बिमा कम्पनीको चुक्ता पुँजी चार गुणा बढ्यो
काठमाडौः बिमा समितिले बिमा कम्पनीकाे पुँजी चार गुणाले बढाएको छ । समितिको नयाँ मापदण्डअनुसार अब जीवन बिमा कम्पनीको चुक्ता पुँजी दुई अर्ब र निर्जीवन बिमा कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ हुनुपर्ने समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले जानकारी दिए ।
अहिले जीवन र नीर्जिवन बिमा कम्पनीको चुक्ता पुँजी क्रमशः ५० करोड र २५ करोड चुक्ता रुपैयाँ थियो । बिमा कम्पनीले नयाँ मापदण्ड अनुसारको पुँजी २०७५ असार मसान्तसम्ममा पुँजी पुर्याइसक्नु पर्नेछ । नयाँ बन्दै गरेको बिमा ऐनमा जीवन बिमा कम्पनीका लागि पाँच अर्ब र नीर्जीवन बिमा कम्पनीको लागि चार अर्बको चुक्ता पुँजीको प्रस्ताव गरिएको छ ।
केही बिमा कम्पनीको नयाँ मापदण्डअनुसार जीवन बिमा कम्पनीको पुँजी पुगिसेकेको छ भने केहीको पुर्याउन बाँकी छ । निर्जीवन बिमा कम्पनीमा भने सबैले पुँजी वृद्धि गर्नु पर्ने देखिएको छ । यस्तै समितिले नयाँ बिमा कम्पनी खोल्न चाहने र पुराना जसले कम्पनी सञ्चालनका लागि समितिको सहमती कुरेर बसेका छन् उसका लागि छुट्टै नीति बनाउने तयारी गर्ने भएको छ ।
अयक्ष चापागाईंले भने, ‘ ८/१० वर्ष पहिला कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भइसकेकालाई के गर्ने र नयाँ खोल्न चाहनेलाई के गर्ने भन्ने बारेमा नीति बनाउनेछ ।' बजार अध्ययन गरिसकेपछि त्यसैका आधारमा नयाँ कम्पनीले प्रवेश पाउने/नपाउने पत्ता लाग्ने उनले बताए । हाल बजारमा २७ वटा बिमा कम्पनी छन् ।