महासंघमा दुई समूह भीड्दै

महासंघमा दुई समूह भीड्दै

काठमाडौः नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा शेखर गोल्छा समूहले उम्मेदवारी दर्ता गरेको छ । महासंघको सचिवालय टेकुमा आइतबार वरिष्ठ उपाध्यक्षसहित तीन उपाध्यक्ष, कोषाध्यक्ष र सदस्यले उम्मेदवारी दर्ता गराएका छन् । वरिष्ठ उपाध्यक्षका प्रत्यासी गोल्छाको समूहमा जिल्ला/नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, एसोसिएट उपाध्यक्षमा चन्द्र ढकाल र वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ छन् । कोषाध्यक्षमा ज्ञानेन्द्रलाल प्रधानको उम्मेदवारी छ । महासंघको इतिहासमा पहिलो पटक कोषाध्यक्ष पदको व्यवस्था गरिएको हो । कोषाध्यक्ष हुन पहिला कार्यकारिणी सदस्यमा निर्वाचित हुनैपर्छ ।

महासंघको संशोधित विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था गरिएको छ । विधानत हाल वरिष्ठ उपाध्यक्ष रहेकी भवानी राणा स्वतःअध्यक्ष बन्दैछन् । यस पटकको महाधिवेशनले वरिष्ठ उपाध्यक्षसहित त्यसभन्दा तलका सबै पदमा निर्वाचन गर्नेछ । यसका लागि दुई समूह चुनावी मैदानमा उत्रिएका छन् । गोल्छा समूहले आइतबार उम्मेदवारी दर्ता गरे पनि घोषणा मंगलबार गर्ने भएको छ । किशोर प्रधान समूहले आइतबार उम्मेदवारी घोषणा गरेर सोमबार उम्मेदवारी दर्ता गर्दैछ ।

एसोसिएटतर्फ उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने बताउँदै आएका सौरभ ज्योति ब्याक भएका छन् । उनले एसोसिएट उपाध्यक्षमा चन्द्र ढकाललाई सघाउने घोषणा गरेका छन् । उनले गोल्छा समूहबाटै एसोसिएट सदस्यमा आफ्नो उम्मेदवारी दर्ता गरेका छन् । अहिले पनि उनी एसोसिएटतर्फबाट कार्यकारिणी समिति सदस्य हुन् । उनले महासंघमा राजस्व समिति सभापतिको भूमिका निर्वाह गरिरहेका छन् । महासंघलाई एकताबद्ध बनाएर अगाडि बढाउन उपाध्यक्ष पदबाट ब्याक भएको उनले बताए ।

वरिष्ठ उपाध्यक्षका प्रत्यासी गोल्छा वर्तमान कार्यसमितिमा एसोसोसिएट उपाध्यक्ष छन् । उनी मुलुककै पुरानो व्यावसायिक घराना गोल्छा अर्गनाइजेसनका कार्यकारी निर्देशक पनि हुन् । एक दशकअघि महासंघको राजनीतिमा होमिएका उनले महासंघको बैंक तथा बिमा समिति, श्रम समितिको सभापति भएर जिम्मेवारी निभाएका छन् । उनले उम्मेदवारी दर्ता गरेपछि महासंघलाई सबैको साझा र सुदृढ संस्थाका रूपमा अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् ।

यसअघि कार्पेट व्यवसायी अनुपबहादुर मल्लले वस्तुगत उपाध्यक्षको दाबीसहित ११ सदस्य भएको प्यानल घोषणा गरेका थिए । उनको प्यानलका अधिकांश सदस्य तितरवितर भइसकेका छन् । वस्तुगत उपाध्यक्षमा उनको उम्मेदवारी पर्ने सम्भावना निकै कम देखिएको छ ।

महासंघमा एसोसिएटतर्फ १९ जना, वस्तुगततर्फ १४ जना, द्विराष्ट्रियतर्फ एकजना कार्यकारिणी सदस्य रहने व्यवस्था छ । जिल्ला/नगरका उद्योग वाणिज्य संघले खुल्लातर्फ निर्वाचित गरेका १८ जना कार्यकारिणी सदस्य रहनेछन् । महासंघका संस्थापक सदस्यमध्येबाट एक जना कार्यकारिणी सदस्यमा निर्वाचित हुने व्यवस्था छ । महासंघको कार्यकारिणी समितिले पाँच जना सदस्य मनोनयन गर्नेछ ।

संशोधित संघीय विद्यानअनुसार प्रत्येक प्रदेश (७ प्रदेश) मा एक/एक प्रादेशिक कमिटी (प्रदेश उद्योग वाणिज्य महासंघ) हुनेछन् । प्रादेशिक कमिटिका निर्वाचित सात अध्यक्ष केन्द्रीय कार्यकारिणी समितिमा पदेन सदस्य रहने व्यवस्था छ । यस्तै, जिल्ला/नगर उद्योग वाणिज्य संघबाट प्रत्येक प्रदेशको प्रतिनिधित्व हुने गरी केन्द्रीय कार्यकारिणी समितिमा सात जना सदस्य निर्वाचित गरिनेछ ।

किशोरको प्यानल घोषणा


महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोरकुमार प्रधानले आइतबार राजधानीमा आफ्नो प्यानल घोषणा गरेका छन् । उनको प्यानलमा दुई उपाध्यक्ष र कार्यसमिति सदस्य छन् । जिल्ला/नगर उपाध्यक्षमा प्रमोद श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा शंकरप्रसाद पाण्डे उम्मेदवार छन् ।

प्रधान समूहले एसोसिएटतर्फबाट उपाध्यक्ष र कोषाध्यक्ष पदमा उम्मेदवार खडा गरेको छैन । यो समूहले पनि एसोसिएट उपाध्यक्षमा चन्द्र ढकाललाई नै समर्थन गरेको छ । एसोसिएट उपाध्यक्षमा ढकालको समर्थन गर्दै नयाँ उम्मेदवार खडा नगरेको प्रधानले बताए । यो समूहले सोमबार महासंघ सचिवालय टेकुमा गएर उम्मेदवारी दर्ता गर्दैछ ।

कोषाध्यक्ष पदको उम्मेदवार निर्वाचनपछि घोषणा गर्ने प्रधानले बताए । महासंघको विधानमा कार्यकारिणी समिति सदस्यमा निर्वाचित मध्येबाट कोषाध्यक्ष चयन गर्नुपर्ने व्यवस्था छ । ‘कोषाध्यक्ष पदमा अहिले नै उम्मेदवार खडा गरिरहनु पर्दैन' प्रधानले भने, ‘हाम्रो समूहले निर्वाचित सदस्यमध्येबाट कोषाध्यक्षको उम्मेदवार अगाडि सार्नेछ ।'

प्रधान समूह ‘हाम्रो अभियानः सक्षम नेतृत्व, सशक्त संगठन' भन्ने नारासहित चुनावी मैदानमा उत्रिएको छ । यो समूहबाट जिल्ला/नगर समूहतर्फ सदस्यका उम्मेदवारमा कल्याण जोशी, खुसनारायण सैंजू, गजेन्द्र भगत, दीपेन्द्र क्षेत्री, पशुपति खड्का, मनिषलाल प्रधान, मनोज मुन्दरा, युवक राजभण्डारी, राजेन्द्र श्रेष्ठ, लोकविक्रम थापा, सन्तोष खतिवडा र सुदर्शन कार्की रहेका छन् ।

यसैगरी वस्तुगत समूहतर्फ सदस्यका उम्मेदवारमा अशोक शर्मा, गोविन्द घिमिरे, चन्डीप्रसाद अर्याल, डा. तिलचन्द्र भट्टराई, दीपकबहादुर शाही, नरेशलाल श्रेष्ठ, प्रकाश कार्की, मधुसूधन आचार्य, रितेश लामिछाने, सन्तोष श्रेष्ठ, सुकुन्तलाल हिराचन, शिवप्रसाद घिमिरे, शैलेन्द्र गुरागाईं र हंशराज वाग्ले रहेका छन् ।

प्रधान समूह १५ बुँदे कार्यदिशासहित चुनावी मैदानमा उत्रिएको छ । उद्योगी व्यवसायीको सम्मान र हकतिको रक्षा, उद्योगी व्यवसायी तथा लगानीकर्ताको मनोबल बढाउने, महासंघको प्रतिष्ठा उच्च पार्ने, सांगठनिक सुदृढीकरण , सचिवालय सुदृढीकरण लगायत कार्यदिशा समूहको छ ।

प्रधानको उम्मेदवारी घोषणा कार्यक्रममा पूर्वअध्यक्ष कुशकुमार जोशी, सुरज वैद्य, पूर्ववरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार लगायत सहभागी थिए । घोषणा सभालाई सम्बोधन गर्दै जोशीले भने, पूर्वअध्यक्षहरू सँधै सत्यको साथ हुनेछन्, जित पनि सत्यकै हुनेछ ।' महासंघ नेतृत्वका लागि प्रधान उपयुक्त र सक्षम व्यक्ति भएको उनको जिकिर थियो ।

उपाध्यक्षमा ढकाल निर्विरोध

महासंघको एसोसिएट उपाध्यक्षमा चन्द्र ढकाल निर्विरोध चयन हुने लगभग निश्चित भइसकेको छ । किशोरकुमार प्रधान समूहले पनि समर्थन गरेपछि ढकाल निर्विरोध उपाध्यक्ष हुने निश्चित भएको हो । प्रधान समूहले एसोसिएट उपाध्यक्ष बाहेक सबै पदमा उम्मेदवारी घोषणा गरेको छ ।

सोमबार साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय छ । कसैले स्वतन्त्र उम्मेदवारी नदिएमा ढकाल सोमबार नै निर्विरोध चयन हुनेछन् । एसोसिएट उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने बताइरहेका सौरभ ज्योतिले पनि ढकाललाई नै समर्थन गर्ने घोषणा गरिसकेका छन् । समाचार तयार पार्दासम्म नयाँ स्वतन्त्र उम्मेदवार खडा हुने सम्भावना देखिएको छैन । अहिले उनी एसोसिएटतर्फबाट केन्द्रीय कार्यकारिणी सदस्य छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.