संविधान संशोधनको टुंगो भोलिसम्म लाग्छः प्रधानमन्त्री प्रचण्ड
काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनको टुंगो भोलिसम्म लाग्ने बताएका छन्।
आइतबार बिहान सिंहदरबारमा मधेसी जातीय समन्वय समाजको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले संविधान संशोधनका विषयमा आफूहले पहल गरिरहेको र भोलिसम्म यसबारे टुंगो लाग्ने बताएका हुन्।
संविधान संशोधनका लागि सत्तापक्षको मात्रै दुई तिहाई नपुग्ने प्रष्टाउँदै प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्ष दल एमालेसँग समेत छलफल गरेर सहमति जुटाउने प्रयास भइरहेको बताए। उनले देशलाई अतिवादमा जान नदिन परिवर्तनकारीहरु मिल्नुको विकल्प नभएको बताए।
उनले वैशाख ३१ गते स्थानीय निकायको चुनाव शान्तिपूर्ण वातावरणमा हुने दाबीसमेत गरे। अहिले सिंगो मुलुक निर्वाचनमय भइसकेको बताउँदै प्रधानमन्त्री प्रचण्डले मधेसी मोर्चासँग समेत सहमति बनाएर चुनाव गर्ने प्रयासमा आफू निरन्तर लागि परेको बताए।
भेटमा मधेसी जातीय समन्वय समाजले संविधान संशोधन गरेर मात्र चुनावमा जानुपर्ने माग राख्दै प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाएको थियो।