कभर सङको करामत

कभर सङको करामत

समयअनुसार गीतसंगीतमा नयाँनयाँ चलन चलेको देखिन्छ । कस्ता गीतलाई श्रोता दर्शकले मन पराउँछन् भन्ने कुरा त्यस्ता चलनले पनि केही हदसम्म तय गर्ने गर्छ । अहिले नयाँ चलनको कुरा गर्दा 'कभर सङ' चल्तीमा छ । सामान्यत पुराना गीतलाई नयाँ वाद्ययन्त्र र परिस्कृत शैलीका साथ पुनः रेकर्ड गरेर श्रोता दर्शकमाझ ल्याउनुलाई 'कभर सङ'का रूपमा लिइन्छ । 'कभर सङ'को प्रचलन बढेपछि नयाँ पुस्ताले पुराना गीतहरू खोजीखोजी सुन्न र गाउन थालेका छन् । पुराना गीतको नयाँ भर्सन अर्थात् 'कभर सङ'ले यूट्युब रंग्याएको छ ।

दीक्षा जे थापाले पाँच वर्ष अगाडि साथीहरूको अनुरोधमा एउटा गीत गाएर यूट्युबमार्फत सार्वजनिक गरिन् । दर्शकबाट उनले नसोचेको प्रतिक्रिया पाइन् । धेरैले उनको स्वर मन पराए । आफूले गाएको गीत मन पराएपछि उनी एकपछि अर्को गर्दै अन्य गीतहरू गाउन थालिन् । कतिपय गायकगायिकाले आफ्नो गीत गाउनुपूर्व अरू कलाकारको गीत गाएर अभ्यास गर्छन् । दीक्षाले आफूले अभ्यास गरेका पुराना गीतलाई व्यवस्थित गरेर यूट्युबमा सार्वजनिक गर्न थालिन् । दर्शक श्रोताबाट पाएको सकारात्मक प्रतिक्रियाले उनलाई हौस्यायो । ' श्रोता दर्शकसँग कनेक्ट हुन पाएकी छु', उनले भनिन् ।

श्रोता दर्शकसँग कनेक्ट हुन पाएकी छु । अब दर्शक श्रोतामाझ मेरो परिचय नौलो छैन । सुरुमै आफ्नो गीत निकालेको भए के हुन्थ्यो भन्ने डर हुन्थ्यो । अहिले त्यो डर कम भएको छ । -दीक्षा जे थापा, गायिका

दीक्षा अरूको गीत गाउँदा त्यसलाई अलि 'इम्प्रुभाइज' गरी आफ्नोपनमा ढालेर गाउँछिन् । 'हे कान्छा', 'हाँसु कसरी', 'के यो माया हो'लगायत दर्जनभन्दा बढी कभर सङ गाइसकेकी उनको गायनमा साँच्चिकै नयाँपन पाइन्छ । यसलाई उनी राम्रो 'प्लेटफर्म' मान्छिन् । कभर सङबाटै संगीत यात्रा आरम्भ गरेकी उनले यूट्युबमार्फत दर्शक श्रोतामा आफ्नो चिनारी बनाएकी छन् । गायनमा आत्मविश्वास बढाएको छ । अहिले उनी आफ्नै गीत रेकर्डको तयारीमा छिन् । 'अब दर्शक श्रोतामाझ मेरो परिचय नौलो हुने छैन', उनले भनिन्, 'सुरुमै आफ्नो गीत निकालेको भए के हुन्थ्यो, मन पराउने हुन् कि होइनन् भन्ने डर हुन्थ्यो । अहिले त्यो डर कम भएको छ ।'

यो प्रचलनलाई पछ्याउँदै विदेशमा रहेका दर्जनौं नेपालीले पुराना र चलेका नेपाली गीतलाई कभर सङका रूपमा गाउने क्रम बढेको छ । अमेरिका बस्ने निक्की कार्कीले कभर सङबाटै यूट्युबमा दर्शक बटुलेकी छन् । त्यसैगरी भीजे र प्रीति कभर सङ गाउने चर्चित जोडी हुन् । त्यसैगरी जोभन भुजू, चिन्टु, स्वप्न सुमन सङमा उदीयमान कलाकार हुन् । अभिनेत्री प्रियंका कार्कीले पनि सुरुमा 'तिमीले त होइन तिम्रा भाखाहरूले' बोलको गीतको कभर गाएकी थिइन् ।

असली स्रष्टालाई श्रेय दिएरमात्र म कभर सङ गाउने गर्छिन् । आधिकारिक कलाकारलाई नोक्सान गर्न होइन, नयाँ पुस्तालाई पुरानो गीत सुनाउन कभर गाएकी हुँ । -अक्षता अधिकारी, गायिका

कभर सङबाट श्रोतादर्शकको मन जित्न सफल भएकी अर्की गायिका हुन्, अक्षता अधिकारी । कसैले चर्चित हुनलाई कभर सङ गाउँछन् त कसैले आफ्नो प्रतिभा देखाउन । तर अक्षताको मान्यता फरक छ । उनी पुराना गीतलाई ब्युँताउन कभर सङ गाउँछिन् । असली स्रष्टालाई श्रेय दिएर मात्र उनी कभर गाउने गर्छिन् । 'पुरानो अर्थात् आधिकारिक कलाकारलाई नोक्सान गर्न होइन, नयाँ पुस्तालाई पुरानो गीत सुनाउन कभर गाउँछु', उनी भन्छिन् । अहिलेसम्म ६ वटा कभर गाइसकेकी अक्षतालाई तिनै गीतले श्रोता दर्शकमाझ चिनाएको हो । दीक्षामा जस्तै अक्षतामा पनि अब नयाँ गीत गाउन सक्ने आत्मबल बढेको छ ।

पपगायक धीरज राईले आफ्नै गीतको कभर गाएका छन् । दुई दशक अगाडिका गीतलाई नयाँ पुस्तामाझ पस्किन आफूले कभर गाएको उनको भनाइ छ । 'चलेका पुराना गीत नयाँ पुस्ताको लागि नौलो स्वाद बन्न सक्छ', उनले भने । नयाँ वर्षमा कभर सङको एल्बम सार्वजनिक गर्ने तयारीमा पनि छन् धीरज । 'दुई दशकमा प्रविधिले ठूलो फड्को मारेको छ । नयाँ प्रविधिको प्रयोग गरेर आफ्ना गीत ब्युँत्याउने मेरो चाहना हो', उनले प्रस्ट्याए । अहिलेको श्रोतामा सांगीतिक चेतना बढेको उनको अनुभव छ । कभर गाउँदा आफ्नो गायन क्षमता प्रमाणित गर्न सकिने उनको भनाइ छ । स्वर र गायकी प्राथमिकतामा रहने भएकाले यसमा वाद्यवादन हाबी हुँदैन । त्यसैले यसलाई उनले मौकाको रूपमा लिएका छन् र उत्साहित पनि छन् । 'मैले नयाँ गीत निकाल्ने विषयमा पनि नसोचेका होइन । तर ट्रेन्ड कभर सङको छ', धीरजले भने, 'समय र श्रोताको चाहनाअनुसार चल्नुपर्छ ।'

चलेका पुराना गीत नयाँ पुस्ताको लागि नौलो स्वाद बन्न सक्छ । दुई दशकमा प्रविधिले ठूलो फड्को मारेको छ । नयाँ प्रविधिको प्रयोग गरेर आफ्ना गीत ब्युँत्याउने मेरो चाहना हो । -धीरज राई, पपगायक

कभर सङ व्यावसायिक रूपमा विकास भइरहेको छ । गीत गाएको साधारण भिडियोबाट यसको प्रचलन सुरु भएको हो । अहिले उच्च गुणस्तरको साउन्ड एवं भिडियो बनाएर कभर सङ बनाउने प्रचलन बढेको छ । कतिपय नयाँ कलाकार एवं पुराना कलाकारले पनि कभर सङका लागि प्रशस्त खर्च गर्न थालेका छन् ।

लामो समयदेखि प्रतिलिपि अधिकारको विषयमा काम गरिरहेका संगीतकार महेश खड्का व्यक्तिगत रूपमा कभर सङको विरोधी हुन् । उनको विचारमा यसले असली स्रष्टालाई पछि पार्छ । 'केहीले असली स्रष्टासँग अनुमति लिएर उनीहरूलाई श्रेय दिएर कभर सङ गाएका छन्', संगीतकार खड्काले भने, 'तर धेरैले आफ्नै हिसाबले पुरानो स्रष्टाको नाम निशाना नराखी गाएको पनि पाइएको छ ।'

पुरानो पुस्तालाई नयाँ पुस्ताले सुन्ने, अवलोकन गर्ने हो, उनीहरूको गीत नक्कल गर्नुको अर्थ छैन । खास स्रष्टालाई कुनै श्रेय नै नदिई गाउने गरिन्छ त्यसमा मेरो आपत्ति हो । -महेश खड्का, संगीतकार

कभर सङका कारण पुरानो पुस्ताको गीत बचाउन केही हदसम्म सहयोग चाहिँ पुगेको खड्काको भनाइ छ । 'खास स्रष्टालाई कुनै श्रेय नै नदिई गाइन्छ । मेरो आपत्ति यसमा हो', उनले भने, 'पुरानो पुस्तालाई नयाँ पुस्ताले सुन्ने, अवलोकन गर्ने हो, उनीहरूको गीत नक्कल गर्नुको अर्थ छैन ।' कभर सङको प्रचलन बढे पनि यो विषयलाई कुनै कानुनले छोएको छैन । यसलाई कानुनी दायरामा ल्याउन आफूहरूले अध्ययन गरिरहेको संगीतकार खड्काको भनाइ छ ।


 

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.