दालमा चोपेर बिस्कुट खाँदा उनी हाँसिन्
खानामा चुची छैनन् पपस्टार धीरज राई । ‘खानाभन्दा भोक मीठो' भन्ने उनको मान्यता छ । लाइभ कन्सर्टका क्रममा विश्वका दुई दर्जनभन्दा बढी मुलुक पुगिसकेका उनलाई यही मान्यताका कारण जहाँ गए पनि खानामा सकस हुँदैन । जस्तो खाना भए पनि खुसीका साथ सन्तुष्ट भएर खानुपर्ने उनको भनाइ छ । ‘खानासँग सन्तुष्टि लिन सक्नुपर्छ । खाना खाइयो सन्तुष्टि खाइएन अर्थात् खानाभित्र गयो सन्तुष्टि बाहिर रह्यो भने मजा आउँदैन', धीरजले भने ।
गायकगायिका खानाको सवालमा सचेत हुन्छन् । धीरज पनि अलि होस पुर्याउँछन् । खासगरी चिल्लो, पीरो र चिसो उनी खाँदैनन् । ‘चिल्लो खाएपछि घाँटीको शक्ति नै हराएजस्तो लाग्छ', अनामनगरस्थित बिनायो क्याफेको फ्रेन्ज रुममा गफिँदै उनले भने, ‘चिसो अर्थात् फ्रिजको खानेकुराले पनि मलाई त्यस्तै बनाउँछ ।' धीरजलाई साथ दिएका थिए बिनायो क्याफे एन्ड रेस्टुराँका सञ्चालक एवं गायक श्याम साम्सोङले । उनीहरूको गफको ‘ट्युनिङ' मिलेको थियो । खानासँगै उनीहरू गीतसंगीतका बारेमा पनि गफिए ।
खाना खाइरहने बानी छ धीरजको । उनी भोक सहन सक्दैनन् । कार्यक्रममा जाँदा पनि बिस्कुट चक्लेट केही न केही बोक्ने गर्छन् । एक पटक घरमा खाना अलि ढिलो भयो । बाहिर गएर खान झन् ढिला । पत्नीलाई सोधे, ‘तयार के छ ? ' उनले जवाफ पाए, ‘बिस्कुट र दाल ।' अनि उनले दालमा चोपेर बिस्कुट खाइदिए । पत्नी बेस्कन हाँसिन् । सायद त्यसपछि धीरजका लागि खाना समयमै पाक्न थाल्यो ।
नेपालमा हुँदा उनको खानाको दैनिकी प्रायः उस्तै हुन्छ । ‘बिहान उठ्नासाथ एक लिटर पानी पिउँछु । त्यसको १०, २० मिनेटपछि कालो चिया र बोइल अन्डासँग केही ब्रेड आइटम खान्छु', खानाको दैनिकीबारे उनले भने, ‘आमाबाबा म सबै अफिस जानुपर्ने भएकाले ९ बजे बिहानको खाना खाइसक्छौं ।'
घरमा हुँदा धीरजको खानामा मासु कम तर फलफूलको सलाद अनिवार्य हुन्छ । बिहानको खाना खाएर निस्केपछि दिउँसो १२ देखि १ बजेसम्ममा उनी खाजा खाने गर्छन् । खानामा मम चाउमिन उनको रोजाइमा पर्छ । ममका पारखी धीरजलाई मम खाएर कहिल्यै नअघाए जस्तो लाग्छ । उनीसँग ममका रमाइला स्मरण पनि छ । ‘दुई दशकअघिको कुरा हो । पुतलीसडकस्थित पद्मोदय हाइस्कुल छिर्ने गेटमा एकजना बूढा मान्छे खर्पनमा बोकेर मम बेच्न ल्याउँथे । उनलाई हामी ध्वांसीदाइ भन्थ्यौं', धीरजले स्मरण गरे, ‘दुई रुपैयाँमा एक प्लेट मम दिन्थ्यो । ध्वांसी दाइको बफ मम भनेपछि हामी हुरुक्कै हुन्थ्यौं ।'
दिनमा दुई पटक खाजा खान्छन् धीरज । दिउँसो १२ बजेपछि बेलुकी ४, ५ बजेतिर प्रायः बेकरी आइटम वा मम खाने गर्छन् । बेलुकीको खाना पनि ९ बजेसम्ममा खाइसक्छन् । खानामा प्रायः भेज आइटम, दाल, भात, तरकारी हुने गर्छ । ‘सुत्नुअघि एक कप गाईको दूध पिउँछु । दूधले मलाई यस्तो मात दिन्छ त्यसको आधा घन्टासम्ममा निदाइसक्छु । राति उठेर एकपटक पानी पिउने बानी छ', उनले भने ।
पपगायक धीरजलाई असाध्यै मनपर्ने खानामा चिकेन फ्राई, घिउ र दूध हो । फलफूलमा केरा र स्याउ रुचाउँछन् । थकाली खानाको पनि उनी पारखी हुन् । ‘घिउमा झानेको कालो दाल मलाई औधी मनपर्छ । यो थकाली सेटको आकर्षण पनि हो । थकाली खाना शुद्ध छ कि मि िश्रत म थाहा पाउँछु', उनले भने । सकभर भात नै खान मन पराउँछन उनी । ‘दिनमा एक पटक भात खाएन भने के पुगेन जस्तो लाग्छ', भातको महिमा सुनाए उनले ।
विदेशमा हुँदा प्रायः कोरियन खाना र म्याडोनल (ह्याम्बर्गर, फेन्ज फाई र कोल्र्ड ड्रिंक्सको सेट) खाने गर्छन् । सी फुड संसारमा चलेका परिकार भए पनि उनलाई मन पर्दैन । विदेशमा कहिलेकार्ही अक्टुपस खानुपर्दा मनमात्रै होइन पेटमै काउकुती लागे जस्तो लाग्छ उनलाई । जंक फुड उनी रुचाउँदैनन् । जीवनमा कहिल्यै धूमपान, मद्यपान नगरेका उनलाई च्याउ पनि मन पर्दैन । फिसिङ उनको हबी भए पनि माछाका परिकार खासै खाँदैनन् । ‘सानोमा माछाको काँडा घाँटीमा बिझेकाले माछाको परिकार भनेपछि मलाई साइको भइहाल्छ', उनले कारण खुलाए ।
मासुमा चिकेन उनलाई आलुजस्तै लाग्छ । मटन घर परिवारमै चल्दैन । साग हालेर पकाएको पोर्क र बफका आइटम उनलाई मनपर्छ । ‘मासुमा बफमा जस्तो कडकपन र मिठास अरूमा हुँदैन । खाँदा पनि मजा आउँछ', बिनायो क्याफे एन्ड रेस्टुराँमा बफ चिल्लीको स्वाद लिँदै उनले भने ।
बिनायोभित्र फ्रेन्च क्याफे
अनामनगरमा रहेको बिनायो क्याफे एन्ड रेस्टुरेन्ट त्यस क्षेत्रमा चर्चित छ । खासगरी ग्रिन ममका कारण खानाका पारखीमाझ परिचित बिनायोले पछिल्लो समय ‘फ्रेन्च क्याफे' रुम तयार गरेको छ । यस रेस्टुरेन्टका सञ्चालक एवं गायक श्याम साम्सोङले भने, ‘फ्रेन्च क्याफे ८० को दशकतिर सुपरहिट अंग्रेजी सिरियल हो । उक्त सिरियलमा प्रयोग गरिएको क्याफेको थिममा हामीले नयाँ पुस्तालाई आकर्षित गर्न बिनायो रेस्टुरेन्टभित्र ‘फ्रेन्च क्याफे' रुम सुरु गरेका हौं ।' पपगायक धीरजलाई पनि ‘फ्रेन्च क्याफे'को अवधारणा मनपर्यो । उनले साजसज्जाको प्रशंसा गरे । ‘फ्रेन्च क्याफे'का बारेमा जानकार उनले भने, ‘यो सिरियलबाट आएका धेरै कलाकार हलिउडमा सफल भएका छन् ।'