फलेवास नगरपालिकामा तालाबन्दी
कुश्मा । स्थानीय तहको निर्वाचनको खारेजीको माग गर्दै आएको विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पर्वतको फलेवास नगरपालिकामा तालाबन्दी गरेको छ ।
स्थानीय निर्वाचनको औचित्य नभएको भन्दै खारेज गर्न माग गर्दै नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको हो । विप्लब माअोवादीका कार्यकर्ताहरुले ताला लगाउँदै पोष्टर समेत टाँस गरेका थिए । कार्यालयको ढोकामा नेपाल कम्युनिष्ट पार्टीको नाम उल्लेख भएको निर्वाचन बहिष्कारको पोष्टर समेत टाँसेको हो।
नेपालमा संघीयता आवश्यक नभएको र सरकारले घोषणा गरेको स्थानीय तहको चुनाव अमान्य भएको भन्दै आफ्नो पार्टीले सांकेतिक रुपमा फलेवास नगरपालिकामा तालाबन्दी गरेको नेपाल कम्युनिष्ट पार्टी पर्वतका सेक्रेटरी हिमाल पुनले जानकारी दिए । राज्यले एकतर्फी रुपमा संविधान घोषणा गरी जनताका इच्छा र चाहाना विपरितका गतिविधिहरु संचालन गरेको भन्दै स्थानीय चुनावको प्रतिकार गर्ने समेत उनले चेतावनी दिए।
कार्यालयमा ताबन्दी गरिएका कारण सेवाग्राहीहरु मर्कामा परेका छन् । कर्मचारीहरुले नियमित रुपमा काम गर्न नपाएको गुनासो गरेका छन् ।