हिरासतभित्रै प्रहरी र आन्दोलनकारीबीच धकेला धकेल
काठमाडौं: नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईसहितका नेताहरुलाई हिरासतबाट बाहिर निकाल्न खोज्दा महेन्द्र पुलिस क्लवमा प्रहरी र आन्दोलनकारी वीच धकेला धकेल भएको छ । दुई पक्षीय झडप रोकेर पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले गृहमन्त्री बिमलेन्द्र निधिसँग टेलिफोन वार्ता गरेका छन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल सम्पर्कमा नआएपछि गृहमन्त्री निधिसँग भट्टराईले टेलिफोन वार्ता गरेको उनका स्वकीय सचिव बिश्वदीप पाण्डेले जानकारी दिए । पाण्डेले भने ‘बाघलाई झम्टिए जस्तो गरी बाबुराम सर लगायतका सबैलाई हात हालाहाल गरेर निकाल्दै थिए । झडप रोकेर बाबुरामले प्रधानमन्त्रीलाई फोन गर्नु भयो तर उहाँ सम्पर्कमा आउन चाहनु भएन,त्यसपछि गृहमन्त्रीसँग कुरा गर्नुभयो’पाण्डेले भने ‘केहिलाई कुटपिट गरेर घाइते बनाइएको छ ।’
नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले आफनो पार्टीले आँखा चुनाव चिन्ह नपाएसम्म प्रहरी हिरासत नछोडने घोषणा गरेका छन् । प्रहरीले भट्टराईलाई रिहा गर्न चाहेपनि उनी अहिले प्रहरी हिरासतमै छन्। बाबुराम भट्टराईसँगै पुलिस क्लवमा रहेका उनका स्वकिय सचिव बिश्वदीप पाण्डेले भने ,‘प्रहरीले तपाईहरु घर जानु परयो भनेर अनुरोध गरेपछि बाबुराम सरले गृहमन्त्री बिमलेन्द्र निधिलाई फोन गरेर हाम्रो चुनाव चिन्ह प्राप्तिको माग पूरा नभएसम्म हामी निस्कदैनौ ,हाम्रो धर्ना जारी रहन्छ । अव तपाईहको नियम कानुनले जे भन्छ तपाईहरु त्यहि गर्नुस तर हामी नेपाल पुलिस क्लवबाट निस्कनेवाला छैनौ भन्नुभयो ।’
प्रहरी हिरासतमा नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेल, सांसद गंगा चौधरीलगायतका नेताहरु छन् । हिरासतमा रहेका नेतालाई भेटन नयाँ शक्तिकी नेतृ तथा नायिका करिष्मा मानन्धर र क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्यलगायतका नेताहरु पुगेका छन्।संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरु भट्टराई भेटन प्रहरी हिरासतमा पुगेर उनको माग प्रति ऐक्यबद्धता जनाएका छन्।
भट्टराईले आफनो पार्टीका नेता तथा कार्यकर्तालाई सोमबार निर्वाचन आयोगको काठमाडौं कार्यालयमा धर्ना दिनका लागि अनामनगरस्थित हनुमानथानमा बोलाएका छन्। दलहरुले दलीय पहिचानको आधारमा चुनाव चिन्ह पाउने नेपालको संविधानको धारा २६९ (७) (७१) मा भएको व्यवस्था विपरित स्थानीय तह निर्वाचन ऐन ०७३ ले नयाँ दलहरुलाई दलीय चुनाव चिन्हबाट बञ्चित गराएको भन्दै भट्टराईको नेतृत्वमा निर्वाचन आयोगमा धर्ना दिन पुगेका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरी प्रदर्शनीमाग स्थित महेन्द्र पुलिस क्लवमा राखेको छ। हिरासतमा परशुराम तामाङ, रामकुमार शर्मालगायत करिब ४० जना नेता तथा कार्यकर्ता रहेका छन्।