सडक मर्मत शुल्क ४४ प्रतिशत मात्रै खर्च

सडक मर्मत शुल्क ४४ प्रतिशत मात्रै खर्च

काठमाडौः सरकारले सडक मर्मत तथा सम्भार शीर्षमा विभिन्न निकाय र व्यक्तिबाट अशुल्ने रकमको करिब ४४ प्रतिशत मात्रै सडकमा खर्च गरेको छ । सरकारले सडक मर्मत तथा सम्भारका लागि वार्षिक आठ अर्ब रकम उठाए पनि साढे तीन अर्ब मात्रै खर्च गरेको पाइएको छ । सडक प्रयोग गरेबापत जनताबाट असुल भएको यस्तो रकम सरकारले खर्चै नगरी राज्यको ढुकुटीमा थन्काएर राखेको छ ।

सडक मर्मत तथा सम्भारका लागि आर्थिक वर्ष ०७२/७३ मा मात्रै करिब आठ अर्ब रुपैयाँ संकलन भएको छ । तर, यो वर्ष सडक मर्मत तथा सुधारमा जम्मा तीन अर्ब ५५ करोड रुपैयाँ मात्रै खर्च गरेको छ । यो वर्ष सरकारले सडक मर्मत तथा सम्भारका लागि पाँच अर्ब ३७ लाख रुपैयाँ विनियोजन गरेको थियो । सरकारले सडक मर्मत शुल्क अशुल गर्ने प्रमुख दुई निकाय यातायात व्यवस्था विभाग र नेपाल आयल निगमबाट मात्रै यो रकम अशुल गर्ने गरेको छ ।

सरकारले सडक मर्मतकै नाममा जनताबाट रकम अशुल गर्ने तर सडकमा खर्च नगर्ने गरेका कारण सडकको अवस्था कमजोर हुँदै गएको हो । गत आवमा सडक मर्मत शुल्कको जम्मा ४४ प्रतिशत मात्रै खर्च भएको सम्बन्धित निकायको तथ्यांकले देखाएको छ ।

आर्थिक ऐनअनुसार चार पांग्रे र दुइ पांग्रे सवारीबाट यस्तो शुल्क लिने गरिएको छ । यातायात व्यवस्था विभागले गाडी खरिद गर्दा सर्वसाधारणबाट लागत मूल्यको सात प्रतिशत र मोटरसाइकलबाट न्यूनतम ६ देखि २० हजार रुपैयाँसम्म अशुल गर्ने गरेको छ । नेपाल आयल निगमले एक लिटर पेट्रोल खरिदमा चार रुपैयाँ र डिजेल खरिदमा प्रतिलिटर दुई रुपैयाँका दरले यो शुल्क उठाउने गरेको छ । यस्तो शुल्क आयल निगमले मात्रै वार्षिक तीन अर्ब रुपैयाँसम्म उठाउने गरेको छ । यो शुल्क स्थानीय तहका सडकबाहेकबाट उठ्ने हो ।

सडक मर्मत तथा सम्भारका लागि आर्थिक वर्ष ०७२/७३ मा मात्रै करिब आठ अर्ब रुपैयाँ संकलन भएको छ । तर, यो वर्ष सडक मर्मत तथा सुधारमा जम्मा तीन अर्ब ५५ करोड रुपैयाँ मात्रै खर्च गरेको छ ।

यस्तो शुल्क सवारीसाधान खरिद गर्दा र इन्धन खरिद गर्दा र सडक प्रयोग गर्दासमेत सर्वसाधारणबाट उठाउने गरिएको छ । सडक मर्मत तथा सम्भारको पछिल्लो अवस्था सन्तोषजनक नभएको सडक बोर्ड नेपालका कार्यकारी निर्देशक कृष्ण बस्नेत स्वीकार गर्छन् । सरकारले जुन शीर्षकका लागि रकम संकलन गरेको हो सोही प्रयोजनमा रकम खर्च हुनुपर्ने उनको धारणा छ ।

‘सडक डिभिजन कार्यालयको प्रमुख काम सडकको मर्मतसम्भार गर्नु भए पनि डिभिजनका प्रमुख तथा इन्जिनियर नै नयाँ सडक विस्तारमा लाग्छन् । तर, भएकै सडक मर्मतमा ध्यान दिँदैनन् । यसका कारण सडकको अवस्था बिग्रन गएको बस्नेतको भनाइ छ ।

सडक विभाग आफ्नै ढंगबाट काम गर्ने र त्यसको पनि उत्तरदायित्व बोर्डले नै लिनुपर्दा सडक मर्मत तथा सम्भारमा कमजोरी देखिएको बस्नेतको दाबी छ । सडक विभागले काम गर्ने प्रक्रियामा झन्झटिलो व्यवस्था हुनाका साथै कार्यक्रमको प्रक्रिया टुंगो लगाउनै पुस महिना लाग्नुले पनि सन्तोषजनक काम हुन नसकेको उनको बुझाइ छ ।

मर्मत तथा सम्भार शुल्क आर्थिक वर्ष २०६७/७८ देखि उठाउन सुरु भएको हो । त्यस वर्ष जम्मा सवा दुई अर्ब रुपैयाँ मात्रै संकलन भएको थियो । गत आर्थिक वर्षसम्म आइपुग्दा भने एउटै वर्ष करिब आठ अर्ब रुपैयाँ संकलन भएको छ । चालू आर्थिक वर्षको आठ महिना सात अर्ब रुपैयाँभन्दा बढी रकम सडक मर्मत तथा सम्भारका नाममा जम्मा भइसकेको छ । आगामी वर्ष यो शुल्क करिब ११ अर्ब रुपैयाँ पुग्ने यातायात व्यवस्था विभागको अनुमान छ ।

आव २०७२/७३ सम्म यो शीर्षकमा १६ अर्ब रुपैयाँभन्दा बढी संकलन भइसकेको छ । नेपाल आयल निगमले मात्रै आर्थिक वर्ष २०७०/७१ देखि चालू आर्थिक वर्षको मंसिर मसान्तसम्ममा साढे नौ अर्ब रुपैयाँ सडक दस्तुर संकलन गरिसकेको छ । सरकार आफैं सडक मर्मत तथा सम्भारका लागि जनताले तिरेको रकम गर्न नसक्ने अवस्थामा छ । सवारीसाधनको आयात बढ्दा सवारी आगमनमा असहज हुँदै जानु, समयमा नै सडक मर्मत नहुनु र सरकारले सवारी क्षेत्रलाई अनुत्पादक क्षेत्रभन्दै सवारी कर्जामासमेत कडाइ गर्नु व्यवहारिक नभएको सीजी होल्डिङसका अध्यक्ष अरुण चौधरी बताउँछन् । उनका सरकारले सडक विस्तारमा ध्यान दिन सकेको छैन, वर्षौंदेखि सडकम मर्मत नगर्ने र सवारीसाधनलाई विलासिताका साधन भन्दै आयातमा मात्रै कडा गर्नु तर्कसंगत छैन ।

सडक विभागका योजना महाशाखा प्रमुख गोपाल सिग्देलका अनुसार सरकारले हरेक वर्ष उठाउने यस्तो रकम सम्बन्धित शीर्षक खर्च गर्न सकेको छैन । सरकारले सडकमा गाडी गुडाएबापत, गाडी आयात गर्दा, नामसारी गर्दा, इन्धन प्रयोगसहित शुल्क असुल्ने गरेको छ । यातायात क्षेत्रमै खर्च गर्न लिएको शुल्क भए पनि अर्थले खर्च गर्न नदिने सिग्देलको दाबी छ । उनका अनुसार एक वर्षमा आठ अर्ब उठे पनि अर्थले तीनदेखि साढे तीन अर्ब रुपैयाँ मात्रै दिएको छ ।

यही रकमबाट देशभरका १५ हजार किलोमिटर सडकको मर्मत गर्नुपर्छ । यो रकमबाट हुने काम कनिका छरेजस्तो मात्रै हुने उनको बुझाइ छ । कम्तीमा तीनदेखि चार वर्षको समय लगाएर सडक मर्मत गरेर तोकिएको स्तरमा पुर्‍याउनुपर्ने हुन्छ । यसका लागि अहिले नै वार्षिक आठदेखि नौ अर्ब लाग्छ । सरकारले सडक मर्मतका नाममा उठेको सबै रकम यही काममा प्रयोग गर्न दिने हो भने समयमा नै मर्मत गर्न सकिने सिग्देलको भनाइ छ । सडक मर्मतबाट उठ्ने रकम आधा पनि अर्थले नदिने भएकै कारण मर्मतमा सन्तोषजनक अवस्था नदेखिएको सडक विभागको भनाइ छ ।

 

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.