हिमालयको तेस्रो विमान आइपुग्यो
काठमाडौं: निजी हवाई सेवा प्रदायक कम्पनी हिमालयको तेस्रो एयरबस काठमाडौं आइपुगेको छ। अन्तराष्ट्रिय उडान सुरु गरेको एक वर्षमै एयरलान्सले तीन वटा जहाज ल्याएको हो।
कम्पनीको दोस्रो विमान फागुनमा आएको थियो। एक महिनामै फेरि तेस्रो विमान शुक्रबार ए-३२०-२१४ सिरिजको नयाँ न्यारोबडी विमान पौने ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड गरेको हो।
एयरलाइन्सले एयरबस कम्पनीबाटै सिधै खरिद गरिएको उक्त विमान अजरबैजानबाट ल्याएको हो। हिमालयले विमान ल्याउनको लागि नेपालबाट दर्ता नम्बर पाइसकेको छ।
उसले यो नयाँ विमानको लागि 'नाइन एन-एएलडब्लु' नम्बर पाएको हिमालयले जानकारी दिएको छ। तीब्बत एयरलाइन्सको ४९ प्रतिशत लगानी रहेको हिमालयले २०७३ जेठदेखि दोहा, कतार र अक्टोबर १ २०१६ मा कोलम्बो उडान सुरु गरेको थियो।
त्यस्तै उसले दोस्रो विमान गएको माघमा ल्याएको थियो। यही फ्रेबुअरी १० बाट मलेसिया उडान सुरु गरेको हिमालयले अब भने तेस्रो विमान आएसँगै दमाम लगायतका एशियन मुलुकमा उडान गर्ने तयारी गरेको छ।
हिमालयले अबको एक वर्षभित्र एरबस वाइडबडी विमान ल्याएर जापान, कोरिया, युरोप, अष्ट्रेलिया र अमेरिका प्रत्यक्ष उडान गर्ने योजना पनि बनाएको छ।