ट्याक्सी नम्बर वितरणमा अन्योल
काठमाडौः सरकारले विनाशकारी भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका नागकिरलाई वितरण गर्न लागेको ट्याक्सी नम्बरमा अन्योल सिर्जना भएको छ । भूकम्पपीडितका लागि एक हजार पाँच सयवटा ट्याक्सी वितरण गर्न गत साउन ५ देखि २ भदौसम्म फारम भराएको थियो । फारम भरेको करिब ९ महिनापछि गर्न लागेको गोला प्रथा कार्यक्रम पनि नहुने भएको छ ।
चैत २६ गते गोला प्रथा गरेर ट्याक्सी नम्बर वितरण गर्ने तयारी गरे पनि स्थानीय निकाय निर्वाचन आचार संहिताका कारण पछि सार्ने तयारी भएको यातायात व्यवस्था विभाग महानिर्देशक रूपनारायण भण्डारीले जानकारी दिए । उनका अनुसार चैत २६ गते गोला प्रथा हुन नसकेको अवस्थामा स्थानीय निकायको निर्वाचनपछि समय तय र गरेर वितरण हुनेछ । ‘१४ जिल्लाका करिब डेढ लाखले ट्याक्सी नम्बर प्लेटका लागि आवेदन दिएका छन्', उनले भने, ‘गोला प्रथाका लागि सबै तयार भएको अवस्थामा स्थानीय निकायको निर्वाचन बाधक बनेको हो ।'
सरकारी काम गराइको शैलीका कारण फारम भरेर बसेका आम नागरिकसमेत अन्योलमा छन् । पीडितलाई वितरण हुने ट्याक्सी पाउन सरकारले दिएको दुःख प्राकृति प्रकोपमा पाएको दुःखभन्दा बढी भएको फारम भरेर बसेको काठमाडौंका विष्णुकुमार बस्नेतले अन्नपूर्णसँग बताए । ‘दुई वर्ष अगाडिको भूकम्पले सम्पति गुमाउनु परेको पीडा त छँदैछ', उनले भने, ‘त्योभन्दा पनि विभिन्न कारण देखाउँदै सरकारले ट्याक्सी नम्बर वितरणमा पटटपटक मिति सार्दा अझै बढी सास्ती बेहोर्नु परेको छ ।'
दोलखाका खेसाङ दोर्जे लामाले पनि ट्याक्सी गुडाउने आशा हराउन थालेको बताए । ट्याक्सी चलाएर नै परिवारको आर्थिकस्थिति सुधार गर्ने इच्छा विस्तारै सेलाउँदै गएको उनको भनाइ छ ।