सडक छेकेर एमाले सभा
पोखरा : लेकसाइडबाट छुटेर साँझ ५ बजे आर्बाको कसेरी पुग्नुपर्ने पोखरा नगर बस समितिको ग १ ख ३७११ नम्बरको गाडी सवा ६ बजेसम्म बीच बाटो पनि पुगेको थिएन । सभागृहचोकबाटै जाममा परेको गाडी महेन्द्रपुल पुग्दा ६ बजेको थियो । जब कि अरू बेला २० मिनेटमै गाडी लेकसाइडबाट महेन्द्रपुल पुग्थ्यो ।
त्यो गाडीभन्दा अघि दिउँसो थुप्रै नगर बस पनि निर्धारित समयमा गन्तव्यमा पुग्न सकेनन् । सधैं गुड्ने रुटमा पनि गुड्न पाएनन् । कारण शुक्रबार पोखराको चल्तीको केन्द्र भाग चिप्लेढुंगामा एमालेले सडक छेकेर सभा आयोजना गरेको थियो ।
दर्जनभन्दा बढी गन्तव्यका गाडीको रुट परिवर्तन गरेर चलाउनुपरेको बस व्यवसायी समितिको क्यु समितिका उपसंयोजक रामकृष्ण भण्डारीले बताए । उनले भने, 'दिनभर भद्रगोल भयो ।' यात्रु पाइने रुटको सट्टा अर्कै बाटोबाट गुड्नुपर्दा कमाइ पनि नभएको उनले सुनाए । 'कमाइ नभएको होइन, घाटै पर्यो', उनले भने ।
सहरको ठ्याक्कै केन्द्रमा पर्ने सडकै छेकेर गरिएको सभाले शुक्रबार बिहान १० बजेदेखि साँझ साढे ६ बजेसम्म पोखराको सडक यातायात सेवा अवरुद्ध भयो । ट्राफिक प्रहरीले बिहानैदेखि गाडीहरूलाई मूल बाटोभन्दा फरकतिर डाइभर्ट गर्दागर्दै पनि जाम खुलाउन असिनपसिन पर्यो । 'हाम्रो त ड्युटी नै हो खटिन्छौं तर जनताले साह्रै दुःख पाए', प्रहरी नायब निरीक्षक शिव थापाले भने ।
पोखरा बस व्यवसायी समितिका भण्डारीले ३ सयभन्दा बढी नगर बसलाई शुक्रबारको सभाले अप्ठेरो पुर्याएको बताए । 'आज मात्रै होइन, सधैं सभा हुँदा भद्रगोल हुन्छ', उनले भने । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक विश्वराज अधिकारीका अनुसार प्रत्येक घन्टा पोखराको चिप्लेढुंगालगायत मुख्य चोकमा झन्डै १० हजार सवारीसाधनको आउजाउ हुन्छ । शुक्रबार दिनभर सभा गरिदिँदा हजारौं हजार सवारीको आउजाउ प्रभावित बन्यो र यातायात भद्रगोल हुन पुग्यो ।
संघीय समाजवादी पार्टीले पनि बिहीबार चिप्लेढुंगामा कार्यक्रम गरेको थियो । त्यतिबेला पनि सडकमै सभा भयो । केही अघि तरुण दलको अधिवेशन उद्घाटनसभा सडक छेकेरै आयोजना भएको थियो । त्यसअघि राप्रपाको एकीकृत सभा सडकमै भयो । दलहरूले धेरै सहभागी जुटाउन नसक्ने तर थोरैजना हुँदा पनि अटेसमटेस र धेरै देखियोस् भनेर साँघुरो चिप्लेढुंगामा सडक छेकेर कार्यक्रम गर्दै आएका छन् । २०४६ पछि कांग्रेस–एमालेले अमरसिंह चौरमा र २०६२÷६३ पछि भने अधिकांश सभा सडक छेकेरै हुँदै आएको छ ।
सधैं सभा हुँदा वाक्क भएका स्थानीय व्यवसायीले सभा नगरिदिन पटकपटक आग्रह गर्दै आएका छन् । शुक्रबार एमाले सभा हुँदा आफ्नो पसल पूरै ढाकिने गरी सहभागीले गुम्स्याइदिएपछि एक व्यवसायीले एक कराई खुर्सानी डढाएर झोक पोखेका थिए । त्यसपछि उनको पसल थुनेर उभिएका एमाले कार्यकर्ता र सभाका सहभागी तितरबितर पनि भए ।
सडक वा अन्यत्र कार्यक्रम गर्दा आफ्नो व्यापारव्यवसायलाई पटकपटक मर्का परेपछि चिप्लेढुंगाका व्यवसायीले समिति नै गठन गरेर त्यसविरुद्ध आवाज उठाउँदै आएका छन् । चिप्लेढुंगा सिद्धार्थचोक व्यवसायी समितिका सचिव मोती भुजेल यस्ता सभासमारोहले व्यवसाय ठप्प पार्ने गरेको बताउँछन् ।
एमाले कास्कीका प्रचार संयोजक तेजनारायण अधिकारीले यसपालि सडकमै सभा भइहाले पनि आगामी दिनमा खुला चौरमा गरिने बताए । शुक्रबारको सभामा एमाले अध्यक्ष केपी ओलीले सम्बोधन गरेका थिए । उनले देश विकास र पोखरा विकासको आश्वासन बाँडेका थिए । उनले कांग्रेसले न्यायालयको आलोचना गरेर शक्ति पृथकीकरण अभ्यासको खिल्ली उडाएको पनि बताए ।
एमालेले शुक्रबार पोखरा चिप्लेढुंगामा सडक छेकेर गरेको सभा । तस्बिर सौजन्य : दुर्गा पौडेल