बालिका बलात्कार गर्नेलाई १४ वर्ष जेल सजाय : ७५ हजार क्षतिपूर्ति
ताप्लेजुङ : जिल्ला अदालत ताप्लेजुङले पहिलो पटक सरकारको तर्फबाट पीडितलाई क्षतिपूर्ति भराउन आदेश दिएको छ। जबरजस्ती करणी भएकी ताप्लेजुङ जिल्ला याङवरक गाउँपालिकाकी ९ बर्षीया बालिकालाई क्षतिपूर्ति बापत ७५ हजार रुपैंयाँ भराउन महिला तथा बालबालिका कार्यालय ताप्लेजुङलाई आदेश दिइएको हो।
जिल्ला अदालत ताप्लेजुङले गत फागुन १५ गते स्कुलबाट घर फर्कदै गरेकी ९ बर्षीया बालिकालाई सोही ठाउँका २० बर्षीय विकाश विश्वकर्माले खानेकुरा दिन्छु भनी फकाएर करणी गरेका थिए। करणीपछि बालिकाले घरमा आएर उनका अभिभावकलाई सुनाएपछि पीडितका अभिभावकले दिएको जाहेरी अनुसार सोही दिन विकासलाई प्रहरीले पक्राउ गरेको थियो।
अनुसन्धानका क्रममा पीडकले आफ्नो अपराध स्वीकार गरेका थिए। तर पीडक विकाशको आफ्नो जायजेथा केही नभएको पाइएकाले क्षतिपूर्ति भने सरकारलाई भराउन आदेश दिइएको अदालतका श्रेष्तेदार गोपाल थापाले जानकारी दिए।
अदालतको निरन्तर सुनुवाइपछि अदालतमा दर्ता भएको नौ दिनमै जिल्ला अदालत ताप्लेजुङले शुक्रबार विकासलाई १४ वर्षको जेल सजाय सुनाएको हो। जबरजस्ती करणी ऐनमा पीडकलाई १० देखि १५ वर्ष सम्म जेल सजाय हुने व्यवस्था अनुसार उनलाई १४ वर्षको कैद सजाय सुनाएको हो।
यसैबीच पीडित बालिकाको सम्पूर्ण शिक्षा दिक्षाको व्यवस्था गर्न जिल्ला बाल कल्याण समितिलाई पत्र समेत पठाइ सकिएको जिल्ला न्यायधीश असोककुमार बस्नेतले जानकारी दिए।