जसले राष्ट्रपति बन्न अस्वीकार गरे
सन् १९२१ मा नोबेल पुरस्कार कमिटीले भौतिक विज्ञानको पुरस्कार कसलाई दिने भन्ने निष्कर्षमा पुग्न सकेन । त्यही दुविधाले घोषणालाई एक वर्षका लागि स्थगन गर्यो । अर्को वर्ष १९२२ मा दुई वर्षकै पुरस्कार पाउने वैज्ञानिकद्वयको नाम घोषणा भयो । ‘करेन्टइअर'का लागि नोबेलले सम्मानित हुनुभयो निल्स हेनरिक डेबिडबोर । उहाँलाई यो पुरस्कार भौतिकी क्षेत्रमा ‘एटमिक स्ट्रक्चर' एवं ‘क्वान्टमथ्यौरी 'का लागि प्रदान गरिएको थियो ।
अघिल्लो वर्षको नोबेल विजेताको रूपमा नाम घोषणा भयो युगकै महान् वैज्ञानिक अल्बर्ट आइन्सटाइनको । विडम्बना उनलाई यो पुरस्कार भौतिक विज्ञानकै रूप परिवर्तित गरिदिने ‘सापेक्षता सिद्धान्त' का लागि नभई ‘फोटो इलेक्ट्रिकल प्रभाव'को समाधानका लागि प्रदान गरियो ।
नोबेल पुरस्कार समितिले बकाइदा आइन्सटाइनलाई जानकारी दियो, ‘उनलाई पुरस्कार ‘सापेक्षता सिद्धान्त'का लागि नभएर ‘फोटो इलेक्ट्रिकल प्रभाव'को समाधानार्थ प्रदान गरिएको हो ।' साथै उनलाई भनियो पुरस्कार समारोहमा उपस्थित हुँदा उनले ‘सापेक्षता सिद्धान्त'माथि कुनै चर्चासम्म नगरुन् । नोबेल समितिले यस सिद्धान्तलाई फगत अनुमान केन्द्रित ( स्पेकुलेटिभ) ठान्दछ ।
आफ्नो जुन खोजले भौतिक विज्ञानको पुरानो मान्यतालाई छाडेर नयाँ युगमा प्रवेश गराउन गइरहेको थियो त्यसको सट्टा अर्को सिद्धान्तका लागि पुरस्कार दिने प्रबन्ध भएको थियो । के गर्न सक्थ्यो एउटा वैज्ञानिकले ? समितिलाई धन्यवाद भनी आइन्सटाइनले पुरस्कार समारोहमा आफू उपस्थित नहुने बाटो रोजे । के तपाईंलाई लाग्दैन ‘रायल स्विडिस एकेडेमी'ले विज्ञानको एउटा सबैभन्दा ठूलो एवम् महत्ववपूर्ण खोजलाई तिरस्कृत गरेर ठूलो गल्ती गर्यो ?
पछि स्विडेनका तत्कालीन राजा ओस्कार गुस्ताफएडोल्फले आइन्सटाइनको सम्मानमा एउटा विशेष भोजको आयोजना गरे । राजाले उहाँसँग भोजमा ‘सापेक्षता सिद्धान्त'को व्याख्या गर्न अनुरोध गरे । जुन उनले खुसीसाथ स्वीकारे । १४ मार्च १८७९ मा जर्मनीमा जन्मिएका यी वैज्ञानिकको जीवन नै विज्ञानलाई समर्पित थियो । यिनीसँग ल्याब, उपकरण आदि केही हँदैनथ्यो । यिनको मस्तिष्क नै विराट प्रयोगशाला थियो । यहाँ चिन्तन मनन् भएका सिद्धान्त कागजमा लिपिबद्ध हुन्थे ।
यिनका कैयन सिद्धान्त त १८ अप्रैल १९५५ मा यिनको निधन भएपश्चात् प्रमाणित हुन पुगे । गति बढाउँदा समय ढिला हुन्छ भन्ने सिद्धान्त प्रमाणित हुन १९७० को दशकसम्म पर्खिनु पर्यो । अहिले त हामीले थाहा पाइसक्यौं समुद्री सतहभन्दा जति माथि उठ्दै गयो समयको गतिमा परिवर्तन हुँदै जान्छ । आइन्सटाइनलाई जनरल रिलेटिभिटी, स्पेसल रिलेटिभिटी, फोटो इलेक्ट्रिकल इफेक्ट, ई एमसी टु थ्यौरी अफ ब्रोनियनमोसन, आइन्सटाइन फिल्डइक्वेसन, वोस-आइन्सटाइन स्टेटिक्स, वोस-आइन्सटाइन कन्डेन्सेन्ट, ग्रेभिटेसनल वेभ, कास्मोलोजिकल कान्सटेन्ट, युनिफाइड फिल्डथ्यौरी, ईपीआर पैराडक्स थ्यौरीजस्ता अनेकौं सिद्धान्तको प्रतिपादकको रूपमा विज्ञानका विद्यार्थीले चिन्ने गर्छन । अनेकौं पुरस्कार र सम्मान पाएका यी वैज्ञानिकलाई १९९९ मा आएर ‘टाइम परसन अफ सेन्चुरी' सम्मानबाट उच्च आदर प्रदान गरियो ।
आधुनिक भौतिकीमा सायद नै यस्तो कुनै विषय छ, जसमाथि आइन्सटाइनको योगदान नहोस् ।
सुरुआती दौरमा आइन्सटाइनले महसुस गरे, ‘इलेक्ट्रोमैग्नेटिक फिल्ड'को सिद्धान्तअनुसार न्युटनको मैकेनिक्स व्यापक हुन सक्दैन । उनले ‘स्पेसल थ्यौरी अफ रिलेटिभिटी' प्रस्तुत गरे । यो थ्यौरी ‘ग्रेभिटेसलन फिल्ड'सम्मलाई समेट्ने हुनुपर्छ भन्ने महसुस गरी उनले १९१६ मा ‘जनरल थ्यौरी अफ रिलेटिभिटी' प्रकाशित गरे । स्टेटिकल मैकानिक्स र क्वान्टम थ्यौरी मा उनले लगातार शोध गरी रहे । परिणामस्वरूप ‘पार्टिकल थ्यौरी', ‘मोसन अफ मालिक्युलस', प्रतिपादित भए र प्रकाशको ‘थर्मल प्रपर्टी', को उनको खोजले ‘फोटान थ्यौरी' को जग बनाउने काम गर्यो ।
धेरै कम मानिसलाई थाहा होला इजरायलका प्रधानमन्त्री डेविड बेनले यिनलाई इजरायलको राष्ट्रपति बनिदिने अनुरोध गरेका थिए । तर यिनले स्वीकार गरेनन् । आइन्सटाइनका समकालीन अर्का वैज्ञानिक म्याक्सप्लांक (जसलाई ‘क्वान्टम थ्यौरी' को जनक मानिन्छ) ले भनेको थिए, ‘आधुनिक भौतिकीमा सायद नै यस्तो कुनै विषय छ, जसमाथि आइन्सटाइनको योगदान नहोस् । प्रत्येक सैद्धान्तिक भौतिकविद् आइन्सटाइनको कुनै न कुनै खोज माथि निर्भर गर्छ ।' अर्का भौतिकशास्त्री रिचर्ड फेन्मन आइन्सटाइनलाई सम्झिँदै भन्छन्, ‘उनी असाधारण अत्यन्त ठूला थिए, उनको मस्तिष्क आकाशमा थियो भने खुट्टा पृथ्वीमा ।'अहिले कल्पनामै रहेको ‘वार्महोल' कुनै बेला विज्ञानले पत्ता लगायो भने त्यसको श्रेय पनि यिनै महान् वैज्ञानिकलाई जानेछ । उनीमाथि लेखिएका थुप्रै किताबमध्ये रोवर्ट फिक्कीओनीको पुस्तक ‘आइन्सटाइन फर एभरिवन' श्रेष्ठ पुस्तक हो । उनलाई बुझ्न सायद यो शताब्दीमा पनि सम्भव हुन्न । (सन्दर्भ ग्रन्थ -‘आइन्सटाइन फर एभरिवन', विकिपिडिया, कुओरालगायत)