सिलाइकटाइ पेसामा महिलाको आकर्षण

सिलाइकटाइ पेसामा महिलाको आकर्षण

मुसीकोट : बाफिकोट गाउँपालिका-१०, रुकुमकी मनीषा बुढाले सात वर्षअघि सिलाइकटाइ सिक्न सदरमुकाम खलंगा जान्छु भन्दा उनको परिवारले सहजै स्वीकार गरेन । तर पनि उनले सदरमुकाममा आएर तीन महिनाको तालिम लिएरै छाडिन् र आफ्नै लगानीमा व्यवसायसमेत सुरु गरिन् । त्यो बेला कथित 'दमाई' जातिले मात्र कपडा सिलाउनुपर्छ भन्ने गलत मान्यताका कारण उनलाई 'जात फालेको' भनेर आरोप लाग्यो ।

त्यसयता यहाँसम्म आइपुग्दा समय बदलिसकेको छ । अहिले भने मनीषासँगै अरु धेरै महिला पनि सदरमुकाम खलंगा र आसपासका बजारमा सिलाइकटाइ व्यवसाय गरेर आनन्दको जीवन बिताइरहेका छन् । दमाई जाति त्यसमा पनि पुरुषले मात्रै कल चलाउनुपर्छ भन्ने मान्यतालाई चिर्दै अहिले यो पेसा रुकुमका धेरै महिलाको आयआर्जनको स्रोत बनेको छ ।

पहिले पुरुषले मात्रै व्यावसायिक रूपमा गर्ने गरेको सिलाइकटाइ व्यवसाय अहिले विभिन्न जाति र थरका महिलाले व्यवसायका रूपमा यो पेसालाई अंगालेपछि धेरै महिला पनि अहिले स्वरोजगार बनेका छन् । हाल रुकुम सदरमुकाममा मात्रै झन्डै एक दर्जनभन्दा बढी सिलाइकटाइ र सर्टिङ-सुटिङ सेन्टर नै बनाएर महिलाले व्यवस्थित व्यवसाय गरिहेका छन् ।

बाफिकोट-१० कै पुष्पाञ्जली बुढा मगरले पनि प्रमाणपत्र तहको अध्ययन गाउँकै विद्यालयबाट सकेपछि स्नातक तहको अध्ययन गर्दै यो सिप सिक्न भनेर सदरमुकाम खलंगा आएको एक वर्ष भयो । उनी सुरुदेखि मनीषाकै पसलमा बसेर सिप सिकेपछि अहिले भने उनी यो सिपमा निपूर्ण भइसकेकी छिन् । एक वर्षमा राम्रो आम्दनी गरेको बताउँदै पुष्पाञ्जलीले आगामी दिनमा पनि यही व्यवसायमा लाग्ने बताइन् । अहिले मनीषा र पुष्पाञ्जलीले संयुक्त रूपमा सदरमुकाम खलंगाको बिच बजारमा 'प्रतिक्षा टेलर' खोलेर व्यवसाय गरिरहेका छन् । यी दुवैले यस पेसाबाट आफ्नो दैनिकी चलाएर बचेको रकम स्थानीय सहकारी संस्थामा बचत गर्न थालेका छन् ।

सुरुका दिनमा गैरदलित त्यो पनि महिलाले कपडा सिलाइको कामलाई मूल पेसाका रूपमा अंगालेर बस्न सक्छ भन्ने उदाहरण देखाएकी मनीषाले सदरमुकामको आफ्नो व्यवसायबाट हाल सरदर मासिक १० देखि १४ हजारसम्म बचत गर्ने बताइन् । सिजनका बेला भने उनको आम्दानी बढेर झन्डै दोब्बर हुन्छ । मनीषा भन्छिन्, 'काम कुनै पनि सानो-ठूलो हुँदैन । त्यही हो आफूले आफ्नो कर्म पूरा गर्न सक्नुपर्छ । म आफ्नो पेसादेखि सन्तुष्ट छु ।'

पुष्पाञ्जली र मनीषा त प्रतिनिधि पात्र मात्र हुन् । अरु पनि यस्ता धेरै महिला छन् जो स्वरोजगार हुनका लागि पहिलो रोजाइ नै सिलाइकटाइ बनेको छ । सिस्ने गाउँपालिका-३, पोखराकी तिलकुमारी नेपालीले आफ्ना दाइबाट तीन महिना कपडा सिलाउन सिकेपछि अहिले गाउँमै व्यवसाय थालेर आफू र परिवारको दैनिक आवश्यकता सजिलै समाधान गरिहेकी छिन् । विशेष गरी विद्यालयका पोसाक सिलाउन पारंगत रहेकी तिलकुमारीले मासिक ८ देखि १० हजारसम्मको आम्दानी गरिरहेको बताइन् । त्यस्तै सदरमुकाममै पसल सञ्चालन गरेर मुसिकोट नगरपालिका-१ स्यालापाखाकी सीता पुन, बाफिकोट-४ की भावना पुन र बाफिकोट-१० की दीपा चन्दको सिलाइ सेन्टर जिल्लामा चर्चित पसल हो । यी तीनै जनाले आफ्नो व्यवसायबाट राम्रो आम्दनी गरिरहेको बताए ।

केहीले जिल्लामा क्रियाशील गैरसकारी संस्थाको आर्थिक सहयोगमा र केहीले आफ्नै रुचिले व्यक्तिगत लगानीमा कपडा सिलाउन सिकेर सहज ढंगले जीविकोपार्जन गरिरहेका छन् । यी महिला आफू मात्र सिक्दैनन् अरुलाई पनि यो पेसामा सम्भावना रहेको भन्दै आकर्षित गरिरहेका छन् । विगत चार वर्षदेखि सदरमुकाममै सिलाइ पसल सञ्चालन गरिरहेकी आठबिसकोट नगरपालिका-२ की राममाया कुसारी भन्छिन्, 'गर्न सके यो पेसामा राम्रो सम्भावना छ । महिलाका लागि त सजिलो पनि छ ।'




प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.