विश्वव्यापी वनक्षेत्रको पुनःस्थापना
अस्सफोर्डः मानवजातिको वनसँग सदैव पेचिलो सम्बन्ध रहँदै आएको छ । हामी वनमाथि मौसम र वर्षालाई नियमन गर्न, हाम्रो वायु र पानी स्वच्छ बनाउन, असंख्य प्रजातिका वनस्पति र जनावरलाई बचाइराख्न र एक अर्बभन्दा बढी मानिसको जीविकोपार्जनमा सहयोग पुर्याउन निर्भर छौं । तथापि, हामीले त्यसको विनाश गर्ने कार्य जारी राखेका छौं र अब विश्वको मूल वन क्षेत्रको करिब आधा क्षेत्रमात्र बाँकी रहेको अवस्था छ ।
वन विनाशले पारेको प्रभावलाई बढाईचढाई गरिरहनुपर्ने अवस्था छैन । रूखहरूले आफ्नो जीवनकालमा ठूलो मात्रामा कार्बनडाइअक्साइड उपभोग गर्छन्, जसले उनीहरूलाई जलवायु परिवर्तन निम्त्याउने कार, कलकारखाना, विद्युत् केन्द्र र चौपायाबाट हुने हरितगृह ग्याँस उत्सर्जन कम गर्ने महत्वपूर्ण साधन बनाउने काम गर्छ । यदि हामीले वन क्षेत्र गुमाउँदै जाने हो भने पेरिस जलवायु सम्झौताको सन् २०५० सम्म विश्वव्यापी तापक्रम वृद्धिलाई दुई डिग्री सेल्सियसभन्दा कममा सीमित गर्ने लक्ष्य पूरा गर्न असम्भव हुनेछ । वास्तवमा यो लक्ष्य हासिल गर्न हामीले गुमाइसकेको वन क्षेत्रको उल्लेखनीय भागलाई पुनःस्थापित गर्न जरुरी छ ।
वन क्षेत्रको पुनःस्थापना गर्ने दुईवटा तरिका छन् । पहिलो कृषियोग्य भूमिलाई बाँझो छाडिदिने र त्यसलाई प्राकृतिक रूपमै वनमा परिणत हुन समय दिने । यसका लागि त्यति खर्च लाग्दैन तर दशकौं लाग्छ । दोस्रो विकल्प अझ अग्रसक्रिय प्रकारको छः अर्बौं नयाँ रूखहरू रोप्ने ।
सन् २०१४ मा हस्ताक्षर गरिएको वनसम्बन्धी न्युयोर्क घोषणापत्रअन्तर्गत सरकारहरूले करोडौं हेक्टर वन क्षेत्रलाई पुनःस्थापित गर्ने वाचा गरे । अधिकांश सरकारसँग बजेटको अभाव भइरहेको वर्तमान अवस्थामा यो वाचाका लागि आर्थिक सहयोग जुटाउने कार्य चुनौतीपूर्ण भएको प्रमाणित भएको छ । यस पृष्ठभूमिमा हामीले आवश्यक लगानीका लागि निजी क्षेत्रलाई संलग्न गराउने प्रयास गर्नुपर्छ । वन आर्थिक रूपमा मूल्यवान् भएपछि त्यसलाई विनाशभन्दा संवद्र्धन गरिने सम्भावना बढी हुन्छ । वास्तवमै शताब्दीयौं देखि नाफा आर्जन गर्न रूखहरू रोपिंदै आएका छन् । आज उत्पादक वनले एक अर्ब हेक्टरभन्दा बढी क्षेत्रफल ओगटेको छ र यो विश्वको कुल वन क्षेत्रको एक चौथाइ भाग हो ।
त्यस्तो वनले दाउराको उत्पादन गर्छ र रूखहरू मासिंदै जानुको पचास प्रतिशत कारण दाउरा नै हो । कपडा, साबुन बनाउन आवश्यक तेल र लुब्रिकेन्ट, फलफूल र कोका जस्ता अन्य खाद्य पदार्थ पनि त्यस्तो वनबाटै उत्पादन हुन्छन् र यस्ता उत्पादनको माग बढ्दो छ ।
वन पैदावारको माग कसरी बढाउन सकिन्छ ? यसको बलियो सम्भावना निर्माण क्षेत्रमा छ । काठ एउटा महत्वपूर्ण निर्माण सामग्रीका रूपमा रहँदै आएको छ । अमेरिका, स्क्यान्डेभियन देशहरू र दक्षिणपूर्वी एसियामा आवासीय निर्माणका लागि यसको अझै पनि ठूलो माग छ । यद्यपि अधिकांश भवन आज इँटा, सिमेन्ट र ठूला संरचनाहरू स्टिलको प्रयोग गरेर निर्माण गरिन्छ,र यी सबै सामग्रीले उत्पादनका क्रममा उल्लेखनीय मात्रामा कार्बन उत्सर्जन गराउँछन् ।
यीमध्ये कुनै पनि सामग्रीलाई काठले पूर्ण रूपमा प्रतिस्थापन गर्ने सम्भावना न्यून रहेको भए पनि नयाँ प्रकारले इन्जिनियरिङ गरिएका काठ बढी प्रतिस्पर्धात्मक बन्न पुगेको छ । यसमध्ये एउटा क्रसल्यामिनेटेड काठ हो, जसको निर्माण काठको विभिन्न तहलाई टाँसेर प्यानल बनाएर गरिन्छ र यो स्टिल वा सिमेन्ट सरह बलियो हुन्छ र भवनहरूमा त्यस्ता सामग्रीलाई प्रतिस्थापित गर्न सक्छ ।
कार्बनडाइअक्साइड उत्सर्जनलाई कम गर्नमा काठ प्रयोगको योगदान यकिन गर्न अझ बढी अनुसन्धानको आवश्यकता छ । यस सम्बन्धमा बेलायतका आर्किटेक्ट एन्थोनी थिसलटन–स्मिथले गरेको मूल्यांकनअनुसार एउटा सामान्य बेलायती घर निर्माण गर्दा २० देखि २१ टन कार्बन उत्र्सन हुन्छ भने क्रसल्यामिनेटेड काठको प्रयोग गरेर निर्माण गर्ने घरले १९ देखि २० टन कार्बन उत्र्सजन कम गर्छ । अर्को शब्दमा भन्नुपर्दा क्रसल्यामिनेटेड काठ प्रयोग गरेर बनाइएको प्रत्येक घरले ४० टन बराबरको कार्बडाइअक्साइड उत्सर्जन हुनबाट रोक्ने काम गर्छ । यो वर्ष बेलायतमा निर्माण गरिने लक्ष्य राखिएका ३ लाख नयाँ घरहरू क्रसल्यामिनेटेड काठ प्रयोग गरेर बनाउने हो भने सडकबाट २५ लाख कार हटाए बराबर हुने छ । त्यसको जलवायु लाभ अत्यधिक हुन्छ ।
तथापि, त्यसलाई कार्यान्वयनमा ल्याउनु आर्थिक स्रोत मुख्य व्यवधान हुनसक्छ । संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनअनुसार युरोपमा क्रसल्यामिनेटेड काठ सिमेन्टभन्दा महँगो छ । क्रसल्यामिनेटेड काठ अझै पनि शुरुवाती अवस्थामा छ, जसको उत्पादन सीमित कारखानाहरूले मात्र गरिरहेका छन् । क्रसल्यामिनेटेड काठको आपूर्ति चक्र विकसित हुँदै गएपछि त्यसको मूल्य अवश्य कम हुँदै जानेछ, जसरी नवीकरणीय ऊर्जामा भएको थियो । यसका अतिरिक्त, भवन निर्माताका अनुसार क्रसल्यामिनेटेड काठ प्रयोग गरेर बनाइने भवनको कुल लागत सिमेन्ट प्रयोग गरेर बनाइने भवनबराबर नै हुन आउँछ, किनभने त्यसमा थोरै समय लाग्छ । सिमेन्ट प्रयोगमा जस्तो क्रसल्यामिनेटेड काठलाई निर्माणमा प्रयोग गर्न त्यति समय लाग्दैन ।
पक्कै पनि त्यस्तो रुपान्तरणलाई साकार बनाउनु सहज हुने छैन । निहित स्वार्थ जस्तैः परम्परागत निर्माण सामग्री उत्पादन गर्ने उद्योगहरूबाट आउने दवाबलाई सम्बोधन गर्नुपर्छ र त्यसमा छुटको व्यवस्था प्रदान गरेर प्रतिस्पर्धाका लागि समान अवसर प्रदान गर्न सकिन्छ । साथै, आगलागी वा कीराबाट सुरक्षा जस्ता सार्वजनिक गुनासाहरूलाई सम्बोधन गरिन आवश्यक छ र भवन निर्माताहरूले नयाँ सीप हासिल गर्न आवश्यक छ । सबैभन्दा महत्वपूर्ण, अनुगमनमा उल्लेखनीय सुधार गरिनुपर्छ जसले गर्दा बढी मागले अझ बढी वन विनाश ननिम्त्याएको सुनिश्चित गर्न सकियोस् ।
धेरै देशहरूका लागि यी चुनौतीलाई सम्बोधन गर्ने कार्यलाई लाभप्रद बनाउन त्यसबाट प्राप्त हुने आर्थिक अवसर पर्याप्त हुनुपर्छ । नयाँ वृक्षरोपणले ग्रामीण क्षेत्रलाई पुनः ऊर्जा दिने र नयाँ कारखानाहरूले लगानीकर्ता र व्यवसायीहरूका लागि अवसरहरू सिर्जना गर्ने काम गर्नेछन् । प्रारम्भिक संक्रमणका लागि आर्थिक सहयोग जुटाउन सरकार र ठूला कम्पनीहरूले द्रुत रूपमा बढी रहेको हरित ऋणपत्रबाट लाभ उठाउन सक्नेछन् जसमा ड्रोन र स्याटेलाइट इमेजिङको प्रयोग गरेर विनाशकारी वनजन्य क्रियाकलापको अनुगमन गर्ने प्रणालीको स्थापना हुनसक्नेछ ।
आर्थिक विकासलाई हरितगृह ग्याँस उत्सर्जनको न्यूनीकरणसँग जोडिने अवसर विरलै पाइन्छ तर वन पुनःस्थापनाले त्यो अवसर उपलब्ध गराउँछ । हामीले यो अवसरको लाभ कार्बन कब्जा गर्ने विश्वको सबैभन्दा प्रभावकारी माध्यमका रूपमा रहेको रूखहरूको पुनःस्थापनामा आधारित निर्माण रूपान्तरणको माध्यम अवलम्बन गरेर उठाउन सक्छौं । यो ‘काठको नयाँ युग’मा हामीले काठ फलाउने छौं, काठको प्रयोग गरेर निर्माण गर्नेछौं र हाम्रा वनलाई समृद्ध हुने अवसर प्रदान गर्नेछौं ।
(एडम्स नेचर कर्जरभेन्सी नामक संस्थाका महानिर्देशक हुन् ।) —रासस