'बाघले बाख्रा झम्टिए जसरी समातेर हामीलाई बाहिर निकालियो'
काठमाडौंः नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले आफूहरुलाई अपमानजनक तरिकाले गिरफ्तार गरिएको आरोप लगाएका छन्।
आइतबार दिउँसो निर्वाचन आयोग अगाडि शान्तिपूर्ण धर्नामा बसेका ६७ दलका नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले अपमानजनक रुपमा नियन्त्रणमा लिएर दुव्र्यवहार गरेको आरोप भट्टराईको छ। प्रहरीले रिहा गरेपछि नेपाल पुलिस क्लबबाहिर पत्रकार सम्मेलन गरी भट्टराईले सरकारले मण्डलेतन्त्रको पुनरावृत्ति गरेको आरोप लगाए।
उनले भने,‘हामीलाई के कारणले यहाँ ल्याइयो र के कारणले घर जाऊँ भनेर भनियो यसको जवाफ दिनुपर्छ भनेर मैले गृहमन्त्री विमलेन्द्र निधिलाई सोधेको थिए। उहाँले घर जानुस् भनेर भन्नुभयो। सरकारको यस्तो कार्यले विधिको शासन र लोकतन्त्रको उपहास गरेको छ।’ उनले आफूहरुलाई के कति कारणले पक्राउ गरेर हिरासतमा राखियो भन्नेबारे सरकारले जवाफ दिनु पर्ने बताए।
उनले पूर्वप्रधानमन्त्री, पूर्व मन्त्री ,सांसद लगायत व्यक्तिमाथि प्रहरीले दुर्ब्यवहार गरेको आरोप लगाए। उनले भने,‘हामीलाई बाघले बाख्रा झम्टे जसरी समातेर बाहिर निकालियो। यो मण्डलेतन्त्रको व्यवहार हो।’
उनले प्रतिगमन डरलाग्दो रुपमा फर्केको आरोप पनि लगाए। उनले निर्वाचन आयोगले आफूहरुलाई चुनाव चिन्ह आँखा नदिएसम्म आन्दोलन जारी राख्ने बताए।
संसद बाहिरका दलको अस्थित्व समाप्त पार्न खोजियो
निर्वाचन आयोगले षड्यन्त्रपूर्वक संसदमा नरहेका दलहरुलाई चुनाव चिन्ह नदिने गरी निर्वाचन नियमावली बनाएको भन्दै उनले आक्रोश पोखे। भट्टराईले प्रहरीले अपमानजनक तरिकाले हिरासतबाट बाहिर निकालेको आरोप समेत लगाए।
भट्टराईले षडयन्त्रपूर्वक संसद बाहिर रहेका ६७ दलको अस्थित्व नै समाप्त पार्न खोजिएको आरोप लगाए। कार्यक्रममा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले मुलुक प्रतिगमनतिर गइरहेको आरोप लगाए। उनले मुलुकलाई प्रतिगमनतिर जानबाट रोक्न सवै एकजुट हुनु पर्ने बताए।