ब्लास्ट रोगले सयौं हेक्टरको धानबाली नष्ट
थानसिङ (नुवाकोट) : रोपिएको धानमा रोग लागेपछि नुवाकोटका किसान समस्यामा परेका छन् । चैतेधान रोपिएको एक महिनामै ब्लास्ट रोग देखा परेपछि हजारौं किसान मर्कामा परेका हुन् ।नुवाकोटको पूर्वी भेगको सयौं हेक्टर जमिनमा लगाइएको चैतेधानमा ब्लास्ट रोग लागेकाले कृषि विकास कार्यालय नुवाकोटका प्राविधिक धानखेतमै पुगेर निरीक्षण गरी किसानलाई परामर्श दिइरहेका छन् । धानबाली निरीक्षण गर्दै समयमै रोगको निरुपण गर्न कृषि कार्यालय प्रमुख डा. कमलराज गैरेले आग्रह गरे ।
पहाडी संरचना रहेको नुवाकोटमा चैतेधान उत्पादनका लागि पकेट क्षेत्र थानसिंङ, सूर्यमती, चौघडा, खानीगाँउ, कल्याणपुरलगायत क्षेत्रमा किसानले लगाएको चैतेधानमा ब्लास्ट रोगको संक्रमण फैलिएका कारण किसानलाई समयमै उपचार गरी धानको हेरचाह गर्न वरिष्ठ कृषि विकास अधिकृत गैरेले आग्रह गरे । चैतेधान रोपेको एक महिना हुन नपाउँदै धानको पातमा टिका पर्ने, गुबो खुइलिएर खैरो, सेतो हुँदै बोट नै मर्ने गरेको थानसिङका किसान गोपालप्रसाद सिलवालले दुःखेसो गरे ।
ब्लास्ट रोगले धानको बोट नै मर्न थालेकाले कृषि विकास कार्यालय नुवाकोट र क्षेत्रीय बाली संरक्षक प्रयोगशालाबाट आएका प्राविधिकले स्थलगत अध्ययन सुरु गरेको कृषि कार्यालय नुवाकोटका प्रमुख गैरेले बताए । मुख्य रूपमा ताइचिन जातको धानमा ब्लास्ट रोग लागेको उनले बताए ।
विशेष गरी ताइचिन र कञ्चना जातको धानको बिउ लगाइएको ठाउँमा महामारीका रूपमा ब्याडमार्फत रोग फैलिएको उनले बताए । ताइचिन र कञ्चना जातको धानको बिउले रोगसँग प्रतिरोध गर्न सक्ने क्षमता गुमाइसकेकाले नलगाउन आग्रह गर्दै आए पनि किसानले जिद्धि गरी लगाउँदा ब्लास्ट रोग महामारीको रूपमा फैलिएको उनले बताए ।
गत वर्ष ढिला गरी देखा परेको रोग यस वर्ष रोपिएको एक महिनामै देखिएकाले समयमै उपचार गरी नियन्त्रणमा लिएर सम्पूर्ण रोपो नष्ट हुनबाट बचाउन किसान सचेत हुनुपर्ने उनले बताए । रोग लागेको स्थानमा नुवाकोट र क्षेत्रीय बाली संरक्षक प्रयोगशालाबाट आएका प्राविधिकमार्फत नियन्त्रणको प्रयास सुरु गरेको र किसानले कासु बी, सितारा, एवोन विषादीलाई पानीमा मिसाएर भिज्ने गरी छर्केर नियन्त्रणमा लिन जिल्ला कृषि विकास कार्यालय नुवाकोटका वरिष्ठ कृषि विकास अधिकृत गैरेले आग्रह गरे ।
नेपाल सरकारले ताइचिन र कञ्चना जातको धानमा अत्यधिक रोगको प्रकोप देखिएपछि त्यसलाई विस्थापित गरे पनि किसानले चिउराका लागि राम्रो हुने भन्दै लगाउँदा तादी, लिखु र सामरी नदी किनारमा रहेका खेतमा रोगको संक्रमण महामारीको रूपमा फैलिएको हो । कृषि अनुसन्धान परिषद्ले विस्थापित गरिसकेको धान भएकाले ताइचिन र कञ्चना जातको धान नलगाउन र लगाउनै परे बेभिस्टिन विषादीमार्फत बिउको उपचार गरेर मात्र लगाउन जिल्ला कृषि विकास कार्यालय नुवाकोटका वरिष्ठ कृषि विकास अधिकृत गैरेले आग्रह गरे ।
धानमा ब्लास्ट रोग लागेपछि यसले रोपेको धान सखापै बनाउने गरी नष्ट गर्दै जाने भएकाले किसानले समयमै उपचार गरी सजगता अपनाउन सके नियन्त्रणमा लिन सकिने बाली संरक्षक प्रयोगशालाका प्राविधिकले बताए । रोग लागेको क्षेत्रमा हाल जाँच तथा परीक्षणको लागि प्राविधिक परिचालन गरी रोग नियन्त्रणमा लिने काम जारी रहेकाले एक स्थानमा लागेको रोगलाई अन्यत्र फैलन नदिन कृषि विकास कार्यालय नुवाकोटले आग्रह गरेको छ ।
जिल्लाको मुख्य धानबाली चैतेधान पर्याप्त सिँचाइ भएको सबै क्षेत्रमा हुने भए पनि तल्लो क्षेत्रमा मात्र लगाइँदै आएको छ । नुवाकोटमा १५ हजार हेक्टर क्षेत्रफलमा धानखेती लगाउने गरिएकोमा पाँच हजार हेक्टर क्षेत्रफलमा चैतेधान मात्र रोपिने गरिएको छ ।