मोर्चालाई बाहिर राखेर चुनावमा गए मधेसमा विखण्डनको बीउ रोपिन्छः कोइराला
वीरगन्जः नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले स्थानीय तहको निर्वाचन निर्धारित मितिमै हुने दाबी गरेका छन्।
नेपाल प्रेस युनियन पर्साले प्रेस युनियन पर्साका पूर्व अध्यक्ष स्वर्गीय काशीनाथ यादवको निधनमा आइतवार वीरगन्जमा आयोजना गरेको शोकसभामा बोल्दै कोइरालाले मधेसी मोर्चाको सहमतिमै स्थानीय तहको निर्वाचन गर्नुपर्नेमा जोड दिए।
अहिले दुई नम्बर प्रदेशलाई छाडेर अरु ६ वटा प्रदेशमा मात्र चुनाव गर्ने हल्ला पनि सुनिएको भन्दै उनले भने,‘यदि प्रदेश नम्बर २ लाई छाडेर अरु प्रदेशमा चुनाव गरियो भने मधेसमा विखण्डनको खतरा आउन सक्छ। मधेसी मोर्चालाई बाहिर राखेर चुनावमा गइयो भने मधेसमै रहेका अतिवादी शक्तिहरु हावी हुन्छन्। जसले गर्दा मुलुकमा झन् ठूलो संकट आउन सक्छ त्यसैले जसरी हुन्छ मधेसी मोर्चालाई सम्झाएर बुझाएर अगाडि बढनु पर्छ।’
एमालेको उग्रराष्ट्रवादले मधेसमा विद्रोहको आगो थपिँदै गएको भन्दै कोइरालाले काठमाडौंका केही नखेताहरुले मधेसीको राष्ट्रियतामाथि शंका गर्ने प्रवृति एकदमै घातक भएको टिप्पणी गरे। मधेसमा अहिलेको संघर्ष पहिचान, पहुच र प्रतिनिधित्वका लागि नै भएको भन्दै उनले मधेसका मुद्दाप्रति काँग्रेस सदैव सकरात्मक रहेको जिकिर गरे ।
हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउने सवालमा आफ्नो विमती रहेको भन्दै कोइरालाले राष्ट्रिय सभामा जनसंख्याको आधारमा प्रतिनिधत्व हुनुपर्नेमा जोड दिए।