अब नेपालमा ‘युरो फोर’ मापदण्डको इन्धन : यस्ता छन् विशेषता
काठमाडौ : देशभरका नेपाली बासिन्दाले आइतबारदेखि युरो फोर मापदण्डको इन्धन खरिद गर्न पाउने भएका छन्। नेपाल आयल निगमले आइतबारदेखि देशभरका पेट्रोल पम्पबाट युरो फोर (बीएस फोर) मापदण्डको इन्धन (डिजेल र पेट्रोल) वितरण गर्ने व्यवस्था मिलाएको छ।
बजारमा कायम रहेको प्रचलित मूल्यमै युरो फोर मापदण्डको डिजेल र पेट्रोल वितरण गर्ने निगमले जनाएको छ। युरो फोर मापदण्डको पेट्रोल अहिलेकै मूल्य प्रतिलिटर एक सय एक रुपैयाँ ५० पैसा र डिजेल ७७ रुपैयाँ ५० पैसामा आम उपभोक्ताले पम्पबाट खरिद गर्न पाउनेछन्।
निगमका प्रवक्ता तथा आपूर्ति वितरण विभाग प्रमुख सीताराम पोखरेलका अनुसार युरो मापदण्डको इन्धन भित्र्याउन शनिबार नै भारतको डिपोहरु रक्सौंल, सिल्लीगुढी, बरौनी, मुगलसराय, गोण्डा र बन्थरामा ट्याँकरहरु पठाइसकिएको छ। ‘भारत पठाइएका ट्याँकरले ल्याएको युरो फोर मापदण्डको इन्धन आइतबारदेखि उपत्यकासहित देशभरका उपभोक्ताले प्रयोग गर्न पाउनेछन्,’ पोखरेलले भने।
युरो फोर मापदण्डको इन्धन भित्रिएसँगै हाल बजारमा उपलब्ध हुँदै आएको युरो थ्री्र मापदण्डको इन्धन पूर्ण रुपमा विस्थापित हुनेछ। नेपालमा मासिक ३२ हजार केएल पेट्रोल र एक लाख १० हजार डिजेलको माग छ।
पोखरेलका अनुसार युरो फोर मापदण्डको इन्धन भित्र्याउन गत कात्तिकमै इण्डियन आयल कर्पोरेशन (आईओसी) सँग सैद्धान्तिक सहमति भइसकेको थियो। सोही सहमतिको आधारमा गत सोमबार आईओसी र निगमबीच थप पाँच बर्षका लागि इन्धनसम्बन्धि भएको सम्झौता नविकरणमार्फत यो योजनालाई मूर्त रुप दिइएको हो।
युरो फोर इन्धनका विशेषता
युरो फोर मापदण्डको इन्धनसँग अत्यन्त न्यून परिमाणमा प्रदूषण (धुवा) उत्सर्जन गर्ने र अत्याधिक माइलेज दिने विशेषता छ। युरो फोर मापदण्डको इन्धनले न्युन परिमाणमा प्रदूषण उत्सर्जन गर्दा हालको राजधानीको प्रदूषण युक्त वातावरण थौरै भएपनि धुवाबाट जोगिने निगमको दावी छ। यो इन्धन सबै प्रकारका पुराना र नयाँ प्रविधिमा आधारित सवारी साधन (मोटरसाइकल, स्कुटी, बस, ट्रक, जिप, कार) प्रयोग गर्न मिल्छ।
युरो फोर मापदण्ड भएको इन्धनमा सल्फरको मात्रा अत्यन्त न्युन भएकाले सवारीसाधनले निकै कम परिमाणमा प्रदूषण उत्सर्जन गर्छन्। यसका साथै सवारी साधन पनि निकै कम मात्रामा बिग्रने सम्भावना हुन्छ। युरो फोर मापदण्ड भएको डिजेल र पेट्रोलमा ५० पीपीएमको परिमाणमा मात्रै सल्फर पाइन्छ भने युरो थ्री मापदण्ड भएको डिजेलमा तीन सय ५० र पेट्रोलमा एक सय ५० पीपीएमको हाराहारीमा सल्फर पाइन्छ।
यस्तै युरो थ्रिको इन्धनमा एटोम्याटिक्सको परिमाण ४२ पीपीएम पाइए पनि युरो फोरको इन्धनमा भने ३५ पीपीएम मात्रै पाइन्छ। त्यस्तै युरो फोर मापदण्डको इन्धन अक्टेन ९५ पीपीएम परिमाणमा आधारित हुन्छ। शनिबारसम्ममा भारतका कतिपय सहरसहित पाकिस्तान, भुटान, श्रीलंका, बंगलादेश र नेपालमा युरो थ्री मापदण्डकै इन्धन खपत भइरहेको थियो।