सेतो गुम्बा र निर्माण

सेतो गुम्बा र निर्माण

भूकम्पपछि केही उदाहरणीय पुनस्र्थापना योजनाले मुलुकमा सकारात्मक सन्देश दिएका छन् । धुर्मुस-सुन्तली जोडीले विस्थापितहरूको पुनस्र्थापना र पुनर्निर्माणमा स्थानीयहरूसँगै आफैं श्रमिक बनेर सचेत नागरिकका उदाहरणका रूपमा आफूलाई प्रस्तुत गरे । आफ्नो श्रमको पसिनाले सिञ्चित घरप्रति बढी अपनत्व हुनु स्वाभाविकै हो र त्यहाँ जसको लागि धुर्मुस-सुन्तलीले टेलिभिजनको पर्दामा हैन, यथार्थ जीवनमा पसिना बगाए, उनीहरूले एउटा राष्ट्रिय अभियानमा सहकार्य, सहयात्रा र सहधर्म निर्वाह गरे । उनीहरूले बनाएका र अहिले हासिल गरेका घर उनीहरूको मीठो मेहनतको उपलब्धि बन्न पुगेको छ ।

पटकपटक राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नेतृत्वमा भएका परिवर्तन र 'एक द्वार नीति' का कारण सुरुमा इच्छुक व्यक्ति र संस्थाहरूसमेत निर्माण कार्यमा संलग्न हुन सकेनन् । तर सरकारले त्यो नीतिको अव्यावहारिकता महसुस गरेपछि घोषणा नगरीकन विभिन्न संस्थाहरूलाई निर्माणको लागि अनुमति दिएको छ, त्यसका सकारात्मक प्रतिफल देखा परेका छन् । जापानी सहयोग संगठन जाइका, जर्मन सहयोग संगठन जीआईजेड, अमेरिकी सहयोग संगठन यूएसएड, नर्वेजियन सहयोग संगठन, चौधरी ग्रुप आदिले खासगरी स्वास्थ्य र शिक्षण संस्थाका भत्किएका संरचनाहरूको पुनर्निर्माण गरी स्थानीयहरूलाई हस्तान्तरण गरेका छन् ।

यता आएर सामान्यतया सेतो गुम्बाका नामले परिचित कान्यिङ सेदु्रव लिङले भूकम्प सञ्चालित रनजुङ येसे सनपेङ पुनर्निर्माण परियोजनाअन्तर्गत ५५ पक्की घर धादिङका त्यत्ति नै भूकम्पपीडित परिवारलाई हस्तान्तरण गरिएको छ । सेतो गुम्बाका प्रमुख चोक्यिनिमा रिन्पोचे बुद्धधर्म दर्शनका व्याख्याता र मुलुकभित्र र बाहिरका हजारौं शिष्यहरूका गुरुका रूपमा स्थापित छन् ।

निष्काम कर्म उनको जीवनको आचरण र शैली बन्न पुगेको छ । उनकै अग्रसरतामा नेपाललगायत अन्य २० मुलुकबाट जुटेको भौतिक सहयोग र पीडितहरूलाई स्वयंको श्रमदानबाट ती घर झन्डै १५ महिनामा निर्माण गरेर धादिङको ज्वालामुखी गाउँपालिकाअन्तर्गत ढोलामा पीडितलाई रिन्पोचे स्वयंले स्वामित्व प्रमाणपत्र वितरण गरेका छन् । उनको गुम्बा, त्यसअन्तर्गत सञ्चालित परियोजना र त्यसमार्फत सहयोग पु¥याउने हरेक अदृश्य व्यक्ति अनि ती निर्माण कार्यलाई बराबर प्राविधिक हिसाबले निगरानी गरिरहेका विदेशी 'आर्किटेक्ट' र इन्जिनियरहरूले आफूलाई दुःखीहरूको सेवामा जुटाएर बुद्धकै प्रतिनिधिको रूपमा प्रस्तुत गरेका छन् ।

पीडितको दुःखमा मलम लगाउने हातहरूले साँच्चै ईश्वरको सेवा गर्छन् भन्ने मान्यता बुद्ध धर्मलगायत सबै धर्मको सारतत्व मानिन्छ । सेतो गुम्बा र त्यसका प्रमुखले आफ्ना यी कार्यबाट अरूलाई समेत भूकम्पपीडितको सेवामा जुट्न र विस्थापितहरूका लागि स्थायी आवास निर्माण अभियानमा जुट्न सन्देश दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.