छोरीले छोएको पानी बाबुले नखाएपछि...

छोरीले छोएको पानी बाबुले नखाएपछि...

मिरकोट(गोरखा) : मिरकोट ५ ढुंगेटारीकी कल्पना न्यौपाने यो चैतमा २८ वर्षमा टेकिन् । सेतो वस्त्र लगाउन थालेको भने आउँदो वैशाखले १३ वर्ष पुग्छ ।१५ वर्षको उमेरमा २०६० को वैशाख महिनामा उनी देउरालीका गणेश पन्तसँग विवाह बन्धनमा बाँधिइन् । विवाह गरेको तेस्रो दिनदेखि रुन थालेका उनका आँखा अहिलेसम्म पनि ओभाएका छैनन् ।

विवाह गरेको तेस्रो दिनमा दुलन फर्काएदेखि गणेशले 'अर्काले टीका लाएर छोडेकी केटी पो रहिछे' भनेर कल्पनालाई घृणा गर्न थाले । सधैं एउटै आरोपले नाजवाफ भएपछि उनी घरमा टिक्न सकिनन् । अन्ततः माइत गइन् । माइती घरमा पनि टिकिखान नपाएपछि उनी न वारि न पारि भइन् ।

'माघको महिना थियो । स्कुलको झोला बिसाउने बित्तिकै हँसिया नाम्लो लिएर घाँस काट्न जाने चलन थियो । खल्तीको मकैभटमास चपाउँदै वनतिर गएँ । घाँसको भारी बोकेर फर्कंदा साँझ परिसकेको थियो', उनी भन्छिन्, 'घरमा नचिनेका मान्छे आएका रहेछन् । आफू सानै थिएँ । टीका लगाउने भने । को हुन्, कहाँका हुन् केही थाहा थिएन । आमाले जे जे भन्नुभो, त्यही त्यही गरें ।' बिहे गर्ने दिन छिनोफानो भइसकेपछि ऊसँग बिहे नहुने भयो भन्ने सुनियो । त्यतिबेला उनी सात कक्षामा पढ्थिन् ।

'मलाई त के थाहा ? बुबाले त्यो दिनदेखि वैकल्य (छिनोफानो भएर बिहे नभएकी केटी) ले छोएको पानी पनि चल्दैन भन्नुभयो । हुँदाहुँदै बुबाले यस्तालाई त घरमा पनि राख्नु हुँदैन भन्न थाल्नु भयो', बिगत सम्झेर उनले रुँदै भनिन्, 'बुबाआमाले जो भेटे पनि यस्ती अलच्छिनी, वैकल्य भन्नु हुन्थ्यो । मलाई चाहिँ अब मैले छोएको पानी कसैले पनि खाँदैनन् । अब के गर्ने होला भनेर एकदम अत्यास लाग्ने, रातभरि निद्रा नलाग्ने, सँधै रुन मात्र मन लाग्ने, आत्महत्या गरुँजस्तो लाग्ने । आफूले केही नगरी म यस्तो अपहेलित भएँ । कहिल्यै नदेखेको मान्छे ल्याएर किन टीका लाइदिए ? किन बिहे गरेनन् ? मेरो पढ्ने कलिलो उमेरमा किन यस्तो भयो, जस्तो लाग्थ्यो । एकदम दुःख लाग्थ्यो । एकदम रुन्थें । स्कुलमा शिक्षकले के भन्लान् ? भनेर स्कुल जान मन पनि लागेन ।' सात कक्षा पढ्दापढ्दै उनले पढ्न छोडिन् ।

यसअघि पनि उनलाई घरमा पढ्ने वातावरण थिएन । बुबा, आमाले सधैं काम मात्र लगाइरहन्थे । 'बुबाले पनि पढ्नै नदिने । बिहानदेखि नै जाँड खाने । किताब पल्टाएर बसेको देख्यो कि चुट्न आउने', कल्पना रुन्छिन्, 'किताब छोएको देख्नै नहुने । दाइ गोठालो पठाइदिने, आमा तैंले घाँस नकाटे भैंसी अघाउँदैन भन्ने । कापीकलम किन्न पैसा माग्यो भने लखेट्ने । साह्रै पापी थिए बुबाआमा ।' बुबाआमा आफंै झगडा गरेर पढ्न नपाएको उनी सुनाउँछिन् । 'बुबा सधैं बिग्रिएका आइमाईको घरमा जाने, रक्सीले मातेर आउने । आमाचाहिँ बुबा आउनेबित्तिकै झगडा गर्ने । घरमा सधैं कुटाकुट, रुवाबासी भएपछि हाम्रो कलिलो मन पढ्नै नमान्दो रहेछ', बाल्यकाल सम्झिँदै उनी भन्छिन्, 'बिग्रिएका आइमाइले गर्दा पनि हाम्रो समाज धेरै बिग्रिएको रहेछ ।'

माघको महिना थियो । स्कुलको झोला बिसाउने बित्तिकै हँसिया नाम्लो लिएर घाँस काट्न जाने चलन थियो । घाँसको भारी बोकेर फर्कंदा साँझ परिसकेको थियो । घरमा नचिनेका मान्छे आएका रहेछन् । टीका लगाउने भने । बिहे गर्ने दिन छिनोफानो भइसकेपछि ऊसँग बिहे नहुने भयो भन्ने सुनियो । -कल्पना न्यौपाने

थाहा नपाएजस्तो गरे पनि गणेशले दाइजोको लोभले अरूले टीका लगाएकी कल्पनासँग बिहे गरेका रहेछन् । 'थाहा पाउँदापाउँदै पनि धेरै सम्पत्ति पाइन्छ भनेर मसँग बिहे गरेका रहेछन् । तर हाम्रो माइतमा के थियो र दिनलाई', उनी भन्छिन्, 'त्यही भएर तेस्रो दिनदेखि नै बस्नखान दिएनन् । टन्नै सम्पत्ति दिन्छु, विदेश लगिदिन्छु भनेर मलाई झुक्याएर अर्काले टीका लाएर छोडेकी केटी भिराइदिए भनेर हेलाँ गरे ।
त्यो सहनसभन्दा त म झुन्डेर मर्छु, त्यहाँ त मरे नि बस्दिनजस्तो मात्रै लाग्यो । माइत आएर बाबुआमालाई भनें, 'म त्यहाँ त मरे पनि जान्न । किन एक ठाउँमा टीका लगाएर अर्को ठाउँमा दिएको ? मरे पनि जान्न, प्राणै छाडिदिन्छु त्यो घरमा जाँदैजान्न भनेर रुन्थें ।' बिहे गर्ने उमेर नहुँदै न आफूले रोजेको केटा, न टीका लगाएको केटा, झुक्याएर बिहे गरेको त्यो पीडा सम्झँदा अहिले पनि उनको आँखा साउन बन्ने गर्छ ।

पीडाले माइत आएकी कल्पनाले जन्म दिने बुबाआमासँग समस्या राख्नै पाइनन् । 'किन एक ठाउँमा टीका लगाएर अर्को ठाउँमा झुक्याएर दियौं ? अर्काले टीका लाएर छोडेकी केटी भनेर मलाई सधैं श्रीमान्ले हेलाँ गर्छ भनेर बाबुलाई सुनायो कि खुर्पा लिएर काट्न आउँथे ।' आफ्नो दुःख र समस्यामा एक शब्द पनि बोल्न नपाएपछि उनी माइतीघर छाडेर कुन्दुरटारमा डेरा गरेर बस्ने भाउजूको शरणमा गइन् । भाउजूकोमा तीन वर्ष बसिन् । त्यहाँ बस्दा उनले तेह्रकिलो र आँबुखैरेनीमा ६ महिने सिलाइकटाइ तालिम लिइन् । 'बिहे गर्दा लाएको गहना बेचेर सिलाइ तालिम लिएँ', उनी भन्छिन्, 'त्यसपछि बल्ल आफ्नो पसिनाको कमाइ खान पाएँ ।'

अहिले उनी माइतीघरको जग्गामा सानो टहरो बनाएर बसेकी छन् । त्यहाँबाट पनि हट्न बारम्बार चेतावनी आइरहेको उनी बताउँछिन् । उनको माइतीको विभिन्न ठाउँमा गरेर ३० रोपनी जग्गा छ तर एकजना अट्ने सानो घर बनाउन जग्गा पनि नदिएको उनी बताउँछिन् । 'एउटा सानो घर बनाउने जग्गा दिनू, म त्यहीँ सिलाइबुनाइ गरेर पेट पाल्छु भन्दा पनि पाएको छैन । यहाँ पनि छोड्छोड् भनिरहन्छन्', उनी भन्छिन्, 'यो झुप्रो भएको जग्गाको लालपूर्जा पाए भूकम्पको पैसाले घर बनाउन पाउथें होला । जन्म दिने बाबुआमाको त्यत्रो जग्गा छ । अलिकति मात्रै पाए पनि कसैलाई दुःख दिन्नथें । हातमा सिप थियो । लालपुर्जा नहुँदा बिजुलीको मिटरबक्स जोड्न पाएको छैन । बिजुली जोड्न रातभरि काम गर्न, कल चलाउन सजिलो हुन्थ्यो । तर, जन्मदिने बाबुआमासँग एक शब्द बोल्यो कि खुर्पा लिएर आउँछन् । लखेट्छन् ।' भाउजूले मात्र माया ममता, सहयोग गरेको गुन उनी सम्झन्छिन् ।

उनले गत फागुन २६ गते पतिसँग विधिवत सम्बन्ध विच्छेद गरिन् । सम्बन्ध विच्छेद गरेबापत पतिसँग केही पनि दाबी नगरेको उनी बताउँछिन् । 'कि घरतिर कि माइततिर मात्र दाबी गर्न पाइन्छ, दुईतिर पाइँदैन भन्ने सुनेको थिएँ । त्यही भएर मैले त्यो नबसेको घरमा के दाबी गर्ने भनेर माइततिर दाबी गरेको ।'उनी अहिले जन्मदिने बुबाआमाको माया ममता पर्खिरहेकी छन् ।

उनका छिमेकी कृष्ण न्यौपानेका अनुसार बिहे हुनासाथ घर छाडेर बसेकी उनलाई माइती पक्षले सहारा दिएनन् । सानै उमेरदेखि मेला पर्म गरेर हातमुख जोरेकी उनलाई गरिखाने धेरथोर जग्गाजमिनको चाँजोपाँजो मिलाउनुपर्ने उनी बताउँछन् । 'उनका बुबा, आमा, दाइ सबै त्यस्तै खालका छन् । कल्पनाको पक्षबाट जो बोल्यो, उनका बुबाआमाले नराम्रो सोचिहाल्छन्', न्यौपाने भन्छन्, 'नबुझ्ने समाजमा गाह्रो हुने रहेछ । त्यसैले समाजले बोल्न नसकेको हो । बास्तबमा कल्पनाको सानैदेखि बिचल्ली नै छ । उनले कसैको साथ र सहयोग पाएकी छैनन् ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.