प्रधानसम्पादक घिमिरेलाई पुरस्कार
पोखराः अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकका प्रधान सम्पादक युवराज घिमिरेलाई कीर्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । सूर्यप्रेम बहुउद्देश्यीय ट्रस्टद्वारा स्थापित र नेपाल पत्रकार महासंघ कास्की शाखाद्वारा सञ्चालित उक्त पुरस्कार प्रधान सम्पादक घिमिरेलाई शनिबार पोखरामा प्रदान गरिएको हो।
ट्रस्टका संस्थापक तथा उद्यमी सूर्यबहादुर केसीले प्रधान सम्पादक घिमिरेलाई सम्मानपत्रसहित १ लाख ११ हजार १ सय ११ रुपैयाँको उक्त पुरस्कार प्रदान गरे । ३० वर्षभन्दा लामो समयदेखि निर्भीक र स्वतन्त्र पत्रकारिता गरेबापत घिमिरेलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको छनोट समितिका संयोजक बद्रीविनोद प्रतीकले बताए ।
हरेक वर्ष राष्ट्रिय स्तरको पुरस्कार सञ्चालनका लागि सूर्यप्रेम बहुउद्देश्यीय समाजसेवा ट्रस्टले नेपाल पत्रकार महासंघ कास्कीका नाममा ११ लाख ११ हजार एक सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरेपछि यसै वर्षदेखि पत्रकारिता पुरस्कार प्रदान गर्न थालिएको हो ।
पुरस्कृत भएपछि प्रधान सम्पादक घिमिरेले नेपालका महत्ववपूर्ण निर्णयमा जनताको संलग्नता हुनुपर्छ भनेर पत्रकारिताका माध्यमबाट आवाज उठाइरहेको बताए । नोमचोम्स्कीले भनेजस्तै मिडिया मात्रै नभई नेपालमा बौद्धिक व्यक्तित्वको माइन्ड र मुभमेन्टमाथि पनि बाह्य नियन्त्रण रहेको धारणा घिमिरेले व्यक्त गरे । ‘प्रजातन्त्रमा जनताको निर्णयको अधिकार सर्वाेपरि हुन्छ तर २०६३ यता जनताका नाममा आधा दर्जन नेताले मात्रै महत्ववपूर्ण निर्णय लिने गरेका छन्', उनले भने, ‘अधिकांश निर्णयमा विदेशी अनुमोदन लिने गरिएको छ ।
त्यसले नेपालको सार्वभौमसत्ता र प्रजातन्त्रमा अन्तरनिहित सबै मूल्यमान्यतालाई समाप्त पारेको छ ।' घिमिरेले प्रक्रियासम्मत तरिकाबाट निर्णय लिने जनताको अधिकारलाई नेताहरूले सम्मान नगरेसम्म ६३ यता ल्याइएका परिवर्तनले संस्थागत स्वरूप लिन नसक्ने पनि बताए ।