आत्मबलले फक्रेको जीवन

आत्मबलले फक्रेको जीवन

'धेरैले भन्ने गर्छन् बिचरा ! मलाई कहिल्यै लाग्दैन म उनीहरूले सोचेजस्तो बिचरा र बराको पात्र हुँ भनेर तर देख्नेहरू त्यही भन्छन् ।' हँसिलो अनुहार र आत्मविश्वासी शब्दहरूका साथ मुस्कुराउँदै उनले भनिन्, 'अपांगता भएकालाई क्षणिक माया र सहानुभूति राख्नेहरूले निकै कमजोर बनाइदिइरहेका हुन्छन् । अपांगता भएकालाई हेय र उपेक्षाले जसरी बञ्चित गरिन्छ । अधिक माया र सहानुभूतिले बन्धक बनाइराख्छ, यी दुवै कुराले अवसरबाट बञ्चित गराइदिन्छ र वृत्ति विकासको कदम रोकिदिन्छ ।'

Image may contain: 1 person, closeupउनको बुझाइमा जीवन सबैका लागि सोचेजस्तो नहुन सक्छ । तर त्यही जीवनभित्रको सौन्दर्यलाई पत्रपत्र केलाउन सके सुगन्धित हुन्छ । उनको जीवनप्रतिको दृष्टिकोण यही नै हो । नवलपरासीको मुकुन्दपुर गाविस ९ मा बुवा तुलसीराम पौडेल र आमा कलावती पौडेलकी आठ छोरी र दुई छोरामध्ये जमुना पौडेल छैटौं सन्तानका रूपमा २०३४ साल वैशाख २५ गते जन्मिएकी हुन् । चार वर्षको उमेरमा पोलियोका कारणले अपांगता हुन पुगेकी पौडेले जीवनलाई साँघुरो परिभाषाभित्र राख्न चाहन्नन् । पोलियो हुनु अगाडिका स्मृतिमा नाचेका प्रतिविम्बहरू देखिन्छन् । 'सपना हो या विपना, सम्झन पनि निकै गाह्रो, स्मरण गर्न खोज्दा पनि हराइदिन्छन् सम्झनाहरू ।'

फरक परिचयको हुर्काइलाई सम्झँदै पौडेल भन्छिन्, 'पहिलोपल्ट स्कुल जाने रहर जागेर आयो, आमाबाबालाई भनेँ । उहाँहरूले रोक्नु भयो । यसलाई मैले स्वाभाविक ठाने किनकि सांग विद्यार्थीबीच म चारहात खुट्टाले घिस्रिँदै जाँदा उहाँहरूलाई निको लाग्दैनथ्यो । कुनै बच्चाहरूले केही भन्लान्, गाह्रो होला भन्ने उहाँ सोच्नुहुन्थ्यो । यो अधिक मायाका कारणले हो, मप्रति हेलाँ र विभेद गरेर होइन । फेरि घरमा १० सन्तान थियौं । मलाई स्याहार गर्ने मान्छेको कमी हुँदैनथ्यो । त्यसैले पनि मायाबाट बञ्चित भइनँ।'

तर उनको पढाइप्रतिको अधिक चाहना देखेर बुबाआमाले घरनजिकै नारायणी प्राविमा कक्षा १ मा भर्ना गरिदिनुभयो । चार हात खुट्टा टेकेर उनले कक्षा ५ सम्म उत्तीर्ण गरिन् । यो अवधिमा उनलाई प्रत्यक्ष कोही कसैले हेयको दृष्टिले हेरेको महसुस भएन । अरूले के भन्लान् भनेर चित्त दुखाउने कुरामा ध्यान नदिएकाले पनि होला उनले चिन्तित भएर समय बिताएको सम्झनामा छैन ।

बैसाखीले नयाँ ऊर्जा

'म नौ वर्षको भएपछि काठमाडौंको खगेन्द्र नवजीवन केन्द्र जोरपाटीमा उपचारका लागि परिवारसित गएँ । तर उमेर नपुगेकाले शल्यक्रिया हुन सकेन । एक वर्षपछि मात्रै मेरो शल्यक्रिया भयो । आहा ! जीवनले अर्को रूप लियो । म बैसाखीको सहारामा हिँड्न सक्ने भएँ । एउटा कष्टकर जीवनको अध्यायबाट मुक्ति मिलेको अनुभुति गरेँ । डा. अशोककुमार बाँस्कोटा जीवनमा भुल्न नसक्ने नाम बनेर मनमस्तिष्कमा बस्नु भएको छ ।

यस बीचमा पढाइलाई निरन्तरता दिन सकिनँ । तीन वर्ष ग्याप भयो । फिजियोथेरापी गराइराख्नुपर्ने र नियमित चेकजाँच गर्नुपर्ने भएकाले पढाइ रोकियो । १३ वर्ष पुगेपछि पढ्ने रहर फेरि जागेर आयो । घरदेखि अलि टाढा आफन्त पर्नेको घरमा बसेर निमावि तहको पढाइलाई निरन्तरता दिन थालेँ । केही फरक अनुभव भयो । घरमा बुबाआमा, दिदीबहिनी र दाजुभाइको अगाध मायामा पुल्पुलिएकी म घरबाहिर हुँदा यसको अभाव भयो । केही कुराहरू सुन्दा नमज्जा लाग्थ्यो । तर पुनः सोच्थे 'यो मेरो लागि हो मैले केही गर्न सक्नुपर्छ, सक्ने कुरामा सहारा खोज्नु हुँदैन' मनलाई सकारात्मक तरिकाले बुझाउने प्रयास गरेँ । यसरी नै कठिनाइभित्रको वास्तविकतामा खुसीका रंगहरू खोज्दै मैले कक्षा ८ पास गरेँ ।त्यसपछि अगाडि पढाइलाई बढाउन सकिन किनकि स्कुल धेरै टाढा थियो ।

आत्मनिर्भर हुने प्रयास

उपचारकै सिलसिलामा भेट भएकी साथी सीता केसी (जो शारीरिक अपांग हुनुहुन्छ) सँगको भेट एउटा महत्वपूर्ण क्षण बन्यो । २०५७ सालमा सीताजीलाई भेट्न पोखरा आउँदा पोखराको हरियोखर्क अस्पतालमा अपांगता भएकाहरूले सीपमूलक तालिम सिकेर आत्मनिर्भर भएको देखेँ । मलाई पनि आँट आयो । म फर्म भरेर घर फर्किएँ । एक महिनामै नाम निस्कियो । हातेमेसिनबाट सिलाइकटाइ तालिम सिकेपछि अब केही गर्न सक्छु भन्ने आँट आयो । साथी सीता र म भएर टेलरिङ सुरु गर्यौ । केही समय राम्रो चल्यो तर राजदरबार हत्या काण्डपछि व्यवसाय राम्रो चलेन, कारण थाहा भएन ।

जीवन आँसु बगाएर होइन आत्मविश्वास जगाएर बाँच्नुपर्छ । संघर्षभित्रका खुसीलाई पत्रपत्र केलाएर मुस्कुराउन सके जिन्दगी सुगन्धित फूलजस्तै मगमगाउँछ ।

आर्थिक अभावका दिनहरू सुरु हुन थाले । यो बीचमा सीताजीको बिहे भयो । म एक्लै बस्न थालेँ । आर्थिक अभावलाई टार्न जीविकोपार्जनका लागि बजारबाट काँचो कपडा लगेर ढाकाको सल, पेटीकोट बनाएर आयस्रोत जुटाउँदै जीवन चलाउन थालेँ । केही समयपछि हरियोखर्कमा दुई वर्ष भोलेन्टियर र चार वर्ष जागिरेको रूपमा काम गर्ने अवसरले जीवनलाई केही सहज बनायो । धेरै परोपकारी मनहरूको साथ रह्यो यो बीचमा । केही सम्झनै पर्ने नामहरूमा डण्डुप छिरिङ, सीता केसी, खावामोतो हुन् । जीवनमा धेरै उतारचढाव आए, दुःख पीडा र चुनौतीका हरेक पहाडहरू छिचोल्दै यात्रा जारी रह्यो । बाँच्ने आधारहरू बन्दै गएँ । आत्मनिर्भरताले आत्मविश्वासलाई जगाउँदै लग्यो र आजको जिन्दगी सार्थक भएको ठानेकी छु ।

जीवनसाथीको साथले यात्रा फराकिलो

एउटा गोरेटोमा विविध अड्चन छिचोल्दै बढेका पाइलामा जब हरेराम तिमिल्सिनाको आगमन भयो । जीवनमा बहार आयो । यो समाजमा जहाँ महिलालाई गमलाको फूलको रूपमा हेरिन्छ । एउटा उपभोग्य वस्तुको नजरले हेरिन्छ । पाउदेखि शिरसम्मको पूर्णता खोजिन्छ । त्यही समाजका एक भिन्न पात्र हरेराम तिमिल्सिना । उहाँभित्रको सकारात्मक सोचले फेरि थप प्रकाशमय बनाइदियो जीवन । मनको कुनै कुनामा रहेको निराशालाई जरैदेखि उखेलिदियो । साँच्चै नामजस्तै सच्चा मनका धनी प्रेमका पुजारी इन्जिनियर हरेराम आवरणको पूर्णतामा भन्दा मनमस्तिष्क र भावनाभित्रको पूर्णताबाट रमाउने पात्र भएको बुझेपछि म र हरेरामबीचको वैवाहिक यात्रा सुरु भयो ।

जमुनाको वैवाहिक जीवनपछि घरपरिवारबाट केही विरोध पनि भयो । तर जमुनाले त्यसलाई स्वाभाविक रूपमा लिइन् । एउटी बुहारी घरमा आउँदा घरधन्दामा सहयोग गर्ने होस् भन्ने चाहना राख्दै उठेका आवाजलाई उनले स्वाभाविक ठानिन् । समय बित्दै गयो, परिस्थिति सहज बन्दै गयो । अहिले उनका सासूससुराको सोचमा परिवर्तन आइसकेको छ । माया, ममता थपिँदै गएको छ । पोखराको पश्चिमाञ्चल इन्जिनियरिङ कलेजमा स्नातक तहमा सिभिल इन्जिनियरिङ अध्यापन गराउँदै आएका हरेरामसँगको वैवाहिक जीवनको चौथो वर्ष एकअर्काप्रतिको माया र सम्मानले उनीहरूको दाम्पत्य जीवन रोमाञ्चित बनाइरहेको छ । कलेजभित्रको क्वाटरमा जमुना र हरेरामको सुन्दर जोडीलाई भेट्न सकिन्छ ।

सामाजिक दायित्वबोध

'जीवन हरेक मान्छेले जिएकै हुन्छ । तर फरक त्यति हो, जो अरूका लागि केही गर्न प्रयासरत गर्नेहरू थप खुसी भएर जिउन सक्छन्', जमुनाले जबजब अपांगताको मर्मलाई स्पर्श गरिन् उनले सामाजिक दायित्वबोध गर्न थालिन् । सामाजिक संघसंस्थामा क्रियाशील हुन थालिन् । स्वावलम्बन जीवन पद्धति, सिर्जनशील अपांग संघको आबद्धताले पनि थप केही कुरा सिक्ने, बुझ्ने अवसर दियो । अरू अपांगता भएकाहरूको कष्टकर दैनिकीको बारेमा सोच्न थालिन् । बैसाखी नपाएका र अरूको सहारामा आफ्नो कर्मलाई बोझिलो ठानेकाहरूको दैनिकीमा परिवर्तन ल्याउन उनले विभिन्न निकायको सहयोग र समन्वयमा सचेतनामूलक कार्यक्रम गर्न थालिन् ।

देउसीभैलोमार्फत सामाजिक जागरण फैलाउन सक्रिय भइन् र छन् । पित्तृसत्तात्मक समाज जहाँ महिलाको क्षमता दक्षतालाई अझै पनि सहर्ष स्वीकार्न गाह्रो हुन्छ यस्तो अवस्थामा अपांगता भएका महिलाको अवस्था झन् कस्तो होला ? उनको नेतृत्वमा २०७२ साल माघ महिनामा नेपाल अपांग महिला संघ कास्कीको स्थापना भयो । अपांगता भएका महिला र पढ्न, लेख्नबाट बञ्चित भएकालाई तालिम दिएर जीविकोपार्जनका लागि सहज वातावरण निर्माण गर्नु र अपांगता भएकालाई हेर्ने दृष्टिकोणमा सकारात्मकता ल्याउनु, अपांग मैत्री संरचनामा जोड दिनु यो संस्थाको उद्देश्य बनेको छ ।

'अपांगता भएकालाई सहानुभूति होइन अवसर दिलाउँ, स्वावलम्बन जीवन जिउन प्रेरित गरौ, भेदभाव हटाऊँ' भन्ने नारा सँगै अन्त्यमा उनी भन्छिन्, 'जीवन आँसु बगाएर होइन आत्मविश्वास जगाएर बाँच्नुपर्छ । संघर्षभित्रका खुसीलाई पत्रपत्र केलाएर मुस्कुराउन सके जिन्दगी सुगन्धित फूलजस्तै मगमगाउँछ ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.