कथाशिरोमणि गुरुप्रसाद र कथा दिवस

कथाशिरोमणि गुरुप्रसाद र कथा दिवस

'आज देवीरमणको गति त्यस बालक छात्रको जस्तो थियो, जो पहिलो दिनको पाठ बिर्सेर अबेला गुरुकहाँ पुग्दछ' कथाकार गुरुप्रसाद मैनालीका यी सुन्दर अभिव्यक्ति आजभन्दा ८२ वर्षपहिले नासो कथाको माध्यमद्वारा नेपाली समाज र साहित्यका पाठकसामु सार्वजनिक भएका हुन् । ऐतिहासिक साहित्यिक पत्रिका 'शारदा'मा संवत् १९९२ सालमा 'नासो' शीर्षकको कथा प्रकाशित भएपछि मैनालीको औपचारिक साहित्ययात्रा प्रारम्भ भएको हो । उनले जीवनमा थोरै मात्र कथाहरू लेखे तर ती सबैले उत्कृष्टताको मापदण्ड कायम गरे । उनका सबै कथा-सिर्जनाहरूले उच्चताको शिखर चुमेका छन् ।

Image may contain: 1 person, closeupकुनै पनि विषयवस्तुमा कथा सिर्जना गर्नुपूर्व कथानक घटनाको कल्पना अनिवार्य सर्त हो भनेजस्तै कथानक घटना निर्माण गर्दा आदर्शवादलाई नास हुन दिनुहुन्न भन्ने मान्यता उनका कथामा छ । त्यसैले साहित्यको मूल उद्देश्य सुधार हो र त्यसो हुनाले विकासशील वा प्रगतिशील युगमा कथामा आदर्शवाद हरायो भने त्यसलाई निरर्थक सम्झनु पर्दछ । रोचकहीन कोरा आदर्श पक्षलाई आजका बौद्धिक पाठक वर्गले सहज रूपमा मन पराउँदैनन् भन्ने तथ्यलाई पनि कथाकार मैनालीले राम्रैसँग बुझेको पाइन्छ । नेपाली ग्रामीण परिवेशका वेदनात्मक पक्षका चित्रणमा मैनालीका अधिकांश कथाहरू शोक, विरह, छट्पटी र पीडाको प्रतीकका रूपमा उभिएका छन् ।

मानवीय जीवनका यावत् पक्षका साथै कुनै एउटा नायक पात्रको जीवनको संकटमय घटनालाई कलापूर्ण तरिकाले लेख्नु यथार्थमा कथा सिर्जना हो भन्ने तत्वबोधलाई औधी राम्रोसँग बुझेका कथाकार मैनालीको जन्म संवत् १९५७ साल भदौमा काभ्रे जिल्लाको कानपुर गाउँमा भएको थियो । तर मैनालीको जन्मथलोको बारेमा पनि विवाद छ । कतिले उनको जन्म धादिङ भनेका छन् भने केहीले धनकुटासम्म पुर्याएका पनि छन् । तर कानपुर नै उनको आधिकारिक जन्मथलो हो ।

कानपुरबाट बसाइँ सर्ने क्रममा मैनालीले नुवाकोटको कविलास भन्ने गाउँमा पनि स्थायी बसोबास गरेका थिए । निजामती सेवाका क्रममा अनेकौं अड्डाहरूमा बिताएका गुरुप्रसादले अवकाश प्राप्तपछिको बुढ्र्यौली जीवन भने चितवन जिल्लाथित खैरहनीको मझुई गाउँमा बिताएका थिए । उनको निधन २०२८ साल जेठ ५ गते काठमाडौंमा भएको हो । पहिलोपटक शारदामा नासो कथा प्रकाशित भएपछि १९९५ सालसम्म मैनालीका कथाहरू फाटफुटरूपमा शारदामै प्रकाशित भएका थिए । नेपाली साहित्यमा शारदाको प्रकाशन साहित्यिक भाषाको उन्नति र गद्य विद्याको विकासमा महत्वपूर्ण उपलब्धि पनि हो । १९९१ सालमा शारदाको प्रकाशन प्रारम्भ भएको हो ।

लेखनीमा सुक्तिमयता, यथार्थमूलक, आदर्शको प्रतिपादन, सरलता, सरसता र रोचकता गुरुप्रसाद मैनालीका कथाका मुख्य वैशिष्ट्य हुन् ।

नेपाली साहित्यका कथाशिल्पी गुरुप्रसाद मैनाली आधुनिक कथा क्षेत्रका अगुवा र लोकप्रिय कथाकार हुन्, जुन समय आधुनिक कथालेखन कलाको अभावको समस्या थियो, त्यतिबेला जो जसले जहाँबाट कलम चलाए ती कलमका डोबहरू उत्कृष्ट नै रहे । आधुनिक नेपाली कथा साहित्यका अत्यन्तै लोकप्रिय र जनप्रिय अग्रणी कथाकार मैनालीका समकालीन कथाकारहरूमा क्रमशः पुष्करशमशेर जबरा, बालकृष्ण सम, रूपनारायण सिंह, भीमनिधि तिवारी, भवानी भिक्षु र विश्वेश्वरप्रसाद कोइराला आदि प्रमुख नाम हुन् । यी कथाशिल्पीहरूका अतिरिक्त नेपाली साहित्यमा असंख्य कथाकारहरूको उदय भइसकेको भए पनि सबैभन्दा आधुनिक कथाशिरोमणि गुरुप्रसाद मैनाली नै हुन् ।

उनको एउटैमात्र पुस्तकाकार कृति ११ वटा कथाहरूको संग्रह नासो २०२० सालमा डा. तारानाथ शर्माले सम्पादन गरेका हुन् । ११ कथाहरूको संग्रह नासोमा सामाजिक जनजीवनको प्रतिनिधित्व छ । यो कथासंग्रह आजसम्म आइपुग्दा धेरै संस्करणहरू प्रकाशित भइसकेका छन् । आधुनिक नेपाली कथा साहित्यका प्रारम्भकालीन चम्किला तारा मैनालीका यी कथाहरू २००७ साल पूर्व र पश्चात्को पेरिफेरीमा लेखिएका हुँदा तत्कालीन समय र समाजको रीतिस्थितिबारे पनि कथामा झर्रो नेपाली भाषाको कलात्मक प्रयोगले अझ बढी सुन्दर बनाएको छ । ११ ओटा कथाहरूमध्ये नासो कथाबाट कथा संग्रहको नाम राखिएको छ ।

नेपाली जनजीवनलाई औधी प्रभावित बनाएर कलात्मकसाथ कथाको चित्रण प्रस्तुत गर्न पुगेका मैनालीका कथामा नासो, परालको आगो, बिदा, सहिद र छिमेकी कथाहरू अत्यन्तै राम्रा कथा हुन् । नासोमा समावेश अन्य कथाहरू पनि क्रमशः प्रायश्चित पापाको परिणाम, अभागी, कर्तव्य, प्रत्यागमन र चित्ताको ज्वाला हुन् । महत्व र रोचकताका दृष्टिले पनि उनका सबै कथाहरू समान स्थितिका छन् ।
७१ वर्षको लामो जीवनकालमा मैनालीले ११ वटामात्र कथा लेखे पनि उनका कथावस्तुले नेपाली ग्रामीण जनजीवनको कारुणिक र मार्मिक पक्षलाई सुन्दर अभिव्यक्तिद्वारा उर्वरशील बनाएको छ । शैलीमा नेपालीपन, भावना, गाउँले सजिलोपन, विचारमा सुधारको लक्ष्य र चित्रणमा रमाइलो कलात्मकता मैनालीका कथाका विशेषता हुन् । लेखनीमा सुक्तिमयता, यथार्थमूलक, आदर्शको प्रतिपादन, सरलता, सरसता र रोचकता उनका कथाका मुख्य वैशिष्ट्य हुन् ।

जीवनको लामो कालखण्डमा मैनालीले निजामती सेवाअन्तर्गत न्याय विभागमा न्यायाशीधसम्म भएर काम गर्दा आपूmले देखेभोगेका घटनाहरूलाई आधुनिक कथाशिल्पमा असाधारण शैली र रूपमा प्रस्तुत गर्न सक्नु प्रतिभा क्षमताको द्योतक हो । समाज र साहित्य एकअर्काका परिपूरक हुन् भन्ने तथ्यलाई कथाकार मैनालीले साह्रै राम्रोसँग बुझेका छन् । त्यसैले समाजबिना साहित्य जीवन्त रहन सक्दैन भने साहित्य बिनाको समाज अपांग रहन्छ । हृदयहीनता, घृणाबाट उत्पन्न हुने झैझगडा, सौताको रिसबाट हुने पीडाबोध तथा दरिद्र र शोषणबाट हुने वेदनाहरू नै उनका कथामा झल्कने प्रमुख विषयवस्तु हुन् ।

नासो कथासंग्रहमा समाविष्ट ११ कथामध्ये नासो कथा अति उत्कृष्ट छ, जहाँ जुन घरमा प्रशस्त सम्पत्ति, नोकरचाकर र सुखसयल आदिको चरम सम्पन्नता भएर पनि सन्तान नहुँदाको पीडा सुभद्राजस्ती गृहलक्ष्मीले आफ्ना पतिदेव देवीरमणलाई दोस्रो विवाह गरी सौता भित्र्याउन दिएको सहज अनुमति तथा पछि त्यही सौताको अभद्र व्यवहारबाट झैं झगडा खप्न नसकी आफ्नो घरसमेत त्यागी त्यत्ति सम्पत्तिकी मालिक्नी सुभद्राजस्ती एक आदर्श नारी मध्यरातमा एउटा सानो कपडाको पोको च्यापेर गौरीघाटमा शरण लिन पुग्छिन् ।

एक नारीको विषय वेदनालाई कथाकार मैनालीले अति घतलाग्दो पारामा प्रस्तुत गरेका छन् भने परालको आगो कथामा चामे र गौंथलीको झैंझगडालाई परालको आगोको संज्ञा दिएका छन् । त्यसैगरी उनका अन्य कथावस्तुहरू पनि उत्तिकै मार्मिक छन् । कथा विषयवस्तुको प्रतिपादन र शैलीको चमत्कारी संयोजन दुवैमा परालको आगो गुरुप्रसादको सर्व श्रेष्ठ कथा हो । सफल दाम्पत्य जीवनका दुई अनिवार्य तत्व लोग्ने र स्वास्नीबीचको झगडा वास्तवमै चामे र गौंथलीको जीवनमा कथाकारले प्रस्तुत गरेझै परालको आगोजस्तै क्षणिक र अस्थायी हुन्छ ।

घरायसी रूपमै साधारण शिक्षाआर्जन गरेका मैनालीले हिन्दी कथाहरूको गहन अध्ययनबाट प्रभावित भई उनले नेपाली कथा लेखेका हुन्, तर हिन्दी कथा साहित्य पनि पाश्चात्य साहित्यबाट प्रभावित छ । त्यसैले नेपाली साहित्यमा देवकोटाको मुनामदन, घिमिरेको गौरी र लीलबहादुर क्षत्रीको सामाजिक उपन्यास बसाइँको जुन स्थान छ, गुरुप्रसाद मैनालीका कथाको पनि त्यही स्थान रहेको छ ।

आधुनिक नेपाली कथासाहित्यका पुराना एवं युवा कथाकारहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले आफ्ना पिताको पुण्यस्मृतिमा गुरुप्रसाद मैनालीका सुपुत्रहरू डा. सुशील, राजेन्द्र, अम्बिका र डा. माधव मैनालीको सक्रिय सहयोगमा मैनाली कथा पुरस्कारको स्थापना भएको हो । मैनालीको नाममा पुरस्कार स्थापना गर्ने क्रममा साहित्यिक पत्रकार संघका तत्कालीन सभापति अच्युतरमण अधिकारीको महत्वपूर्ण सुझाव र उत्साह थियो । स्थापनाकाल संवत् २०३८ मा एक हजार रुपैयाँ र कदरपत्रसहित प्रदान गरिने मैनाली कथा पुरस्कार राशिमा पटकपटक वृद्धि भई आज ५१ हजार रुपैयाँ पुगेको छ । पुरस्कार धनराशि मैनालीका छोराहरूबाट प्रत्येक वर्ष साहित्यिक पत्रकार संघलाई उपलब्ध हुँदै आएको छ । मैनाली कथा पुरस्कार कथासम्बन्धी प्रकाशित कृतिलगायत फुटकर कथालेखनको क्षेत्रबाट योगदान गर्ने कथाकारलाई प्रदान गरिन्छ । कथाकारको समग्र कथालेखनको मूल्यांकनलाई आधार मानेर पनि पुरस्कार प्रदान गरिन्छ ।

प्रत्येक वर्ष कथा दिवसको अवसरमा चैत्र १९ गते विशेष समारोहका बीच प्रदान गरिने मैनाली कथा पुरस्कार पाउने पहिलो कथाकार भाउपन्थी हुन् । साहित्यिक पत्रकार संघले २०३८ सालको मैनाली कथा पुरस्कार कथाकार भाउपन्थीलाई प्रदान गरेको थियो । मैनाली कथा पुरस्कारबाट गत वर्षसम्म तीन दर्जन कथाकारहरू सम्मानित भइसकेका छन् । मननीय छ- यिनै कथा जगत्का अग्रणी प्रतिभा गुरुप्रसाद मैनालीको पुण्यस्मृतिमा साहित्यिक पत्रकार संघद्वारा २०३८ चैत्र १२ गतेदेखि १९ सम्म राजधानीमा आयोजित सप्ताहव्यापी कथा दिवसका अवसरमा मैनाली कथा पुरस्कारको स्थापना भएको हो । त्यसै वर्षदेखि प्रत्येक वर्ष चैत्र १९ गतेलाई कथा दिवसको रूपमा मनाइँदै आएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.