भान्सा छोएको भन्दै दलित बालकमाथि निर्मम कुटपिट

भान्सा छोएको भन्दै दलित बालकमाथि निर्मम कुटपिट

सुर्खेत : वार्षिक परीक्षा सकिएकाले विद्यालय विदा थियो । विदाको समयमा उनीहरू घरनजिकै खेल्दै थिए । त्यतिकैमा चक्र शाहीले दौंतरी भीमबहादुर विकलाई आफ्नो घरभित्र टर्च (लाइट) लिन पठाए । साथीको आग्रहलाई नकार्न नसकेपछि भीमबहादुरले घरभित्र छिरेर टर्च ल्याए । त्यसको परिणाम गैरदलितको घरभित्र पसेर भान्सा छोएको आरोपमा उनले बुधबार निर्घात कुटाइ खानुपर्यो ।

पश्चिम सुर्खेतको कुनाथरीस्थित गबेना गाउँका यी दुई बालकबीच कुनै जातीय भेदभाव थिएन । दलित र गैरदलित परिवारमा जन्मिए पनि उनीहरूबीच घनिष्ट मित्रता थियो । भान्सा छुँदा साथीले कुटाइ खानुपर्ला भन्ने सोचेको भए सायद चक्रले आफ्नो घरभित्र पस्न बल गर्ने थिएनन् । तर दलितले भान्सा छोएको भन्दै चक्रका अभिभावकले ९ वर्षीय भीमबहादुर विकलाई निर्घात कुटपिट गरे । कुटपिटबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि वीरेन्द्रनगर ल्याइएको छ । भीमबहादुर विकको शरीरभरि नीलडाम छन् । छिमेकीको कुटाइपछि घाइते भएका उनी हिँडडुल गर्न सक्दैनन् ।

स्थानीय वरडाँडा विद्यालयमा कक्षा ३ मा अध्ययरत भीमबहादुरले साथीको घरभित्र पस्दा कुटाइ खानुपर्ला भन्ने कल्पना नै गरेका थिएनन् । तर स्थानीय बाटु शाही र उनका छोरा भरतले भान्सामा दलितले छोएको भन्दै आफूमाथि कुटपिट गरेको भीमबहादुरले बताए । शरीरको घाउ देखाउँदै उनले भने, 'मलाई चक्रले घरभित्र पठायो, बाहिर आउँदा किन भान्सामा छोएको ? भन्दै उसका आफन्तले कुटे ।

मलाई खोलामा लगेर कुटपिट गरे, बेहोस भएपछि घरमा ल्याएर फालेछन् ।' जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन आएकी जैसरा विकले परिवार नै मिलेर आफ्नो छोरामाथि कुटपिट गरिएको बताइन् । उनले भनिन्, 'म गोठालो गएकी थिएँ, दिउँसो घरमा आउँदा छोरो थिएन । खोज्दै जाँदा बेहोस अवस्थामा फेला पारेँ, कुटपिट गरेर बेहोस भएपछि उनीहरूले आफ्नै घरभित्र लुकाएछन् ।'

दलितले भान्सा छोएको भन्दै निर्मम ढंगले छोरामाथि कुटपिट गरिएको उनको भनाइ छ । 'आजसम्म मिलेर बसेका थियौं, आफ्नै छिमेकीले यस्तो गर्लान् भन्ने सोचेकी पनि थिइनँ', उनले थपिन्, 'दलित भएकै कारण हामीले कति पीडा सहने ? अब दोषीलाई कानुनी कारबाही हुनुपर्छ । गाउँमै मिलाउन खोजेका थिए, म न्याय माग्दै सदरमुकाम आएकी हुँ ।' पीडित बालकका मामा जगदीश विकले जातकै आधारमा आफुहरुमाथि विभेद गरिएको बताए ।

आरोपित बाटुले भने आफूले नभई आफ्नो छोराले मात्र कुटेको दाबी गरेकी छन् । उनले भनिन्, 'दलित हाम्रो घरभित्र पस्दा छोरालाई देउता आयो, शरीरमा देउता चढेपछि छोरोले नै यसलाई कुटेको हो । म घरदेखि केही टाडा थिएँ, मैले उसलाई छोएको छैन ।' घरभित्र पसेर भान्सामा छोएपछि छोरोले कुटेको उनले स्वीकार गरिन् । घटनाबारे ढिला मात्र जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घटनाबारे छानबीन सुरु गरिएको भन्दै प्रहरीले जातीय भेदभाव र छुवाछुत गर्नेलाई कानुनी कारबाही गर्ने प्रतिबद्धता जनाएको छ । दोषीलाई तत्काल नियन्त्रणमा लिएर कारबाही थालिने प्रहरीको भनाइ छ । जातीय भेदभाव र छुवाछुत गर्नेलाई २५ हजारसम्म नगद जरिवाना तथा एक वर्षदेखि तीन वर्षसम्म कैद वा दुबै सजाय हुने कानुनी व्यवस्था छ ।




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.