अदुवा बिक्री नहुँदा किसान चिन्तित
सिन्धुलीः राम्रो आम्दानी हुने आशले व्यावसायिक अदुवाखेतीमा लागेका किसान अदुवा बिक्री नहुँदा चिन्तित बनेका छन् । सिन्धुलीको उत्तरी भेगका किसानले उत्पादन गरेको अदुवा बारीमै कुहिने अवस्थामा पुगेको हो ।
अदुवाको उचित मूल्यसहित बजार अभाव भएपछि किसान चिन्तित बनेका छन् । जलकन्या, भद्रकाली, रतनचुरा, अमले, बस्तीपुर, तामाजोरलगायत गाविसका कृषकले लगाएको अदुवाले बजार पाउन नसकेको हो । अदुवाले उचित मूल्य र बजार पाउन नसकेको जलकन्याका कृषक तुलसा कार्कीले बताइन् ।
गत वर्ष अदुवाबाट राम्रो आम्दानी भएपछि यस वर्ष उनले अदुवाखेतीको विस्तार गरेकी थिइन् । ‘अदुवाको माउ र नयाँ अदुवा दुवै बेच्ने बेला भए पनि मूल्य नपाउँदा अदुवा बारीमै सुकेर जाने अवस्था आएको छ,' उनले थपिन्।गत वर्ष ६ कठ्ठा जमिनमा लगाएको अदुवाबाट उनले झन्डै डेढलाख रुपैयाँ आम्दानी गरेकी थिइन् । यस पटक तीन लाख रुपैयाँसम्म आम्दानी गर्ने गरी गरिएको अदुवाखेती बारीमै कुहिन थालेको उनको गुनासो छ ।
गत वर्ष घरमै गाडी लिएर आएका अदुवा व्यापारी यस वर्ष फर्केर नआएको जलकन्याका अदुवा कृषक रामबहादुर बिक बताउँछन् । जिल्ला कृषि विकास कार्यालयबाट राम्रो जातको ६ क्विन्टल अदुवाको बिउ खरिद गरी ल्याएर ८ कठ्ठाबारीमा लगाएको भए पनि अदुवा निकालेर बिक्री गर्न नपाएको उनले बताए ।
प्रतिधार्नी दुई सय रुपैयाँमा बिउ किनेर लगाएको अदुवा अहिले प्रतिकिलो २० रुपैयाँमा पनि बिक्री हुन सकेको छैन ।
‘बारीमा मकै छर्ने बेला भएपछि अदुवा खनेर राखेको भए पनि बजारमा बिक्री गर्न सकिएको छैन । बजारमा अदुवाको भाउँ नै छैन । सित्तै कसरी छाडेर जानु', उनले दुखेसो पोखे । सिन्धुलीको मुख्य बजारमा हिजोआज अदुवाको भाउँ ४० रुपैयाँ केजी छ । जिल्लाबाट प्राय तराई र भारतको बजारमा अदुवा निर्यात हुने गरेको भए पनि पछिल्लो समय अदुवा निर्यात हुन सकेको छैन ।
प्रतिधार्नी दुई सय रुपैयाँमा बिउ किनेर लगाएको अदुवा अहिले प्रतिकिलो २० रुपैयाँमासमेत बिक्री हुन छाडेको कृषकको भनाइ छ । अदुवा बिक्रीबाट जिल्लाका कृषकले लगानीसमेत उठाउन नसक्ने अवस्था आएको उनीहरूले बताए । नेपालमै अदुवाको प्रयोग न्यून भएका कारण बजारमा बिक्रीसमेत कम भएको अनुमान गरिएको छ ।
जिल्लामा उत्पादित अदुवालाई प्रसोधन गरेर अन्य परिकार निकाल्न प्रसोधन केन्द्रको अभाव छ । दुई वर्ष अघिसम्म जिल्लामा अदुवाको भाउँ प्रतिकिलो ८० देखि एक सय २० रुपैयाँसम्म थियो । यातायातको सुविधा नहुँदा त्यतिकै खेरजाने अदुवा गाउँगाउँमा पुगेको सडकले बजारसम्म पुर्याउन सहज भएको थियो ।
तर, गाउँगाउँमा यातायातका साधन पुगेपछि अदुवा संकलन गर्न विचौलीया घरघरमै पुग्ने गरेका कारण जिल्लामा पछिल्लो समय अदुवाले उचित मूल्य पाउन छाडेको भद्रकाली गाविसका अदुवा कृषक भक्तबहादुर बम्जन बताउँछन् । गत वर्ष आफूले उत्पादन गरेको अदुवा सिन्धुलीमाढीमा लगेर बिक्री गर्दा दुई लाख ५० हजार हात पारेका कृषक बम्जनले यस वर्ष ५० हजारको पनि अदुवा बिक्री गर्न नसकेको जनाए ।
सिन्धुली जिल्लाको महाभारत क्षेत्र अदुवा उत्पादनका दृष्टिले महत्वपूर्ण मानिन्छ । जिल्लामा वार्षिक चार अर्बभन्दा बढीको अदुवा उत्पादन हुने बताइएको छ । जिल्लाको महाभारत क्षेत्रका अलावा अरुणठाकुर, ककुरठाकुर, दुधौली, कमलामाई नगरपालिकालगायत क्षेत्रमा व्यावसायिक अदुवाखेती गर्दै आएका छन् ।