पाथिभरा जाँदै गरेका तीर्थालुको मृत्यु
ताप्लेजुङ : ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथिभरा जाँदै गरेका एक तीर्थालुको शुक्रबार राति मृत्यु भएको छ। मृत्यु हुनेमा मोरङ टंकिसिनिबारी १ निवासी ५० वर्षीय कुमार बानियाँ रहेका छन्।
आठ जनाको टोलीसँगै पाथिभरा जाँदै गरेका बानियाँ भालुगौडे पुगेपछि बेहोस भएका थिए। उनको सोही स्थानमा प्राथमिक उपचार गरी थप उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याउने तयारी गर्दै गर्दा मृत्यु भएको प्रहरीले बताएको छ ।
उनको शव अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पताल ताप्लेजुङमा राखिएको छ। मृतक बानियाँ नेपाल विद्युत प्राधिकरण इलाम शाखामा प्राविधिक पदमा कार्यरत थिए। पाथीभरा समुन्द्र सतहबाट ३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको छ।
पाथीभरा जाने क्रममा लेक लाग्ने जस्ता समस्याले वर्षेनी कतिपय तीर्थालुहरुले बाटैमा ज्यान गुमाउने गरेका छन्।