छौं ।
पन्ध्र-सोह्र वर्षको उमेरमा दार्जिलिङको अर्को सुप्रसिद्ध सन्त जोसेफ कलेज (नर्थ पोइन्ट) मा भर्ना भयौं । नेपाली साहित्यबाहेक सबै विषय ठेट अंग्रेजीमा पढाइन सुरु भयो । फादरहरू भ्यान, लेक्लेयर, म्याकडोगाल, पापाडिल एकापट्टि र सबै शिक्षालाई नै मानव विकासको मूल मन्त्र मान्नेहरू अनि फिलिप सर, सरकार, सुभ्च्या, चक्रवर्ती, सीबी राई, एपी लाल, जेरार्ड मुखिया जस्ता अनुभवी शिक्षकहरू अर्कोपट्टि । एउटै क्लास पनि छोड्न मन पर्दैनथ्यो । एसियाका कुनाकुनाबाट विद्यार्थीहरू आएका थिए । एउटै श्रेणीमा एक सयभन्दा बढी विद्यार्थीहरू र हामी अर्थशास्त्र अनर्समा पाँचजना । फादरम्यानले 'लेडी विथ द ल्याम्प' पढाउँदा पहिलोपटक फ्लोरेन्स नाइटिंगेललाई चिन्यौं । हातखुट्टा कुहिएर झर्ने बिरामीलाई ग्यानग्रिन भन्दो रहेछ भनेर बुझ्यौं । फादर म्यान विद्यार्थीका घरघरमा पुग्थे । मिस डन र मिस घोषले अंग्रेजी पढाए, अझै माथि पुगेपछि । मिस डनले अति रोचक ढंगमा पढाइलाई स्थान नदिएको खण्डमा लड्डु पाउँछौ भन्दै हातका दुई औंला जोडी लड्डुका आकार देखाइदिन्थे । फिलिप सरले वटर फ्लुको अन्तिम लडाइँमा नेपोलियन बोनापार्ट हारेको कुरोदेखि फ्रान्सलाई सर्दी लागेको खण्डमा सम्पूर्ण युरोपले नै हाछ्युँ काढ्छ भनेर विश्व इतिहास पढाउँथे । सीबी सर र लाल सरले पढाएको राजनीति विज्ञानले नै आज हामी धेरैले आफ्नो अधिकार खोज्न र पाउन लड्ने भयौं ।
डा. सरकार अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयबाट पीएचडी सकी सीधै यस कलेजमा पढाउन आएका थिए । उनी मलाई औधि माया गर्थे । उनले नै मलाई शोधकार्य, पहाडी अर्थव्यवस्था र नीतिपरक अध्ययन कसरी गर्ने भन्ने पाठ पढाएका थिए । जेरार्ड सरले नेपाली साहित्यमा दोषी चस्मा, कर्णेलको घोडा, प्रह्लाद सबै रोचक ढंगमा पढाए । एउटा ठूलो खुबी थियो उनमा । विस्तारै तर गहिरो कुरो साधारण ढंगमा बुझाउँथे । पछि गएर कलेजले मलाई सर्व श्रेष्ठ विद्यार्थी घोषणा गर्दै फादर लेकलेयरले अँगालो हालेर ईश्वरले तिमीलाई सदैव रक्षा गरून् र तिम्रो बौद्धिक विकास अझ तीव्र गतिमा होस् भनेका थिए । एनबी राई सर, उपप्राचार्यले पनि त्यसै गर्दै भने ।
प्राइमरी स्कुल, टर्नबुल स्कुल र कलेजबाट हामीले चारपाँचवटा घतलाग्दा कुरा सिक्यौं । जीवनमा धेरै तलमाथि हुँदा यी कुरा अझै उम्लेर माथि आए । पहिलो- कसरी साधारण भएर बाँच्नु ? हरेक शिक्षकमा सरलता थियो, त्यसभित्र ज्ञान र रसको भण्डार थियो । पैसाको धनदौलतको यी शिक्षकहरूले कहिल्यै कुरा गरेनन् ।
दोस्रो- यिनीहरूले ज्ञान बाँड्ने कला सिकाइदिए । ज्ञान जति बाँडे पनि सकिँदैन भन्ने अर्को ज्ञान दिए । ज्ञान किताब पढेर मात्रै पाइँदैन, अधिकांश ज्ञान नै प्रकृति, समाज, देशविदेश यात्रा, संस्कृति, अनुभव आदिमा छन् भन्थे यिनीहरू । त्यसैले होला सायद एउटा शिक्षक भएर श्रेणीमा पस्दा आज पनि पुस्तकको ज्ञानभन्दा अरू स्रोतबाट बटुलेको ज्ञान विद्यार्थीसँग बाँड्ने गर्छौैं । तेस्रो- होडबाजी गर्ने क्षमता मात्रै नदिएर यिनीहरूले होडबाजीको मन्त्र र मर्म नै हामीलाई बुझाइदिए । खेलकुददेखि अध्ययन कार्य, पेसादेखि घर, समाज र राष्ट्रलाई अघि बढाउने काममा लगनशीलता र पेसेबर नैतिक शक्ति यिनीहरूले नै हामीमा वीजारोपण गरे ।
धन्य यी शिक्षकहरू, गुरु ईश्वर नै भएर बसे हाम्रो मनमनमा । चौथो- धर्म, जात, जाति, क्षेत्रबाट माथि उठेर कसरी ठूलो सोच र उच्च लक्ष्य राखेर जीवनयापन गर्ने भन्ने कुरो पनि यी गुरुहरूले नै हामीलाई सिकाए । यी गुणहरू विश्वले नै रमाइरमाई आलिंगन गर्छ । दार्जिलिङ जस्तो कुनाको सानो सहरमा पढाउने यी गुरुहरू विश्वसँग टक्कर दिने आकांक्षा र क्षमता बोकेर बाँचेका थिए ।
अनि अन्तिम ज्ञान र शिक्षा के दिए भने आफ्नो जरा कहिल्यै नभुल्नू । सबै शिक्षकहरू जराकै कुरा गर्थे । गाउँघर, आँगन-अँगेना, फलफूल-पोथ्रा, ओखतीमुलो, कहिल्यै भुलेनन् पनि उनीहरूले । सपना-कल्पनालाई अँगाले पनि यथार्थ र वास्तविकता कहिल्यै भुलेनन् उनीहरूले ।