किन सुन्दर करिश्मा

किन सुन्दर करिश्मा

नाम नै ‘ब्रान्ड' जस्तै लाग्छ करिश्मा मानन्धरको । नेपाली चलचित्र उद्योगमा नायिकामाथि टिप्पणी हुँदा सायद पहिलो सूचीको पहिलो, दोस्रो नम्बरमै आउँछिन् करिश्मा मानन्धर । हुन त करिब चार वर्षयता उनले कुनै चलचित्रमा अभिनय गरेकी छैनन् । तर, उनीप्रति दर्शकको आकर्षण भने उस्तै छ । चर्चा उत्तिकै भइरहन्छ । सम्झनेहरूले पनि उसैगरी सम्झिरहेको उनी ठान्छिन् । ललितपुरको झरुवारासीमा जन्मिएर नयाँबानेश्वरमै हुर्किएकी करिश्माले २०४२ सालमै पहिलो चलचित्र ‘सन्तान'मा दोस्रो मुख्य भूमिकामा अभिनय गरिन् ।

शुभतारा स्कुलबाट प्रवेशिका गरेकी उनले त्यसपछि नेपाली चलचित्र उद्योगमा आफूलाई स्थापित मात्रै गराइनन्, वर्ष दिनमा एक, दुई चलचित्र बन्ने समयलाई डोर्‍याउँदै लगेर उद्योगलाई नै अगाडि बढाउने काम गरिन् । त्यसपछि दंगाफसाद (हिन्दी), भाउजू, रणभूभि, वसन्ती, ट्रक ड्राइभर, गोपीकृष्ण, पापीमान्छेजस्ता दर्जनौं चलचित्र खेलिन् । करिब दुई सयभन्दा धेरै चलचित्र खेलिसकेकी करिश्माले ‘बाबुसाहेब' चलचित्र आफैं बनाइन् । उनले ‘फागु' बनाइन् । हाल उनी नयाँ चलचित्रको स्क्रिप्टमा काम गरिरहेकी छन् । नायिकाको भूमिकामा रहँदा जति प्रख्याति र सफलता भने निर्मात्री हुँदा पाइनन् ।

अभिनेत्रीभन्दा पनि पछिल्लोपटक करिश्मा नेतृको रूपमा स्थापित हुँदैछिन् । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा उनी निकै सक्रिय रूपमा लागेकी छन् । अबको यात्रा कसरी तय गर्दैछिन् त ? उनीसँगको छोटो संवादः


हिजो र आजको परिचयमा कहीँ कतै परिवर्तन आए झैं महसुस हुन्छ कि हुँदैन ?
सबैभन्दा पहिला त म पब्लिक फिगर हुँ । जनताको मान्छे हुँ । झन्डैझन्डै मेरो जीवनका ३० वर्ष मैले कलाकारितामा बिताएँ । त्यसबेला पनि म जनताकै थिएँ । प्रत्यक्ष, अप्रत्यक्ष जनताकै लागि केही गरेँ हुँला । अहिले थालेको राजनीतिक यात्रा पनि जनताकै लागि हो । म राजनीतिमार्फत जनताका लागि केही गर्न चाहन्छु ।

अहिले राजनीतिक गतिविधिमा बढी सक्रिय हुनुहुन्छ, यसले कलाकारितालाई ओझेल पार्दैन र ?
मैले कलाकारितामा बिताएको समय, गरेको लगानी र त्यहाँबाट पाएको माया मेरा लागि अमूल्य छ, अहिले अलिक समय कताकता नमिलेजस्तो भएको मात्र हो, म दुवै क्षेत्रलाई सँगै लिएर जान्छु । एउटा चलचित्रको स्क्रिप्टमा पनि काम गरिरहेकी छु ।

करिश्माजीले राजनीति गर्नु ठूलै पार्टीमा गर्नुपर्ने, माओवादीबाट फुटेर गएको सानो पार्टीमा किन लाग्नुपरेको होला' भन्नेहरू पनि छन्, के भन्नुहुन्छ ?
कोही पुरानो भन्दैमा ठूलो हुँदैन । पुरानो पार्टीले कतिपय अवस्थामा आफ्नो लोकप्रियता गुमाइरहेका छन् । विश्वास कायम राख्न सकेका छैनन् । ठूलो भन्ने राजनीतिक दलबाट देशका लागि राम्रो काम नभएको अवस्थामा नयाँ शक्ति जन्मियो । मेरो विचारमा विचार ठूलो हो । यसको विचारले मलाई आकर्षित गर्‍यो । म अवसरवादी मान्छे होइन, त्यसो भएको भए म ठूला वा पुराना पार्टीमा लाग्थे होला । म समाज र देशका लागि केही गर्न सकियोस् भन्ने चाहन्छु । त्यो विचारले सम्भव छ । त्यही विचारसँग सहमत भएर म यसमा लागेकी हुँ ।

नयाँ शक्तिको कुन त्यस्तो एजेन्डा छ, जसले तपाईंलाई आकर्षित गर्‍यो ?
मुख्य त समृद्धि हो । हुन त सबै पार्टीले यो नारा लगाइरहेका हुन्छन्, तर अवलम्बन हुनुपर्‍यो नि ? अहिले विभिन्न राजनीतिक चरणपछि देशले गणतन्त्र प्राप्त गरेको अवस्था छ, संविधान संशोधनको मुद्दा समाधान गर्ने हो भने मुलुक अगाडि जान्छ त्यसपछि हामीले गर्ने के त ? अबको माग भनेको देशको समृद्धि नै हो, विकास नै हो ।

नयाँ शक्तिले अवलम्बन गर्ला त ?
मान्छेले सकारात्मक हुन जान्नुपर्छ । भर्खर स्थापित भएर विचार प्रवाहको चरणमा पार्टी छ । दुईतीन सय वर्ष पहिला यो देशमा आफ्नै बलबुताले ठूलाठूला मठमन्दिर, दरबार, देवल, बाटा, पुलेसा बनेका छन् तर अहिले आएर हेर्नुस् त, करेसाबारीमा तरकारी रोप्न पनि विदेशी सहयोगको अपेक्षा गरिन्छ । यो त विकास होइन नि ! भएको युवा शक्ति बिदेसिएको छ । स्रोतसाधन त्यत्तिकै अलपत्र अवस्थामा छन् । यसरी त विकास सम्भव छैन । आत्मनिर्मर हुनै पर्छ । हाम्रो एजेन्डा त्यही हो । हाम्रो पार्टी अग्र्यानिक पार्टी हो । हामी बिना पैसा चुनाव लड्दै छौं । आफंै गोजीको पैसा हालेर कार्यक्रम गर्दै हिँडेका छौं । यही सिद्धान्तलाई स्थापित गरेर व्यवहारमा लग्ने हो ।

अग्यानिक भन्नुभयो, यहाँको नेतृत्वलाई भारतपरस्त भन्ने आरोप लाग्छ नि ?
त्यही त अचम्म लाग्छ । किन यस्तो टिप्पणी हुन्छ । आज हामी पार्टीको कार्यक्रम गर्दैछौं, पार्टीमा आबद्ध हरेक साथीले हजार रुपैयाँ उठाएर त्यो व्यवस्थापन गर्दैछौं । हामी के हौं भनेर समय लाग्छ बुझाउन, सबै कुरालाई नकारात्मक आँखाले मात्रै हेरेन प्रगति सम्भव छैन भन्ने पनि हामीले बुझ्न जरुरी छ ।

यहाँलाई कुन दिन, कुन क्षणले अभिनेता र नेता बन्न प्रेरित गर्‍यो ?
खासगरी मेरो जीवनमा हरेक कुरा आइपर्दै गए । म कहिल्यै पनि महत्ववाकांक्षी भइन् । सामान्य उद्देश्य मैले जहिले पनि राखेरै हिँडे । भगवान्ले सबैकुरा मलाई दिँदैदिँदै जानुभयो र मैले त्यसमा मनैदेखि मेहनत गर्दै गएँ । मैले कलाकारिता गर्दा सिनेमा क्षेत्र अहिलेजस्तो बृहत् थिएन । त्यसताका एउटा, दुईटा आक्कलझुक्कल चलचित्र बन्थ्यो । अहिले दुई सयको हाराहारीमा बन्छ । अर्बौं लगानी छ । त्यसबेला कार्यक्षेत्र निर्माण गर्ने समयमा म यो उद्योगमा थिएँ । त्यस अर्थमा म आफूलाई भाग्यमानी ठान्छु । ३० वर्षको यो यात्राका क्रममा मैले समाजसँगै रहँे । अहिले आएर समाजका लागि केही गर्नुपर्छ भन्ने सोचमा थिएँ । यहीबेला मेरो विचार मिल्ने गरी नयाँ शक्ति आयो मैले आफूलाई यो पार्टीमा फिट देखेँ र यसैमा लागेँ ।

पहिलो चलचित्र खेल्दाको क्षण सम्झनु हुन्छ ?
करिब ३० वर्षअघि सन्तानमा दोस्रो लिड रोलमा थिएँ । त्यसबेला सानो भूमिकाले पनि कलाकारलाई ‘स्ट्यान्ड आउट' गथ्र्यो । धेरै दर्शकले चिन्थे । त्यसमा मेरो अलिकति नकारात्मक भूमिका पनि थियो । तै पनि त्यो मन पराइएको थियो ।

अहिले पनि यहाँको सुन्दरताको बयान गर्नेहरू धेरै छन् । सुन्दरताको रहस्य के हो ?
म जहिले पनि खुसी भइरहने प्रयास गर्छु । मान्छेको चोला हो, यो जतिखेर पनि नास हुन सक्छ । त्यसलाई बचाउन सक्नुपर्छ । म पनि कहिल्यै डाक्टर भेट्ने गर्दिनँ । आफूलाई भित्रैदेखि खुसी राख्ने प्रयास भने सधैं गरेँ । नकारात्मक कुराभन्दा सकारात्मक धारणाले आफूलाई घेरेँ ।

खानपान नि ?
खानपानमा पनि ध्यान दिनै पर्छ । उमेरअनुसार बानी परिवर्तन गर्नुपर्छ । मीठो लाग्छ भन्दैमा जे पनि, जति पनि र जतिबेला पनि खानु हुँदैन । खाने कुरामा म आफ्नो शरीरको भाषा सुन्छु । सामान्य योग, ध्यान र क्लब जान्छु । साथीभाइ बनाउने, मनमा जे आयो त्यही गर्ने, खुसी भइरहने मेरो जीवन जिउने सूत्र हो । ऊर्जा भनेकै खुसी हो । उत्साह र खुसी ठूलो बल हो ।

चलचित्र नै थोरै बन्ने जमानामा चलचित्र खेल्दा के कस्ता अनुभव बटुल्नुभयो ?
म त त्यतिबेलै मोडर्न थिएँ । काठमाडौंमा बस्थेँ । त्यसबेलै कट्टु लगाएर हिँड्थेँ । टपलेस लगाएर हिँड्थेँ । अहिले पनि गाउँमा रुढिवादी छ भने त्यो बेलामा नहुने कुरै भएन तर मैले भोग्नु परेन । मैले नै बरु पत्रिकामा पहिलोपटक ग्ल्यामरस फोटो दिएँ ।

आफैंलाई मन नपर्ने बानी ?
म अलि धेरै इमानदार छु, म सोच्छु कि यदि कसैले विश्वासघात गर्छ भने त्यो उसले आफैंलाई पनि विश्वासघात गरेको हो ठान्छु । तर कहिलेकाहीँ अप्ठ्यारो लाग्छ ।

आफैंलाई गर्व लाग्ने बानी ?
खै, त्यस्तो त केही छ कि जस्तो लाग्दैन । तर अहिले चारपाँच वर्षदेखि चलचित्रमा नखेले पनि मलाई दर्शकले उत्तिकै माया गर्छन्, ‘हाम्री करिश्मा' भन्छन् । अर्कै आनन्द आउँछ ।

अचेल अफर आउँछ कि आउँदैन ?
ए...आउँछन् नि ! पब्लिक फिगर भनेकै त्यही हो । म म्यासेन्जर खोल्दै खोल्दिनँ । तर म त्यस्ता कतिपय आँखा परेका म्यासेजको सकारात्मक र परिपक्व जवाफ दिन्छु ।

सधैं सुन्दर हुने टिप्स ?
सबैभन्दा पहिला त सकारात्मक सोच राख्ने । हाँसिरहने । सकारात्मकताको सञ्चार गरिरहने हो । अनि महिलाले प्राकृतिक कुरालाई पच्छ्याउनै पर्छ । आमाले दूध चुसाउने, सुत्केरीमा पटुका बाँध्ने, मसाज गर्ने आफूलाई केयर गर्नु जरुरी छ । पेट सफा राख्ने, मन सफा राख्ने, मैदा, जंकफुड, कोक आदि नपिउनु राम्रो हुन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.