छोराछोरी पढाउन म्यादी प्रहरीमा
चरीकोटः श्रीमान भीरबाट लडेपछि गाउँ छोडेर जिरीमा ज्यामी काम गरेर छोरा पढाउदै आएकी खारे ५ की जानुका श्रेष्ठ जिल्ला प्रहरी कार्यालय दोलखाको प्राङ्गणमा शुक्रबार हस्याङफस्याङ गर्दै यताउति गरिरहेकी थिइन् । कहिले साथीसंङ्गीसगं कुरा गर्थिन् त कहिले प्रहरी कार्यालयको भित्तामा आखा पुर्याउथिन् । नजिकै प्रहरी माइक मार्फत ठुलो स्वरमा म्यादी प्रहरीमा भर्ना हुन आउनेहरुको नाम बोलाउदै हाजिर गराउदै प्रवेश पत्र दिइरहेको थियो । उनि पनि त्यहि प्रवेश पत्रको पर्खाइमा थिइन् ।
श्रीमान बितेपछि गाउँ छोडेर हिडेपछि उनको नाम भूकम्प पीडितको सुचिमा समेत नरहेको उनी बताउँछिन् । गाउमाँ आफु नभएपछि सरकारले दिने राहतबाट समेत आफु बञ्चित हुनु परेको उनले सुनाइन् । म्यादी प्रहरीमा जागिर खान पाए केहि समयको लागी घर व्यवहार चलाउन र सानो छोरालाई पढाउनको लागि सहज हुने आसमा आफु आएको बताइन् । अरुको काम गरेर उचित रकम नपाएको र घर व्यवहार चलाउन निकै कष्ठकर भएपछि आफु प्रहरीमा भर्ना हुन आएको र छनौट भएमा स्थानीय निकायको निर्वाचन गराएर देशलाई सेवा गर्ने समेत आफ्नो लक्ष्य पुरा हुने उनी बताउँछिन् ।
३१ वर्षीय श्रेष्ठ जस्तै धेरै अर्धवैसे महिला र पुरुषहरु म्यादी प्रहरीमा भर्ना हुन सदरमुकाम चरीकोट आइपुगेका छन् । त्यहाँ भेटिएका अधिकाशंको व्यथा उस्तै छ । सरकारले घर बनाउन दिने भनेको तिन लाख रुपैयाले मात्र नपुग्ने बताउदै म्यादी प्रहरीमा जागीर खान पाए केहि राहत मिल्ने आशामा आफुहरु आएको बताउछन् ।
गाउँमा खेति किसानी गरेर दुई हात जोड्न समेत धौधौ हुने भएकोले घरमा सानो बच्चालाई छोडेर प्रहरीमा भर्ना हुन आएको जिरी ५ की ३१ बर्षिय सन्तोषी दर्जीको भनाइ छ । श्रीमान काठमाडौंमा ज्यामी काम गर्ने गरेको बताउदै श्रीमानको कमाइले मात्र नपुगेपछि अवसर आउँदा आफु पनि केहि रकम कमाउने आशमा प्रहीमा भर्ना हुन आएको बताइन् ।
उनले आफुले कमाएको पैशाले केहि घर खर्च गर्ने र केहि रकमले घरको जग हाल्ने समेत आफ्नो विचार रहेको जानकारी दिइन् । यस्तै जिरी ५ कै रिता दर्जी पनि म्यादी प्रहरीमा जागिर खान पाए घर बनाउनको लागि केहि राहत मिल्ने आशा रहेको बताउछिन् । सरकारले दिएको पहिलो किस्ता रकम पचास हजार जोगाएर राखेको र आफुले कमाउन सके थपथाप गरेर घर बनाउने सोचमा उनी छिन् । उनले सानोमा प्रहरी बन्ने इच्छा आफ्नो भएको र बाबु आमाले सानैमा विहे गरेर पठाएपछि आफ्नो रहर मरेको बताउदै म्यादी प्रहरीमा भर्ना भएर भएपनि आफ्नो इच्छा पुरा गर्न आएको उनले सुनाइन् ।
यसैगरी जिरी ६ घर भएका बर्ष ४१ का कुमार खड्का पनि प्रहरी बन्ने ध्यानमा छन् । विदेशमा रोजगारी गरेर फर्केका खड्का अव आफ्नै देशमा काम गर्ने सोच बनाएर म्यादी प्रहरीमा भर्ना हुन आएको बताए । उनले म्यादी प्रहरीमा भर्ना हुन सकेमा घर बनाउनको लागि रकम खर्च गर्ने सोचमा आफु रहेको बताए । सरकारले दिएको रकमले घर बनाउन अपुग हुने भएपछि केहि थपथापको लागि म्यादी प्रहरीमा भर्ना हुन आएको बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरिक्षक रविन कार्कीले १ हजार ६ सय ७२ जनाले म्यादी प्रहरीको लागि आवेदन दर्ता गराएको बताएका छन् । ति मध्ये महिला ५ सय ५८ र पुरुष १ हजार १ सय १४ जना रहेको समेत जानकारी दिए । म्यादी प्रहरीमा भर्ना हुनको लागि १८ बर्ष देखी ५४ बर्ष सम्मको उमेर हद राखिएको छ । प्रहरी कै जति सेवा सुविदा म्यादी प्रहरीले पाउने जनाएका छन् ।