महानगरमा उम्मेदवार बन्नेको ताँती

महानगरमा उम्मेदवार बन्नेको ताँती

 

पोखराः कांग्रेस नेता नन्दप्रसाद तिवारीले २ चैतमा पत्रकार सम्मेलन गरी पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा आफ्नो दाबी प्रस्तुत गरे । केही दिनपछि कांग्रेसको लेखनाथ नगर समितिले आफूखुसी उम्मेदवारी घोषणा नगर्न निर्देशन जारी गर्‍यो । त्यसपछि कांग्रेस नेताले सार्वजनिक रूपमा भन्दा पनि पार्टीभित्रै आकांक्षा व्यक्त गरिरहेका छन् ।

कांग्रेसका जिल्ला सभापति कृष्ण केसी महानगरको प्रतिस्पर्धाका लागि अनिच्छुक छन् । तर कांग्रेसबाट आकांक्षीको संख्या झन्डै एक दर्जन छ । ‘पार्टी सभापति पनि आफैं र आउने अरू पद पनि आफैंले दाबी गर्नु नैतिक रूपमा ठीक होइन', उनले भने । महानगर हाँक्न सभासद् यज्ञबहादुर थापा हुँदै नयाँ-पुराना नेताको खोजी भएको छ । सांसद थापा आफैं इच्छुक छैनन्, तर पार्टीको एउटा पंक्ति निर्विवादित छविका उनको उम्मेदवारी कांग्रेसको जितका लागि सहज हुने विश्लेषणमा छ । सभासदबाट राजीनामा गराएर उनलाई मेयर उठाउनुपर्ने पक्षमा कतिपय कार्यकर्ता छन् ।

सरकारका पूर्वसचिव बाबुराम आचार्य, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी, नेता देवराज चालिसे, कांग्रेस पोखरा नगर समिति अध्यक्ष बजिरमान श्रेष्ठ, लेखनाथ नगर सभापति राजेन्द्रमणि लामिछाने, पोखरा नगरपालिका हुँदाका उपमेयर नरेशशंकर पालिखे, उपत्यका नगर विकास समितिका पूर्वअध्यक्ष अशोक पालिखे, टे«ड युनियन नेता रामजी कुँवर, पूर्व वडाध्यक्ष वीरेन्द्रनारायण बिजुक्छेलगायत कांग्रेसबाट मेयर उम्मेदवारको चर्चामा छन् ।

महानगर मेयरको टिकटकै लागि पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष बिन्दुकुमार थापाले कांग्रेसको केन्द्रमै ‘लबिङ' गरिरहेका छन् । गएको महाधिवेशनमा केन्द्रीय कोषाध्यक्षमा उम्मेदवारी दिएर चर्चामा आएका कृष्ण कार्कीले आफूलाई मेयरको उम्मेदवार दाबी गरिरहेका छन् । राप्रपा त्यागेर बसेका उद्योगी सूर्यबहादुर केसीलाई पार्टी प्रवेश गराएर मेयरको टिकट दिने आश्वासन कांग्रेस सभापति शेरबहादुर देउवाले दिइरहेको स्रोत बताउँछ । तर सूर्यबहादुरले भने आफ्ना छोराका निम्ति टिकट उपलब्ध गराए कांग्रेस प्रवेश गर्ने सर्त राखिरहेका छन् ।

एमाले नेताले आआफ्नै तरिकाले गृहकार्य गरिरहेका छन् । युवा संघका अध्यक्ष राजीव पहारी, पार्टी केन्द्रीय सदस्य मानबहादुर जीसी, जिल्ला कमिटी अध्यक्ष कृष्ण थापा, नेता श्रीनाथ बराल, उद्योगी नेता धनराज आचार्य र इन्जिनियरिङ अध्ययन संस्थानका पूर्वडिन इन्जिनियर भरत पहारी एमालेबाट उम्मेदवारको सम्भावित पात्र हुन् । पछिल्लो समय विकास र समृद्धिको नारा अघि सारेका लोकप्रिय नेता रवीन्द्र अधिकारीलाई महानगरको नेतृत्वमा ल्याउनुपर्ने धारणा एमालेभित्र र बाहिर थुप्रैको छ । स्वयं रवीन्द्र भने अनिच्छुक छन् । ‘मलाई टिकट दिनु उपयुक्त पनि छैन र मेरो इच्छा पनि छैन', उनले अन्नपूर्णसँग भने ।

स्थानीय तहको पुनर्संरचनाअनुसार पार्टीको ढाँचा परिवर्तन गरेर निर्मित पोखरा लेखनाथ महानगरपालिका कमिटीको संयोजक एमाले कास्की अध्यक्ष थापा नै बनेका छन् । आफ्नो उम्मेदवारीबारे उनले समय आएपछि मात्रै बोल्ने बताए । माओवादी केन्द्रबाट पार्टी अध्यक्ष दीपक कोइराला, पोखरा उपत्यका नगर विकास समितिका पूर्वअध्यक्ष विश्वप्रकाश लामिछाने, नेताहरू रामजी बराल, झलकपाणि तिवारी, कोमलनाथ बराल र बखानसिंह गुरुङ सम्भावित उम्मेदवारका रूपमा देखिएका छन् । उम्मेदवार छनोटको निष्कर्षमा पुग्न बाँकी रहेको माओवादी केन्द्र कास्की इन्चार्जसमेत रहेको पोलिटब्युरो सदस्य राजकाजी गुरुङको भनाइ छ । ‘चुनावकेन्द्रित कार्यक्रममै छौं', उनले भने, ‘केही समयमा उम्मेदवार छनोटको प्रस्ट खाका बन्छ ।'

स्थानीय तहको निर्वाचन महिलालाई अग्रस्थान भन्ने मर्मअनुसार मेयरमा महिला र उपमेयरमा पुरुषलाई उम्मेदवार बनाउने तयारीमा लागेको राप्रपा कास्कीका अध्यक्ष जयलाल पुन बताउँछन् । उक्त पार्टीबाट महिलालाई मेयरमा उम्मेदवार बनाउँदा गीता गुरुङ, हरिदेवी अधिकारी, धनु आचार्य र रञ्जना सेन पौडेल सम्भावित हुन् । वैशाख ३१ को चुनाव घोषणा भएको दुई सातापछि नै राष्ट्रिय जनमोर्चाले आफ्ना सम्भावित उम्मेदवारको सूची नै सार्वजनिक गरेको थियो ।

 पछिल्लो समय विकास र समृद्धिको नारा अघि सारेका नेता रवीन्द्र अधिकारीलाई महानगरको नेतृत्वमा ल्याउनुपर्ने धारणा एमालेभित्र र बाहिर थुप्रैको छ । स्वयं रवीन्द्र भने अनिच्छुक छन् ।

देश र पार्टीका हरेक आन्दोलनमा सहभागी भएको, समाजमा घुलमिल भएको र निरन्तर पार्टीमा प्रतिबद्ध व्यक्तिलाई उम्मेदवारमा सिफारिस गरिने कास्की कांग्रेस सभापति कृष्ण केसीको भनाइ छ । ‘दबाब र प्रभावमा आएर उम्मेदवार सिफारिस हुँदैन', उनले भने । एमाले कास्की अध्यक्ष कृष्ण थापाले पनि आर्थिक र नैतिक चरित्र असल भएको र काम गर्न सक्ने योग्य व्यक्तिलाई उम्मेदवारमा सिफारिस गरिने जानकारी दिए ।


नयाँ नगरमा आकांक्षी धेरै

नुवाकोटः स्थानीय निकाय पुनर्संरचनापछि नुवाकोटमा नयाँ कायम भएको बेलकोटगढी नगरपालिकामा स्थानीय तहको निर्वाचन सरगर्मी सुरु भएको छ । सो नगरमा हालसम्म कुनै पनि राजनीतिक दलले आधिकारिक रूपमा उम्मेदवार तय नगरेको भए पनि मेयरका लागि विभिन्न २२ जना व्यक्तिले दाबेदारी प्रस्तुत गरेका छन् । मेयरका लागि कांग्रेसका तर्फबाट प्रतापसिंह लामा, वैकुण्ठ पाण्डे, यादव नेपाल, जयराम दाहाल, इन्द्र लामा, एसके नेपाललगायतले दाबी गरिरहेका छन् ।

एमालेबाट वासुदेव कडुवाल, राजेन्द्ररमण खनाल, ठाकुर पुडासैनी, सुदर्शन नेपाललगायतको दाबी छ । कडुवाल बेलकोट नमुना गाविसका निर्वाचित अध्यक्षसमेत हुन् । मेयरका लागि माओवादी केन्द्रबाट जगत लामा, मुकुन्द पौडेल, विमला सुवेदीसमेतको चर्चा छ । विमला पूर्वसांसद्समेत हुन् । तीन हजार आठ सय ८८ जनसंख्या रहेको बेलकोटगढी नगरपालिकामा १३ वटा वडा छन् । उक्त नगरपालिकामा मुख्य रूपमा कांग्रेस, एमाले र माओवादी केन्द्रबीच प्रतिस्पर्धा हुने अनुमान छ ।

रसुवामा बनेन माहोल

स्थानीय तहको चुनाव नजिकिँदै गर्दा हिमाली जिल्ला रसुवामा भने चुनावी माहोल तातेको छैन । पाँच गाउँपालिका रहेको रसुवामा क्रियाशील राजनीतिक दलको आन्तरिक छलफल नसकिएकाले माहोल बन्न नसकेको जिल्ला नेताहरूको भनाइ छ । गाउँमा रहेका दलका नेता-कार्यकर्ताले गाउँमा सामान्य छलफल चलाउने तथा कार्यकर्ता भेटघाट गर्ने काम गरिरहे पनि चुनावी अभियानै लिएर गाउँ नगएका हुन् ।

कांग्रेस रसुवाका अनुसार जिल्लाको पाँचवटै गाउँपालिकामा पार्टीको गाउँ सम्मेलन गर्ने तयारी भएको छ । सम्मेलन सकिएपछि मात्र चुनावी अभियान लिएर गाउँ पस्ने उसको तयारी छ । जिल्लामा क्रियाशिल अन्य राजनीतिक दल पनि संगठनको अभियान सकाएर मात्र गाउँ जाने तयारीमा छन् । जिल्ला सदरमुकाम धुन्चेमा समेत चुनावी चहलपहल सुरु भएको छैन ।

नयाँ अनुभवका लागि म्यादीमा

इलामः लामो कपाल पालेका माई नगरपालिका दानाबारीका राकेश तामाङलाई यसपटकको स्थानीय तह निर्वाचनमा म्यादी प्रहरी भएर निर्वाचन सुरक्षामा खटिन मन छ । जिल्ला प्रहरी कार्यालयअघि भेटिएका उनले ‘नयाँ अनुभवका लागि' म्यादीमा भिड्न लागेको बताए । कपाल रातो बनाएका उनीमात्र होइन, उनकै जस्तो सोख भएका धेरै युवा बिहीबार जिल्ला प्रहरी कार्यालयको प्रेक्षालयमा म्यादीको फाराम भर्दै थिए ।

पढाइ छोडेकादेखि स्नातकोत्तर तहमा अध्ययनरत युवायुवतीसमेत म्यादीको दौडमा छन् । महेन्द्ररत्न बहुमुखी क्याम्पसमा स्नातक पढ्दै गरेकी सूर्योदय नगरपालिका पशुपतिनगरकी सरिता खतिवडाले काम पनि सिक्ने पैसा पनि हुने भएकाले म्यादीतर्फ आफू आकर्षित भएको जानकारी दिइन् । ‘चुनावको समयमा पढाइ हुँदैन, त्यतिखेर म्यादीमा खट्दा पढाइलाई पनि आर्थिक सहयोग पुग्छ', उनले भनिन् । खतिवडाले अहिलेसम्म चुनाव कसरी गरिन्छ भन्ने देखेकी छैनन् । उनलाई केके हुन्छ भन्ने पनि थाहा छैन । सबै सिकेर काम गर्ने उनको योजना छ ।

नयाँ अनुभवकै लागि म्यादीको फाराम भरेकी हुन् जोगमाईकी लक्ष्मी सुवेदी । उनले पनि अहिलेसम्म मतदान गर्ने अवसर पाएकी छैनन् । म्यादीमा भर्ना पाए उत्साहका साथ काम गर्ने उनको भनाइ छ । अपेक्षाभन्दा धेरै युवायुवतीले म्यादीको फाराम भरेको जिल्ला प्रहरी कार्यालय इलामका डीएसपी मोहन थापाले बताए ।

नेतृत्वको सुनिश्चतता खोज्दै महिला

दाङः नेतृत्वको सुनिश्चतता खोज्दै महिलागोपाल शर्मा तुलसीपुर जनप्रतिनिधि छान्न हुन लागेको स्थानीय निर्वाचन नेतृत्वका लागि यहाँका महिला क्रियाशील भएका छन । विभिन्न पार्टीले स्थानीय तहका लागि उम्मेदवार छनोट गर्ने तयारी गरिरहेका बेला दाङका महिलाले आफूहरूको नेतृत्व सुनिश्चितता खोज्न थालेका हुन । दाङमा विभिन्न पार्टीसम्बद्ध महिलाले संविधान र दलले व्यवस्था गरेअनुसारको स्थानीय तहमा महिलाको नेतृत्व सुनिश्चित गरिनुपर्ने आवाज उठाउन थालेका हुन । जिल्लाका १० स्थानीय तहमा कम्तीमा तीनवटामा महिला नेतृत्वमा जाने गरी महिला उम्मेदवार छान्न उनीहरूले आआफ्नो पार्टीमा दबाब दिएका छन ।

महिलाहरूले उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामध्ये केहीमा महिलालाई अध्यक्ष र केहीमा उपाध्यक्ष दिन मागसमेत गर्दै आएका छन । संवाद समूह क्षेत्रीय सचिवालय तुलसीपुरले गरेको स्थानीय निर्वाचनमा महिला सहभागिताको सुनिश्चितता विषयक अन्तरक्रिया कार्यक्रममा कांग्रेसकी महाधिवेशन प्रतिनिधि सुष्मा गिरीले निर्वाचनमा महिलाको नेतृत्व छानिनुपर्ने धारणा राखिन । महिलाले पनि राजनीतिक नेतृत्व गर्न सक्ने भएकाले उपमहानगरपालिकाको प्रमुखमा आफूहरूको उम्मेदवारी स्वीकार्न उनको माग छ । महिलाले प्रमुख भएर नमुना काम गरेर देखाउने दाबी गर्दै उनले पार्टी नेतृत्वलाई महिलालाई कमजोर नठान्न आग्रह गरिन् ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.