भाग्यमानी भक्तिमायाले पाइन् १ करोड ५० लाखको घर
काठमाडौं: 'तपाईलाई घर पयो भनेर कुरो आयो तर विश्वासै लागेन', अन्नपूर्ण पोष्टले शनिबार टुँडिखेलमा गरेको बम्पर लक्की ड्रबाट चितवनको यज्ञपुरी कोलोनीमा बनेको घर आफैंलाई परेको सुनेपछि भक्तिमाया थापाले अन्नपूर्णसँग भनिन्, 'हत्तपत्त छोरालाई सुनाएँ, उसले त हो र मामु होइन होला, आज त अप्रिल फूल हो।
मामु पनि यत्तिकै भनिसिन्छ।' मोबाइलमा फोन बज्दा बनस्थलीस्थित खरीबोटमा डेरा बस्दै आएकी ३९ वर्षीया उनी किनमेलका लागि होहल्लामा थिइन्। आफूलाई अन्नपूर्ण पोष्टको कार्यालय आउनु भनेपछि अलिकति विश्वास लागेको र साँझपख कार्यालयमा आएर ग्राहक नम्बर ११६४६/७३ हेरेपछि विश्वस्त भएको उनको भनाई छ।
भक्तिले मोबाइलबाट छोरालाई फोन गरिन्, 'बाबु, अन्नपूर्ण पोष्टको ओएमजीमा मलाई घर परेको हो रहेछ ।' ट्रिनिटी कलेज डिल्लीबजारमा कक्षा ११ मा विज्ञान विषय अध्ययनरत मिराजले भने, 'मलाई त विश्वासै लाग्या छैन । आज अप्रिल फुल हो नि।' भक्तिले थपिन्, 'ढुक्क होउ बाबु, म कन्फर्म भएँ ।' गतवर्षको माघ १ गतेदेखि ग्राहक बनाउने क्रम सुरु भएर २०७३ माघ १ गते बन्द गर्ने अन्नपूर्ण पोष्टको बम्बर लक्की ड्रको म्याद ग्राहककै अनुरोधमा थपिएको थियो।
जसअनुसार चैत १९ गते शनिबार ११ बजेसम्म ग्राहक बन्ने योजना थियो । थापाले नौ दिन अघि चैत ११ गतेमात्र अन्नपूर्ण पोष्टको ग्राहक बनेकी थिइन्। अन्नपूर्ण पोष्टका प्रबन्धक अनन्त गुरागाईँका अनुसार, एक वर्ष एक महिनाको अवधिमा ८६ हजार ८ सय १४ जनाले अन्नपूर्ण पोष्टको ग्राहक बनेका थिए।
टुँडिखेलमा आयोजित कार्यक्रममा लक्की ड्र बक्समा हालेका झन्डै ८७ हजार कुपनमध्ये अन्नपूर्ण मिडिया नेटवर्कका प्रमुख कार्यकारीअधिकृत सञ्जयचन्द्र बस्नेतले ११६४६ नम्बरको कुपन छनोट गरेका थिए । उक्त नम्बरकी भक्तिलाई चितवनस्थित यज्ञपुरी कोलोनीको १ करोड ५० लाख रुपैयाँको घर (बंगाला) बम्परमा परेको थियो।
नवलपरासीस्थित रकुवा गाविस ८ माइती भएकी भक्तिको घर भरतपुर गाविस २ महोत्तरी हो। ६ वर्षदेखि बालाजुस्थित औद्योगिक क्षेत्रमा कार्यरत उनी गतवर्षदेखि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा चौथो तहमा (कार्यालय सहायक) कार्यरत छिन्।
'अफिसमा अन्नपूर्ण पोष्ट पढ्थें तर सधैं पाइन्नथ्यो', उनले भनिन्, 'छोरोलाई पनि खेलकुद समाचारमा धेरै रुची भएकाले बाहिर गएर पनि अन्नपूर्ण नै हेर्थ्यो। अन्नपूर्ण पढ्दा ग्राहकलाई घरसम्मको अफर पनि देखेकाले दुवैलाई हुने भनेर एक साताअघिमात्र ग्राहक बनेकी थिएँ।'