ग्ल्यामर पार्ट अफ लाइफ
यसै साता राजधानीमा आयोजित ‘मिस इन्डिजेनियस हेरिटेज नेपाल २०१७' मा ललितपुरकी २२ वर्षीया रभ्ना तन्डुकारले शीर्ष उपाधि चुमेकी छन् । बीबीए पूरा गरेकी २२ वर्षीया उनी ललितपुरको जावलाखेल निवासी हुन् । एबीएको तयारीमा रहेकी रभ्ना र्याम्प मोडलिङमा रुचि राख्छिन् ।
ताज जित्दाको अनुभूति कस्तो हुँदोरहेछ ?
जितको अनुभूति यसै पनि रमाइलो हुन्छ । सबैले बधाई र स्यावासी दिइरहेका छन् । प्रशंसा पाइरहेको छु ।
के कारणले उपाधि जितेजस्तो लाग्छ ?
आत्मविश्वास, सकारात्मक सोच र मेरो मेहनत पनि हो । स्टेजमा गएपछि ममा एक प्रकारको आत्मविश्वास आउँछ । त्यसले पनि यो जित सम्भव भएको हो ।
पछिल्लो समय यस्ता प्रतियोगिताको क्रेज खासै छैन नि ?
मलाई त त्यस्तो लाग्दैन । दिनका दिन नयाँनयाँ शीर्षकमा प्रतियोगिता बढिरहेको छ । प्रतियोगीहरू त्यत्तिकै छन् ।
यस्ता प्रतियोगिताको आवश्यकता ?
हामीजस्ता युवतीका लागि यो राम्रो अवसर हो । यस्तो प्लेटफर्मले हामीलाई सबल र आफूमा भएको प्रतिभा प्रस्फुटन गर्न मद्दत गर्छ । त्यसैले यस्तो प्रतियोगिता भइरहनुपर्छ ।
यो क्षेत्रमा आउन कसले प्रेरित गर्यो ?
परिवार खासगरी दिदी प्रीति तन्डुकारले मलाई सधैं प्रेरित गर्नुहुन्छ । अभिभावकले पनि सिर्जनात्मक र करियरका लागि राम्रो हुन्छ भने जाउ गर भन्नुहुन्छ । रोकतोक छैन यसले पनि अगाडि बढ्न सजिलो भएको छ ।
आफ्नो चाहना पनि त हुनु पर्यो नि ?
मलाई त सानैदेखि रुचि थियो । स्टेजमा आउन, पर्फम गर्न रुचाउने मान्छे हुँ म ।
अबको योजना ?
अध्ययनलाई अगाडि बढाउँछु । नयाँ कुरा सिक्दै अगाडि बढ्ने हो ।
मोडलिङ अभिनयमा रुचि ?
जीवनका लागि राम्रो हुन्छ भने अवश्य गर्छु । र्याम्प मोडलिङमा त रुचि छ । यो प्रतियोगिताभन्दा अघि फेस अफ क्लासिक डाइमन्डमा पनि भाग लिएको थिएँ । तर अन्तिम प्रतिस्पर्धाका लागि टप १६ मा पुग्न सकिनँ ।
मोडलिङमा के कुराले आकर्षित गर्यो ?
म आस्था पोखरेल, अञ्जली लामाबाट प्रेरित भएकी हुँ । उहाँहरूले अन्तर्राष्ट्रियस्तरमा जुन स्तर हासिल गर्नुभयो त्यो हाम्रो लागि निश्चय नै प्रेरणा हो ।
प्रायः सबै मोडेल नायिकाहरू ग्ल्यामरस छवि चाहन्छन् किन होला ?
ग्ल्यामर पार्ट अफ लाइफ नै हो । तर ग्ल्यामर एलिगेन्ट र ब्युटीसँग हुनुपर्छ ।