राष्ट्रपति चुनावमा रूसी हस्तक्षेपबारे २० जनासँग सोधपुछ गरिँदै
वासिङटनः गत वर्ष भएको अमेरिकी राष्ट्रपतिको निर्वाचनमा रूसी साइबर आक्रमण भएको भन्ने विषयमा छानबिन गरिरहेको समितिले २० जनासँग सोधपुछका लागि अनुमति मागेको छ । समितिमा रिपब्लिकन पार्टीका अध्यक्ष रिचर्ड बरले २० जनामध्ये कसैको नाम भने भन्न चाहेनन् । सोधपुछ गरिने व्यक्तिहरूमध्ये एकजना अमेरिकी राष्ट्रपतिका ज्वाइँ जेरेड कुसनर पनि रहेका छन् । उनलाई सोधपुछका लागि बोलाइएको खबर सोमबार नै सार्वजनिक भएको थियो ।
रिचर्डका साथ छानबिन समितिमा डेमोक्र्याटिक पार्टीका वरिष्ठ सांसद मार्क वोर्नरले यो समितिमा कुनै पनि खालको राजनीतिक प्रभाव पर्न नदिने बताएका छन् । उनले भने, ‘म र हैस् मार्क वोर्नर यस विषयमा मिलेर छानबिन गरिरहेका छौं । यो छानबिनलाई निष्पक्ष रूपमा सहयोग गरी सहयोग गर्न हामी दुवै तयार छौं । यो विवादमा हामी दुवैले पूरापूर सहयोग गर्नेछौं ।'
वोर्नरले राष्ट्रपतीय निर्वाचनका बेला विरोधी शक्तिले हस्तक्षेप गर्न खोजेको आरोप लगाए । उनले भने, ‘हाम्रो दुस्मन देशले हाम्रो सबैभन्दा उत्तम पद्धति लोकतान्त्रिक प्रक्रियामा आधारित चुनावमा डकैती गर्न खोज्यो । यसै बेला उसले एक उम्मेदवारलाई हराएर अर्को उम्मेदवारलाई फइदा पुर्याउने निर्णय गर्यो । रूसले अमेरिकी जनताको भलाइका लागि नगरेको स्पष्ट पार्न चाहन्छु ।' उनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाको उन्नति नचाहने गरेको दाबी गरे ।
अमेरिकालाई कमजोर पारेर आफू हावी हुन खोजेको उनको भनाइ छ । संसारमा रहेको अमेरिकी प्रभाव ध्वस्त पार्न पुटिनले यस्तो काम गर्न आदेश दिएको भन्दै उनले आलोचना गरे । आर्थिक र अन्य हिसाबले संसारभर रहेको अमेरिकी शक्ति घटाउन पुटिन लागिपरेको भन्दै उनले आक्रोश व्यक्त गरे । उनले भने, ‘तपाईं जुनसुकै पार्टीको समर्थक हुनुहोस्, अमेरिकी नागरिक भएको नाताले यो विषयमा चिन्तित हुनु आवश्यक छ ।'
ट्रम्पको चुनाव अभियानमा रिचर्ड बरले उनको सुरक्षा सल्लाहकारको भूमिका निर्वाह गरेका थिए । ट्रम्पसँग उनको निकट सम्बन्ध भएकै कारण उनलाई थुप्रै कुरा थाहा भएको हुनसक्ने आशंका गरिएको छ । बरले आफूले छानबिन समितिलाई पूर्ण सहयोग गर्ने स्पष्ट पारे । आफूले ट्रम्पलाई भोट दिएको र अमेरिकालाई हानि हुने कुनै काम नगरेको बताए ।
अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले ट्रम्पका ज्वाइँ कुसनरले छानबिन समितिलाई आफूले जवाफ दिने निर्णय गरेको जानकारी दिएको छ । कुसनर राष्ट्रपति ट्रम्पकी जेठी छोरी इभानका ट्रम्पका श्रीमान् हुन् । उनलाई राष्ट्रपति ट्रम्पका वरिष्ठ सल्लाहकार नियुक्त गरिएको छ । अमेरिकाका लागि रूसी राजदूत सरगेइ किसल्याकलाई भेटेका कारण उनीमाथि छानबिन गरिनुपर्ने अवस्था देखिएको हो । ट्रम्प टावरमा भएको बैठकमा पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लिन पनि उक्त बैठकमा सहभागी थिए । यसै बैठकका कारण सुरु भएको विवादले फ्लिनले राजीनामा दिनुपरेको थियो । कुसनरले रूसी राजदूतका साथै थुप्रै रूसी अधिकारीसँग भेट गरेको बताइएको छ ।