अर्थमन्त्री महरा भारत जाँदै
काठमाडौंः उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरा भारत जाँदैछन्। साउथ एशिया सब–रिजनल इकोनोमिक कोअपरेसन (एसएएसईसी)को सोमबार हुने बैठकमा सहभागी हुन उपप्रधानमन्त्री महरा आइतबार भारतको नयाँ दिल्ली जान लागेका हुन्।
बैठकमा एसएएसईसीका सदस्य राष्ट्रहरुबीच दिगो तथा समावेशी विकासको लक्ष्य प्राप्तिका लागि हुने आर्थिक गतिविधिहरुमा क्षेत्रीय सहकार्यका विषयमा छलफल हुनेछ। बैठकमा सदस्य राष्ट्रहरुबीच अन्तरदेशीय सडक सञ्जाल विस्तारका साथै अन्य पूर्वाधार विकासका योजनाहरुमा छलफल हुने कार्यक्रम छ।
बैठकले आर्थिक विकासका व्यापक रुपरेखा तथा दीर्घकालिन रणनीति बनाउने छ। भारतको वित्त मन्त्रालायले आयोजना गर्न लागेको बैठकमा नेपालका अलाबा एसएएसईसीका अन्य सदस्य राष्ट्र बंगलादेश, भुटान, माल्दिभ्स, म्यानमार तथा श्रीलंकाका वित्त मन्त्रीहरु सहभागी हुनेछन्। बैठकमा सहभागी भएर अर्थमन्त्री महरा सोमबारै काठमाडौं फर्किने भारतस्थित नेपाली दूतावासले जनाएको छ।