सन्तोष-लीला

 सन्तोष-लीला

साहित्यिक पत्रकार संघले नेपालका मूर्धन्य कथाकार गुरुप्रसाद मैनालीको नामबाट ‘मैनाली कथा पुरस्कार’ स्थापना गरेको छ। मैनालीको जन्मजयन्तीका अवसरमा हरेक वर्ष चैत १९ गते ‘कथा दिवस’समेत मनाउने गरिएको छ। सोही दिवसको अवसर पारेर नेपाली साहित्यमा स्थापित कथाकारलाई यो पुरस्कार प्रदान गरिन्छ।

२०३८ सालमा स्थापित यो पुरस्कारको सबैभन्दा रोचक र अविस्मरणीय क्षण भने ०५० सालमा अनुभव गरियो। त्यतिखेर यो पंक्तिकार संघको सचिव भएकाले पनि तत्कालीन घटनाक्रम नजिकबाट नियाल्ने र कतिपय अवस्थामा आफैं कर्ता बनेर भूमिका निर्वाह गर्ने मौका मिलेको थियो।

त्यस वर्षको पुरस्कार कसलाई दिने भन्नेबारे कार्यसमितिमा व्यापक छलफल भयो। नामहरू धेरै प्रस्तावित थिए। विभिन्न व्यक्तिबारे चर्चा हुने क्रममा कथाकार सन्तोष भट्टराईको नाम आयो। उनको कृतित्वबारे कसैले टिप्पणी गर्न नसके पनि स्वभाव विवादित थियो।

उनलाई अराजक भनिन्थ्यो। बिहानैदेखि मदिरापानले लठ्ठिनु उनको दैनिकी थियो। जथाभावी बोल्ने, मन नपरेकालाई गाली गरिहाल्ने, झम्टिनेसम्मका उनका हर्कतबारे कम्तीमा काठमाडौंको लेखकीय जमात भलीभाँती जानकार थियो।

यो पुरस्कार भने व्यक्तिको आचरण र व्यवहारको मूल्यांकनस्वरूप दिन लागिएको थिएन, उनको कथाकारितालाई थियो। निजी व्यवहारका कुरा गौण हुन्, उनको सिर्जना र योगदानलाई दिने हो भन्ने निष्कर्षमा संघ पुग्यो। र, उनको नाम चयन गरियो। त्यसैबीच अध्यक्ष विश्वविमोहन श्रेष्ठले पंक्तिकारलाई भने, ‘त्यसो भए तपाईंले नै पुरस्कार लिन्छ लिँदैन, पक्का गर्नुपर्छ। उसको सहमति लिएर, पुरस्कार प्रदान गर्ने कार्यक्रममा उपस्थिति गराउनेसम्मको जिम्मा लिनुपर्छ।'

लौ, पर्‍यो फसाद। त्यस्तो अराजक व्यक्तिलाई पुरस्कारको प्रस्ताव राख्ने र पूर्वस्वीकृतिको पत्रमा हस्ताक्षर गराउने जिम्मा आफैंमाथि आइलाग्यो। साझा प्रकाशनबाट प्रकाशित उनको कथासंग्रह ‘खुल्ला आकाशको कैदी’ वरिष्ठ समालोचक डा. मोहन हिमांशु थापाकहाँ पनि पुर्याउनुपर्ने भयो। भट्टराईलाई पुरस्कार दिनुपर्ने पक्षमा उभिएका कारण पनि यो कार्य मेरो लागि प्रतिष्ठाको विषय बनेको थियो।

निर्णयपुस्तिकामा हस्ताक्षर गरेर सोझै त्यही दिन म सन्तोषलाई भेट्न उनको कार्यस्थल गोरखापत्र संस्थान गएँ। भेट भएन। भोलिपल्ट भेट्न जाँदा उनको व्यवहार सोचेभन्दा निकै भिन्न थियो। कहाँको त्यो अराजक सन्तोष, कहाँको यो सादगीपूर्ण सन्तोष। डेढदुई महिनादेखि मद्यपान गर्न छोडेका रहेछन्।

मैले निकै अप्ठेरो मानीमानी पुरस्कार दिने निर्णय सुनाएँ। जस्तोसुकै प्रतिक्रियाका लागि थिएँ म। तर, उनले त खुसी र आश्चर्य एकसाथ व्यक्त गर्दै तत्काल चियाको अर्डर पो गरे। त्यसपछि मैले पनि निकै राहतको सास फेरेँ। सहजै पुरस्कार ग्रहण गर्ने पत्रमा हस्ताक्षर गराएँ। निकै आनन्दको अनुभूति भयो, एउटा कथाशिल्पीले सो पुरस्कार लिन मानेकामा।

हरेक साँझ हामी कवि लेखकहरूको जमघट हुने स्थल थियो, पीपलबोटको चियाकुनो। त्यहाँ भेटिएका साहित्यिक मित्रहरूलाई यो कुरा सुनाउँदा पनि सबैले खुसी व्यक्त गरे।पुरस्कार वितरण हुने दिन अर्थात् चैत १९ गते। बिहान १०:३० बजेतिर कवि तथा समालोचक मित्र पुरुषोतम सुवेदीको फोन आयो। उनको स्वर हडबडाहटपूर्ण थियो, ‘ए नरेन्द्रजी, मेरो पिउनले भनेको, माइतीघरमा नेपाल मुद्रण विभागछेउ सन्तोष भट्टराई लम्पसार परिरहेको छ।' यसपछि हडबडाउने पालो मेरो थियो। योभन्दा बढी म केही सुन्न नसक्ने भएँ। एकछिन त होशहवाश नै गुम भयो। 


मैले नै एक बाल्टी पानी जीउभरि खन्याइदिएँ। र, साबुनपानीले पखालपुखुल गरियो। कोठाभित्र लगेर पुछपाछ गरी भिजेको लुगा खोलिदियौं। कतिसम्म भने उनको अन्डरवेयरसमेत फेर्ने जिम्मेवारी हाम्रै काँधमा आइलाग्यो। 


'म तुरुन्तै आइपुग्छु। कृपया, ऊ कतै नजाओस्। निगरानीमा राखिदिनुहोला', यत्ति भनेर फोन राखेँ र लुगा लगाएर हिँडिहालेँ। के गरूँ, कसो गरूँ भन्दाभन्दै म विमल निभाको बागबजारस्थित पुस्तक पसल ‘साहित्यघर’मा पसेँ। त्यहाँ नारायण ढकाल पनि रहेछन्। एकै सासमा कुरा राखेँ र तत्काल विमलजी र नारायणजीलाई लिएर मुद्रण विभागअघि पुगेँ। त्यहाँ पुरुषोत्तमजी पनि पुगिसकेका रहेछन्।

सन्तोषको होशहवाश थिएन। बल्लतल्ल झ्याइँकुटी गर्दै मेरो मारुती भ्यानमा उनलाई राख्यौं। उनको घर बानेश्वर हाइट, भीमसेनगोलामा रहेछ। जब बानेश्वरतर्फ अघि बढ्न खोज्यौं, त्यहाँ अर्को तगारो आइलाग्यो। प्रहरीले रोक्यो। कारण, नेपाली कांग्रेसको आन्तरिक किचलो सडकभरि पोखिँदै रहेछ। कांग्रेस कार्यालय पनि बानेश्वरमै थियो त्यति खेर। तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइराला पक्षधर र उनको तस्बिरमा जुत्ताको माला लगाउने प्रकाशमान सिंहका कार्यकर्ताबीच झडप भइरहेको थियो।

घुम्दैघुम्दै बल्लतल्ल भीमसेनगोला पुगियो। बाटोभरि सन्तोष बडबडाई मात्र रहे। नेपाल प्रज्ञाप्रतिष्ठानमा २ः०० बजे पुरस्कार वितरणको कार्यक्रम राखिएको थियो। त्यहाँ पुग्दा नै सवा १ जति बजिसकेको थियो। भित्रभित्रै मेरो रिसको पारो नराम्ररी चढ्दै थियो। के गर्नु, के नगर्नु भइरहेको थियो। गाडीबाट उतारेर चापाकलनिर लगियो। मैले नै एक बाल्टी पानी जीउभरि खन्याइदिएँ। र, साबुन पानीले पखालपुखुल गरियो। कोठाभित्र लगेर पुछपाछ गरी भिजेको लुगा खोलिदियौं। कतिसम्म भने उनको अन्डरवेयरसमेत फेर्ने जिम्मेवारी हाम्रै काँधमा आइलाग्यो।

उनकी श्रीमतीलाई पनि गाडीमा राखी नारायण ढकाल, पुरुषोत्तम सुवेदी र विमल निभासहित प्रज्ञाप्रतिष्ठानमा पुग्दा २ः३० बजिसकेको थियो। कार्यक्रमस्थलमा निम्तालु सबै आइसकेका थिए। आयोजक संस्था संघका साथीहरूले के कसो भएको हो, जवाफ फर्काउनै नसक्ने अवस्थामा पुगिसकेका रहेछन्। न पुरस्कृत व्यक्ति देखा पर्छ, न त ल्याउने जिम्मा लिने मान्छे नै। त्यस बेला अहिलेको जस्तो मोबाइल फोन थिएन। बडो अन्योलका बीच हामी त्यहाँ पुग्दा वातावरण नै अर्कै भयो।

हामी पुग्नेबित्तिकै कार्यक्रम अघि बढ्यो। सन्तोष भट्टराईसँगै श्रीमतीलाई पनि मञ्चमा आसीन गराइयो। सन्तोषले त्यहाँ पनि रमाइलो गरे। मञ्चबाटै कथाकार मैनालीको तस्बिरनिर राखेको स्याउ र केरा टपक्क टिपेर खान थाले। त्यहाँ हाँसोको फोहरा त छुट्ने नै भयो। प्रमुख अतिथिले सन्तोषलाई फूलमाला र उनकी श्रीमतीको हातमा पुरस्कार राशि भएको खाम थमाए, जुन हामीले नै मिलाएको प्रपञ्च थियो।

प्रमुख अतिथिको भाषण हुँदै थियो। सन्तोषले मञ्चमै श्रीमतीसँग पुरस्कारको खाम मागे। सबैको सामु खामबाट रुपियाँ निकालेर गन्न पो थाले। दर्शकदीर्घामा फेरि हाँसोको फोहोरा छुट्यो।आज आएर सोच्छु, यो सबै प्रकरणमा साथ र सहयोग गर्ने मित्रहरू पुरुषोत्तम सुवेदी, नारायण ढकाल र विमल निभा नभएका भए त्यो दिन मेरो हालत के हुन्थ्यो होला ? अझ अहिलेसम्म बुझ्न नसकिएको कुरा के भने डेढदुई महिनादेखि मद्यपान छोडेर बसेको मान्छे होशहवाश नै गुम्ने अवस्थामा त्यसरी सडकमा भेटिनुको पछाडि के रहस्य थियो ?

कतै त्यो पुरस्कार वितरण समारोहलाई प्रभावित गर्न खोज्ने कुनै महोदयले यो पृष्ठभूमि पो तयार गरेका थिए कि ? जे होस्— भाउपन्थी, मनु ब्राजाकी, मोहनराज शर्मा, माया ठकुरी, कुमार ज्ञवाली, विश्वम्भर चञ्चल, जगदीश घिमिरे, प्रेमा शाह, खगेन्द्र संग्रौला, पद्मावती सिंह, भागिरथी श्रेष्ठ, सनत रेग्मीजस्ता पुरस्कृत कथाकारको लहरमा सन्तोषको नाम पनि थपियो। त्यसपछि क्रमशः मुरारी अधिकारी (ख), नारायण ढकाल, माधव भण्डारी, गोविन्द गिरी प्रेरणा, गोपाल पराजुली, महेशविक्रम शाह, किशोर पहाडी, इस्माली, अविनाश श्रेष्ठ र नयनराज पाण्डे यो पुरस्कारका हकदार भए।

यसैगरी मदनमणि दीक्षित, गोविन्दबहादुर मल्ल 'गोठाले', ध्रुवचन्द्र गौतम, परशु प्रधान, डा. दयाराम श्रेष्ठ ‘सम्भव', हरिहर खनाल, मधुवन पौडेल र वनमाली निराकार मैनाली कथा सम्मानबाट विभूषित भएका छन्।

जे होस्, सन्तोषलाई पुरस्कार दिने प्रस्ताव गर्दा जेजस्ता प्रतिक्रिया र आशंकाहरू प्रकट भए पनि आज आएर प्रतिष्ठित लेखक­'साहित्यकारले त्यसप्रति खुसी जनाउन र स्वामित्व दाबी गर्न थालेका छन्। (हेर्नुहोस्, ‘सन्तोष भट्टराई ः जो सडकबाटै हरायो’, श्यामल, २८ फागुन ०७३, अन्नपूर्ण पोस्ट्) यसले झनै खुसी र आनन्दको अनुभूति हुन्छ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.