मान्छे चराप्रति ऋणी छ
विश्वका करिब साढे सात अरब मान्छेमा चरा मन नपर्ने कति होलान् ? एक सय पचहत्तर जना पनि नहोला ? मानसिक स्थिति बिग्रेकोबाहेक। चरा लगभग सबैलाई मन पर्छ। किन त्यस्तो सर्वस्वीकार्य ? अनेकौं होला कारण। तर जरा कारण, मान्छेको खुला आकाशमा उड्ने चाहना हो जस्तो लाग्छ।
छिर्केबिर्के रंग, लयात्मक चिरबिर, थरीथरीका बनोट, ढाँचाकाँचा आदि सहायक कारण हुन्। चराका रंग, लय, बनोट र ढाँचाकाँचा भने मान्छेका रुचिअनुसार बाँडिएका छन्। तर, अन्तहीन आकाशमा उड्ने मान्छेको इच्छा आदिम छन्। अभ्यन्तरिक। त्यो इच्छाबाट मान्छे तृप्त हुन नसकेकाले चराप्रतिको रुचि, त्यसैको मनोवैज्ञानिक पूर्ति हो कि?
राजनीतिक विचारधारा, आर्थिक विकासका मोडेल, धर्म सम्प्रदायमा मान्छेका रुचि बाँडिए पनि चराको हकमा समान छन्। विभाजित छैन। कन्भर्ज। कारण ? संयोग वा चान्स फ्याक्टर पक्कै नहोला। सानो स्केलमा संयोग हुन सक्छ। विश्वस्तरमै कठिन हुन्छ, संयोग। के इभलुसन वा विकासक्रम कारण हुन्। करोडौं वर्षअघि चरा र मान्छेका साझा पूर्वज थिए, भनिन्छ।
के चराप्रतिको हाम्रो आकर्षण, आदिम पुर्खाप्रतिको आकर्षण हो? विकासक्रमका वैज्ञानिकका सिद्धान्तहरू छन्। केही बलिया, अविश्वास गर्न गाह्रो। केही फितलो, भर नलाग्ने। केही मिथकजस्ता, रहस्यमय। केही ठोस प्रमाण भएको, विज्ञानसम्मत। केही लीलाजस्ता। अपरम्पार। पत्यार नलाग्दा पनि गलत प्रमाणित गर्न नसकिने (धर्मका अनुयायीले पनि प्रमाणित त गर्न सकेको छैन)।
अन्तिम व्याख्या, आस्थाकै पोल्टामा थुपारिदिएको छ। जे होस्, मानव जाति चराप्रति ऋणी छ। वित्तीय संस्थाले झैं चराले ऋण नदिए पनि, मान्छे चराप्रति ऋणी छ। चराबाट ऋण लिएको यथार्थ मान्छेले सकार्ने पनि कहिले हो ? सर्वनामिक मान्छेभित्र कविले देख्न र बुझ्न सकिने कारणसहित चराबाट ऋण लिएको छ। विम्बको ऋण।
पछिल्लो दशकमा कवितामा सामाजिक सांस्कृतिक विम्बहरूको प्रयोग बढेको छ। स्वाभाविक पनि छ। संघीयता, धर्मनिरपेक्षता र समावेशिताले सामाजिक सांस्कृतिक विम्बहरूलाई केन्द्रमा ल्याइदियो। विम्ब निर्जीव प्रतीक होइन, लौकिक सामूहिक अवचेतन वा चेतन मस्तिष्कको भावनात्मक वा बौद्धिक सूत्रबद्ध गुम्फन हो। त्यसैले सामाजिक सांस्कृतिक बिम्व र मिथकको बढ्दो प्रयोग स्वाभाविक थियो।
रूपान्तरणको गतिलाई सघाउन। लोकमानसमा ओर्लन। तर, यहाँ लेख्न खोजेको विषय प्राकृतजैविक विम्ब हो। चरा विम्ब। प्राकृत, कारण चरा प्रकृतिप्रदत्त छ। जैविक, कारण चरा समग्र जीवभित्रको एक जैविक प्रजाति हो। जीवनको रूख हेर्दा थाहा लाग्छ। लाइफ अफ ट्रिको बांगोटिंगो हाँगामा चराको क्रमिक विकासको टाइमलाइन हेर्न सकिन्छ।
चराबारे सोच्नासाथ पहिलो झमटमै सम्झनामा आउने कवि हुन्, केशव सिलवाल र उनको कविता- 'चिवेचरा'। त्यो कविता सर्वप्रथम स्पाइनी ब्यावलरको कार्यक्रममा सुनेथेँ। सम्पूर्ण जीउ कालाम्मे, प्रचलित दृष्टिमा कुरूप चरालाई विम्बमा उतारेका थिए, कविले।
फाट्टिएको पुच्छर भएको त्यो गुमनाम चरालाई डिस्कोर्समा ल्याएका थिए। रातो, नीलो, हरियो, पहेँलो, कलेजी रङहरूको जगजगीमा त्यो कालो 'साधारण' चराको वैशिष्ट्यतालाई कविले देखेका थिए। स्रष्टा द्रष्टा बनेको थियो। भुइँमान्छे समानान्तर भुइँचरा भन्न सकिने चिबेचरामार्पmत मान्छेको समाजको कथा भनेका थिए। काव्यात्मक शैलीमा।
‘तिमीलाई घृणा लागे पनि
मेरो निख्खर कालो रङ
यो देशका अनेकौं रङहरूमध्ये
एउटा रङ हो
तिमीलाई बोझिलो लागे पनि मेरो पहिचान
म यो देशका अनेकौं पहिचानहरूमध्ये
एउटा पहिचान हुँ
मेरो पनि दाबी छ-
म यो देशको राष्ट्रिय चरा हुँ'
शास्त्रीयताभन्दा भिन्दै अर्थमा, विम्बको प्रयोग गरेका छन् सिलवालले। सामाजिक सांस्कृतिक र राजनीतिक रूपान्तरणका निम्ति प्राकृतजैविक विम्बको प्रयोग। प्रकृति रम्यता कवि सिलवालको अभीष्ट देखिँदैन। यसलाई प्राकृतजैविक विम्बको प्रयोजनको विस्तार भन्न सकिन्छ। कवि चिवेचराप्रति ऋणी छन् कि ?
नभए, हुनुपर्छ। ऋणी शब्द उपयुक्त नहुन सक्छ ? त्यसो भए ऋण कसरी तिर्ने, प्रश्न उभिएला ? प्रकृतिलाई दिनेभन्दा बढी हामीले प्रकृतिबाट लिएका छौं। दोहनै गरेका छौं। प्रकृति र जीवको अन्तरनिर्भरतालाई थोरैमात्र बुझ्न सक्यौं र एप्रिसियट गर्न सक्यौं भने त्यो ऋण तिर्ने यात्रा बन्छ। आयोजक संस्थाको नाममा संयोग घटेको थियो। स्पाइनी ब्यावलर पनि एकखाले चराकै अंग्रेजी नाम हो। काँडेभ्याकुर। नेपालमा मात्र पाइने, महादुर्लभ चरा।
मानव जातिको सबभन्दा बहुमूल्य स्रोतहरू हावा, पानी, प्रकाश, खोलानाला, हिमाल, वनजंगल, घाँसेमैदान हुन्। तर ती प्रकृतिप्रदत्त भएकाले वा मानिसले किन्न नपरेकाले हामी त्यसलाई मूल्यवान् ठान्दैनौं। बरु पैसा तिरेरमात्र पाइने जुत्ता, कपडा, मोबाइल, घरजग्गा, गाडी, ज्वेलरी आदिलाई मूल्यवान् मान्छौं। सर्वमहत्वको पर्यावरणलाई मूल्य नदिनु त्रासदी हो। सार्वजनिक स्रोत वा पब्लिक रिसोर्सेज भएकैले त्यसको संरक्षणप्रति मानिसको बेवास्ता छ।
सार्वजनिक स्रोतसम्पत्तिको संरक्षणमा मानिस उदासीन हुन्छ भन्ने सिद्धान्त नयाँ होइन। इकलजिस्ट ग्यारेट हार्डिनले सन् १९६८ मा 'ट्रेजेडी अफ कमन' सिद्धान्त प्रतिपादन गरे। निबन्धको बुई चढेर आएको थियो, त्यो सिद्धान्त। निबन्ध लेखिएको आधा शताब्दीपछि पनि त्यो सिद्धान्त झन् सत्य भएको पाउछौं। वरपर नियाल्दा, प्रस्ट देखिन्छ। गमलाको खुर्सानी राम्रै हुर्कने, राष्ट्रिय वनका रूखहरू फडानी हुने।
घरपालुवा कुकुर उमेर पुगन्जेल बाँच्ने (रोगव्याधी बाहेकको अवस्थामा), जंगलको बाघ र रेड पान्डा मारिने। घरको दुई बोरा बालुवा गिट्टी वर्षौं टिक्ने, चुरेको हजारौं टन ढुंगा, गिट्टी मासिने। तर त्यही राष्ट्रिय वन रेगुलेट गर्न दिए, सामुदायिक वनका रूपमा फेरि संरक्षण हुने। के यी प्राकृतिक स्रोतहरूको मूल्य निर्धारण पद्धति छन् ? पक्कै छन्। एकछिन कन्टिन्जेन्ट च्वाइस पद्धति नै हेरौं। हाइपोथेटिकल परिदृश्यमा।
मानिलिऊँ, मसँग जादुयी शक्ति छ। केही चिताए पनि फत्ते गर्न स मानिलिएको। अर्को व्यक्ति छ, ऊ भनौं। कोही आएर मलाई भन्यो, तपाईंलाई एक लाख नगद दिन्छु तर सर्त छ। सर्त के भने, तपार्इंले संसारकै चराहरू नष्ट गर्नुपर्यो। चराहरू नष्ट भएको चिताउनुपर्यो। मान्नुहुन्छ ?
म क्षणभर घोत्लन्छु। र भन्छु- मान्दिनँ।
ऊ भन्छ, १० लाख दिन्छु। मान्नुहुन्छ ?
म चकित खान्छु। केही क्षण घोत्लन्छु। १० लाख सानो रकम त होइन। मेरोनिम्ति। मैले चराको मूल्य कति नै पाएको छु र ? शून्य। तर छत, बार्दली, बगैंचा, खेत र वनजंगलका चरा सम्झिँदा माया लागेर आउँछ। त्यसैत्यसै गल्छु र भन्छु, मान्दिनँ।
ऊ बिड बढाउँदै भन्छ, एक करोड दिन्छु।
रकम सुनेर म विचलित हुन्छु। एक करोड ठूलो रकम हो। जिन्दगीभर कमाउन नसक्ने। तर, संसारभरिकै चरा म कसरी नष्ट गर्न सक्छु ? गाउँसम्मको भए आँट्थे कि ? तर्कना गर्छु। मैले एक करोड लिँदा आकाश कत्ति रित्तो हुन्छ। कालीगण्डकी उपत्यकामा लोबा, थकाली र मगर बच्चाका आँखाहरू हिउँदमा कर्याङकुरुङको सिक्रीजस्तो लस्कर नदेखेर कत्ति थाक्लान् ? तराई-मधेसका बालबालिका भँगेरा, परेवा, कौवा, बकुल्ला नदेखेर अँध्यारो अनुहार गर्लान्।
आक्कल झुक्कल देखिने सिमचरा र हिउँदमा घरको टोड्कामा जिज्ञासु आँखा लिएर उँघिरहेको लाग्ने लाटोकोसेरो नदेख्दा मनको उल्लास घट्नेछन्। हजारौं लाटोकोसेरोले लाखौंकरोडौं मुसा खाई किसानको अन्नबाली जोगाउने जैविक प्राणीलाई कसरी नामेट गर्न सकिन्छ ?
प्रकृतिको कुचीकारलाई कसरी मार्न सकिन्छ ? कुरा देशभित्रको मात्र होइन। अन्टार्कटिकासम्मको हो। पेन्गुइन मेरो चरा नभएर के भो ? हाम्रो चरा त हो। चुच्चो आकाशतिर फर्काएर लुन्थे पखेटा हल्लाउँदै फिटिक्क फिटिक्क हिँड्दा, त्यो ह्याप्पी फिटले करोडौं मनमा खुसी भर्छ। मलाई सोचग्रस्त देखेर, उसले बोली बढायो।भन्यो, एक अरब दिन्छु।
मेरो अन्योल थपिन्छ। कल्पनामै नचिताएको रकम। एक अरबमा त मेरो कैयन् सन्तती मज्जाले बाँच्न सक्छन्। धेरै थोक किन्न सकिने संसारमा एक अरबले मान्छे अत्यन्त शक्तिशाली हुन्छ। म धरमर हुन्छु। थप सोच्छु। सर्त अघि सार्छु, नाम सार्वजनिक नगर्ने हो भने मञ्जुर। हामी दुई बीचमा मात्र सीमित हुनुपर्छ।
पक्कै डिल गरेपश्चात् संसारभरका चराहरू नष्ट हुनेछन्, हराउनेछन्। त्यसको चेनइफेक्ट के हुन्छ ? थाहा छैन ? तर, दुनियाँले त्यसको कारण त खोज्नेछन्। कसले त्यस्तो गर्यो, खोजखाज गर्नेछन्। र, थाहा पायो भने त लाजमर्दो हुन्छ। ग्लानि हुन्छ। तर अर्को मन भन्छ, सार्वजनिक नै नभए पनि, स्वयंलाई कसरी धोका दिन सकिन्छ ?
पश्चात्तापको अवधारणा पनि मान्छेसँग कुम जोडेर बाँचेको छ। त्यसले दुःख देला। संसारभरिकै चरा नष्ट गर्नुपर्ने भएकाले रकम ठूलो होइन। मान्छेको रचना हुन्थ्यो भने, फेरि आविष्कार गर्न सकिन्थ्यो।
हृदयको आकाशमा करोडौं चरा निस्फिक्री उडिरहेको देख्छु। मेरो मन भरिन्छ र भन्छु- हँदैन, हँदैन। असंख्य चरा भएर पनि मैले आर्थिक फाइदा पाएको छैन तर हात परेको ठूलो रकम म फेरि फर्काउँदैछु। अन्योलपूर्ण स्थिति।
उत्तरकर्ताअनुसार उक्त परिदृश्य बदलिन्छन्। म प्रतिनिधि पात्रमात्र। उदाहरणले के देखाउँछ भने, अधिकांश मानिस पैसा पाउँदा पनि चराहरू नष्ट गर्न चाहँदैनन्। तर, रकम बढ्दै जाँदा नष्ट नगर्ने उनको चाहना कमजोर बन्दै जान्छ।
तर चुरो कुरो, जुन हदसम्मको रकम ऊ लिन अस्वीकार गर्छ, त्यति रकम उनले संसारभरका चरालाई (यस उदाहरणमा) प्रदान गरेको मूल्य हो। सोचिल्याउँदा आखिर, चराहरूको पनि इकनमिक भ्यालुएसन गर्न सकिने रहेछ। काव्यिक मूल्य त सिलवालजस्ता कविहरूलाई नै सोध्नुपर्छ।
चराहरूले कुन देशको कविलाई प्रेरित गरेको छैन र ? पीवी शेलीको ‘स्काई लार्क’ सम्झन्छु। प्रमाणपत्र तहमा पढेको। स्काई लार्कको फ्लाइटसँगै शेलीको कविताको वेग। उन्नाइस/बीसको ठिटो उमेरमा त्यो कविताले मलाई जबरजस्त प्रभाव पारेको थियो। अर्का अमेरिकी कवि, एडगर एलन पो। उनको कविता, ‘द राभेन’। राभेन कौवा प्रजातिको एक चरा।
कौवाभन्दा ठूलो। चम्किलो कालो प्वांख भएको। कम सामाजिक। राभेन पीडाविम्ब हो, कवितामा। पत्नी लेनोरको निधनमा कवि शोकाकुल भइबसेको बेला, राभेन देखिन्छ। वियोगले शोकाकुल कवि राभेनलाई सोध्छ, के लेनोरलाई ऊ कुनै दिन स्वर्गमा भेट्न सक्छ ? नेभरमोर, राभेन कराउँछ। कविले अर्थ बुझ्दैन। नबुझेको अर्थ प्रियजनको मृत्युले निम्त्याएको उनकै धमिलो मनोदशाको प्रतिच्छाया हुन्छ। राभेन एकटक हेरिरहन्छ, कविलाई।
तीन वर्षअघि कञ्चनजंगा यात्रामा राभेनको बथान देखेथे। चार हजार मिटर अग्लाइमा। खम्बाचेनमा। क्लाउड फरेस्टमाथि। घुन्साका हिमाली चुङ्दालाई सोधेपछि राभेन नै हो भन्नेमा ढुक्क भए। गतिलो क्यामेरा थिएन।
मोबाइलले भिडियो खिचेँ। बथान कहिले बेगले झथ्र्यो, कहिले तीव्र गतिमा आक्कासिन्थ्यो। बिरान उपत्यकाको मौनतालाई भंग गर्दै राभेनको आवाज गुञ्जिएको थियो। खिच्नै हम्मे पर्यो। बेलुकी रामदाङ चौंरीखर्कमा पुगेर हेर्दा, राभेन खुट्ट्याउन गाह्रो।
‘नेपथ्यमा
एक हूल चराहरू स्वतन्त्रताको गीत गाउँदै
खुला आकाशमुनि उडिरहेका छन्।'
राभेन स्वतन्त्रताको प्रतीक। कवि योगराज राईका कविता पंक्तिहरू सम्झेँ। मेरो हृदयलाई सुस्तरी स्पर्श गरेका कविताका अंशहरू। आभासमात्र हुने गरी। यदाकदा सामाजिक सञ्जालमा कविताका स्पार्कहरू भेटिन्छन्।
सामान्य लागे पनि राईका कवितांश सामान्य छैन। चराहरू नहुँदा हुन त, स्वतन्त्रता शब्द सुन्दा, सीमाहीन आकाशमा निर्बन्ध कावा खाइरहेका चराको दृश्य कहाँ सोच्न सक्थ्यौं ? चराहरू नहुँदा हुन त, मान्छेका कल्पना पनि बुच्चो हुन्थ्यो।
त्यस्तै कवि प्रसन्न घिमिरेको रूख र चरा कविता पनि सम्झे। निःशब्द कविता संग्रहको। घिमिरेले रूखको प्रेमी बनाएका छन्, चरालाई। र, पर्यावरणीय चिन्ता जताएका छन्।
‘आराले रूख चिर्दा सुनेको हुनुपर्छ
असंख्य चराहरूको आवाज
चराहरू, जसले चरम प्रेम गरे निःशब्द रूखहरूलाई
जब ठोक्छौं बन्चरोको धारले
सुनेको हुनुपर्छ
भक्कानिएको रूख, सम्झिएर आफ्ना प्रेमीचराहरू'
विगतमा चराप्रति हामीकहाँ कविका दृष्टि नपरेकै त कहाँ हो र ? कवि माधव घिमिरेले लेखेको बिहान रूखबाट लहराउँदै धर्तीलाई छुँदै फेरि रूखमा जाँदै झ्याँपी उठ् गाउने चिबे चरातिर हाम्रो ध्यान गएको छैन, तर शेलीको स्काईलार्क पढेर मुग्ध हुन्छौं।
हाम्रोमा यहाँ पनि खरानीबाट उड्ने चरो छ, जसको नाम गोलसिमल हो (आफ्नो बाँसुरी आफ्नै गीत, पृष्ठ ५), लेखेका थिए। घिमिरेले चिबेचरातिर ध्यान गएको छैन भनेको धेरै वर्षपछि हामी कवि सिलवालले चिबेचरा कविता लेखेका पाउछौं। तर, भिन्न अर्थमा। गोलसिमल भने मेरोनिम्ति नयाँ चरा हो। अपरिचित। गोलसिमल खरानीबाट उड्ने भनिएको छ।
खरानीबाट उड्ने भनेको के ? खरानीबाट उठ्ने अर्थात् बौरिने भनेको त होइन ? नत्र त त्यस्तो विशेषता भएको चराका विम्बहरू प्रयोगमा आइसक्नुपथ्र्यो। खरानीबाट उठ्ने (? ) चरा हो भने त, हामीकहाँ नै फिनिक्स रहेछ। ग्रिसतिर ताकिरहनु पनि परेन।
कवि लेखनाथको 'पिँजराको' सुगा सम्झन्छु। सोच्दै जाँदा त्यो पिँजरा क्रमशः मस्तिष्कमा विशाल बन्दै जान्छ र सुगाको कायाकल्प हुँदै मानिसमा फेरिन्छ। अनुकरण गर्ने क्षमताका कारण बन्दी जीवन बिताउनु परेको चरा सुगा हो। चराको निम्ति उड्न नपाउनु र मान्छेको निम्ति सोच्न नपाउनु जस्तो भयानक यातना केही हँदैन।
निरंकुश राणा काललाई पिँजराको सुगा विम्बले जति सही चित्रण सायदै अरू विम्बले गर्न सक्थ्यो। राणाशासकहरू डराएको तथ्यले विम्बको मारक क्षमता सिद्ध हुन्छ।
सुगाको निरीहपनले तात्कालिक समाजमा ‘रैती’को अवस्थालाई अभिव्यक्त गर्यो। सुगा, प्राकृतजैविक विम्ब। कवि लेखनाथ चराको ऋणी थिए कि ? लेखनाथ अहिलेसम्म बाँचेका भए, पक्कै उनी फेसबुक एकाउन्ट खोल्थे। जिज्युबा उमेरका उनलाई म फ्रेन्ड रिक्वेस्ट पठाउँथेँ। उनी सायद नाति उमेरको मेरो रिक्वेस्ट स्वीकार्थे।
उच्च ललाट र निहुरिएको वृक्षको हाँगाजस्तै झुन्डिएको श्वेत दाह्रीमा भव्य प्रोफाइल पिक्चर देखेर म मुग्ध हुन्थेँ। लाइक गर्थें। विनम्रता अपनाउँदै लेख्थेँ, पिँजराको सुगाले हजुरलाई अमर बनाएकाले, के हजुर सुगाप्रति ऋणी हुनुहुन्छ ?
चराको प्रसंग आउँदा विकास बस्नेत सम्झन्छु। बस्नेत कुशल फोटोग्राफर। उनी चराका आकर्षक फोटोहरू फेसबुकमा पोस्ट गरिरहन्छन्। चराका नामहरूले मेरो ध्यान मनग्य खिच्छ। कसले राखेका होलान्, त्यस्ता सिर्जनात्मक नामहरू ? उदाहरण, नीलटाउके खन्जरी।
नीर पोतेझैं नीलै टाउको भएको चरा। घाँटीसम्म चुहिएको नीलो रङ। हल्का भुँडे। हाँसउठ्दो। अर्को, काले बुंगेचरा। सम्पूर्ण शरीर कालो चुच्चो सुलुत्त अलिक नुहेको। एउटै रङ भएकाले केही नभएझैं ठानी बुंगे भनेको होला ? खोया हाँस।
खुट्टा तनक्क तन्काएर पखेटा फिजाउँदै साँपजस्तो धर्के टाउकोधारी यो चरा खाँट्टी धावक देखिन्छ। चराविद् हेमसागर बरालका अनुसार विशेषगरी चीन र रसियाका भिन्न क्षेत्रमा पाइन्छ। जाडो लागेपछि आहारा खोज्न दक्षिणतिर जान्छ। सगरमाथाको उचाइभन्दा एक हजार मिटर माथिबाट बसाइँसराइ गर्छ। चित्राङ भने बागी चरा रहेछ। र्याडिकल फेमिनिस्ट।
भालेलाई चल्ला कोरल्न लगाएर आफू आहारा खोज्न बाहिर निस्कने। त्यस्तै कोचलगाँडे लाटोकोसेरो, नीलाम्बर जलखन्जरी, फिरफिरे, सेतोकण्ठे माटिकोरे अनेकन नाम। नवीन नामहरू।
वनविज्ञान अध्ययन संस्थानमा अर्निथलजी वा चराविज्ञानको विषय पनि पढाइन्थ्यो। वाइल्ड लाइफ मेजरमा। म परे जनरल फरेस्ट्रीको विद्यार्थी। अर्निथलजीका सहपाठीले भनेको सम्झन्छु, चराको हाडमा प्रशस्त हावा भरिएको स्याक हुनाले चरालाई उड्न सजिलो हुन्छ। आर्चियोटेरिक्स सबभन्दा पुरानो चरा मानिन्छ। सन् १८६१ मा यसको फोसिल भेटियो।
१५० मिलियन वर्षपहिला यो चरा अस्तित्वमा थियो, भनिन्छ। डायनोसरसबाट उद्भव भएको। प्राकृतिक छनोटको सिद्धान्तअनुसार करोडौं, अरबौं वर्ष खर्चिंदै। उक्त फोसिल संक्रमणकालीन मानिएको छ।
डायनोसरस र चराको संक्रमणकालको। विश्लेषणअनुसार आर्चियोटेरिक्सका तिखा दाँत, तीन औंलासहितका नंग्रा, लामो हाडे पुच्छर डायनोसरससँग मिल्दाजुल्दा छन्। यो चरा मध्यम आकारका डाइनोसरसबाट उद्भव भएकोमा वैज्ञानिकहरूमा विवाद छैन।
वाइल्डलाइफ फोटोग्राफर सागर गिरी
सेली, एडगर एलन पो, केशव सिलवाल, योगराज राई, प्रसन्न घिमिरे वा जसजसले चराविम्ब प्रयोग गरेका छन्, ती बुद्धिमत्तापूर्ण कदम बनेका छन्। कारण, चरा त्यत्तिकै बनेको छैन। सिंगो जियोलजिकल टाइम पिरियड खर्चिएको छ, त्यसको निर्माणमा। चरा विम्ब प्रयोग गर्ने अरू कविहरू पनि पक्कै छन्।
यो थप अनुसन्धानको विषय हो। विम्ब, कविताले समयको चट्टानमा खिपेको फोसिल हो। हेर्न जाने विश्वविद्यालय हो फोसिल, नजाने ढुंगाको निर्जीव थुप्रोमात्र।
तेह्र वर्ष अन्नपूर्णमा जागिरे जिवन बिताउँदा वनजंगल, उकाली ओराली, खर्क बुक्यान घुम्ने प्रशस्त मौका पाएँ। मुस्ताङ, कास्की, म्याग्दी र लमजुङमा प्रकृति संरक्षणको अनुभव बटुलेँ। आजकल काठमाडौंको कंक्रिटको जंगलको कोठामा बसेर सोच्दा अनौठो लाग्छ।
जोमसोम, लोमान्थाङ, मनाङ, घान्द्रुक, टाडापानी, घोरेपानी, चित्रफलाँटे, सिखघार, नारच्याङ। बेसीसहर, घलेगाउँ, भुजुङ। चराहरू देखे। मुग्ध भए। र, अनुप्रेरित भई मैले पनि चराका कविता लेखे। यस्तोमा म चराप्रति ऋणी नहुने प्रश्न नै आउँदैन।
‘चरालाई आकाश देऊ
र हेर,
ऊ आकाशलाई कसरी अर्थ दिन्छ ?'