म्यादी प्रहरीमा माग भन्दा चारगुणा बढी आवेदन
सिन्धुलीः आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि मतदान स्थलमा परिचालन गर्न खटाइने म्यादी प्रहरीका लागि सिन्धुलीमा मागेको भन्दा झण्डै चारगुणबढीको आवेदन परेको छ ।
जिल्लामा ९ सय ९७ जना म्यादी प्रहरी भर्ना गर्न आबेदन खुल्ला गरिएको भएपनि त्यसको झण्डै चारगुणाबढी तीन हजार २ सय २३ जनाको आवेदन परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
थोरै समय भएपनि राम्रै पैसा पाउने भएपछि भर्नाका लागि आवेदन दिनेको संख्यामा वृद्धि भएको हो । गत संविधानसभाको दुइवटै निर्वाचनका लागि म्यादी प्रहरी खोजेर भर्ना गर्नु परेको भएपनि जिल्लामा यस पटकभने जिल्लाबासीको आकर्षण बढेको पाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सुवासचन्द्र बोहोराले जानकारी दिए ।
दोस्रो संविधान सभाको निर्वाचनमा जिल्लामा जम्मा पाँच सय दरबन्दीका लागि म्यादी प्रहरीको माग भएको थियो । त्यसबेला सुरक्षाको डरले आवेदन दिनेहरुको संख्या निक्कै कमी भएपछि प्रहरीले खोजेर कोटा पुरा गरेको थियो।
‘तर, यसपटक भने मागेको भन्दा धेरै संख्यामा आवेदन परेपछि छनौटमै समस्या भएको छ,' उनले भने । प्रहरीका अनुसार जिल्लामा म्यादी प्रहरीका लागि आफ्नो मान्छे छनौट गरिदिन प्रहरीकै माथिल्लो दर्जाका देखि जिल्लामा ठुला राजनीतिक दलका नेताहरुले समेत सोर्स लगाएका छन् ।तर, म्यादी प्रहरीका लागि आवेदन धेरै परेपछि योग्य र इमान्दारको छनौटका लागि प्रहरीले नेपाल प्रहरीमा जागिर खान आवश्यक सम्पूर्ण प्रक्रियालाई अवलम्बन गरेर निश्पक्ष छनौट प्रक्रिया अघि बढाइएको बोहोराको भनाइ छ ।
‘सबैजनालाई जागीर खान मन छ । सबैले ज्यान छाडेर छनौट प्रक्रियामा सहभागी जनाएका छन् । उनिहरुबाट योग्यलाई छनौट गर्न विभिन्न प्रक्रिया अपनाइएको हो,' उनले थपे ।प्रहरीले रानिङ, सेटअप, पुसअप, मेडिकल जाँच, लिखित परीक्षा र मौखिक परीक्षा उतिर्ण हुनुपर्ने व्यवस्था गरेको छ । यस पटक महिलाहरुको सहभागिता पनि उत्तिकै रहेको पाइएको छ ।
महिला र पुरुष दुबैका लागि आइतबारबाट मेडिकल चाँज, शारिरिक अभ्यासदेखि लिखित र मौखिक परीक्षा लिन सुरु गरेको छ । परीक्षा १०० पुर्णङको हुने र कम्तीमा ४० अंक ल्याउने मात्र उतिर्ण हुने बताइएको छ ।
जिल्लाका लागि ९ सय ९७ वटा कोटामा भर्ना लिइएपनि थप १ सय ४५ जनालाई बैकल्पिक छनौट गरिने बताइएको छ । निर्वाचनमा शान्ति शुरक्षाको पनि चुनौती कम भएको र झण्डै डेढ महिनामा ३० हजार रुपैयाँबढी पैसा पाउने भएपछि जिल्लामा युवा युवतीको सहभागिता राम्रो रहेको पाइएको छ ।