नथाक्ने पौरख
रतिराम पराजुली ७० वर्ष पुगे । उनी बिहान ७ बजे आफ्नो उद्योगमा पुग्छन् र बेलुका ८ बजेतिर घर फर्कन्छन् । वृद्ध पराजुलीले नेपालगन्ज-२, घरबारी टोल पिपल चौतारामा जुत्ता उद्योग सञ्चालन गरेका छन् । घर बसेर खानुपर्ने उमेरमा वृद्ध पराजुली उद्योगमा गई जुत्ताको मार्किङ, कटिङ र फिनिसिङ गर्छन् ।
उनले ०५९ सालदेखि ‘एभरेस्ट जुत्ता उद्योग' सञ्चालन गरेका हुन् । काठमाडौंबाट पाँच जोर फर्मा र एक प्रेस मेसिन ल्याएर उद्योग सुरु गरेको उनले बताए । ‘सिलाउने मेसिन यही (नेपालगन्ज) बाट किनें, फर्मा र प्रेस काठमाडौंबाट ल्याएर जुत्ता उद्योग सुरु गरेको हुँ', पराजुली भन्छन् ।
जन्मेदेखि नमरुन्जेलसम्म जुत्ता लाउनुपर्ने भएका कारण व्यवसाय राम्रो रहेको उनको अनुभव छ । ‘जन्मेदेखि नमरुन्जेलसम्म जुत्ता लाउनै पर्ने हुन्छ, त्यसकारण यो व्यवसाय राम्रो छ', पराजुली भन्छन् ।
थोकमा ३ सयदेखि ९ सय रुपैयाँसम्मका जुत्ता बनाएर बिक्री-वितरण गरिरहेका छन् उनले । उद्योगका लागि काठमाडौंबाट कच्चा पदार्थ ल्याइरहेको उनी बताउँछन् । जुत्ता उद्योगका लागि कच्चा पदार्थ र काम गर्ने कालिगढको अभाव रहेको उनको भोगाइ छ । त्यसैले यो रोजगारीको खुला क्षेत्र भएको उनी बताउँछन् । पराजुली आफैंले ६ जनालाई रोजगारी पनि दिएका छन् ।
छालाको उत्पादन नेपालमा धेरै भए पनि प्रशोधन गर्ने उद्योग नभएका कारण जुत्ताको कच्चा पदार्थ विदेशबाट ल्याउनुपरिरहेकोमा भने पराजुली दुःखी छन् । नेपालमै छाला प्रशोधन उद्योग सञ्चालन गरी जुत्ताको कच्चा पदार्थसमेत स्वदेशमै उत्पादन गर्ने व्यवस्था सरकारले गर्नुपर्ने उनको धारणा छ । ‘छाला सस्तोमा पठाएर कच्चा पदार्थ डलरको भाउमा ल्याउनुपरिरहेको छ', पराजुलीले गुनासो गरे, ‘यदि नेपालमै प्रशोधन उद्योग स्थापना गर्न सके सर्वसाधारणले सस्तोमा जुत्ता किन्न पाउने थिए ।' उनले छालाको निकासी बन्द गराउनुपर्नेमा जोड दिए ।
दर्जन व्यवसाय गरेका पराजुली जुत्ता उद्योगबाट सबैभन्दा बढी सन्तुष्ट भएको बताउँछन् । ‘मेरो जीवन जुत्ता उद्योग खोलेपछि सहज भयो । ठूलो स्केलमा उद्योग सञ्चालन गर्न सकेको छैन तर सक्नेजति गरेको छु ।' उनले भने, जीवनमा धेरै भांैतारिनुपर्यो तर अहिले जीवन सहज भएको छ ।'
जुत्ता उद्योगबाट पराजुलीले १० जनाको परिवार धानेर मासिक ३० हजारसम्म बचत गरिरहेको बताए । ‘आरामसँग १० जनाको परिवार धानेको छु, महिनाको २५/३० हजार बचतसमेत हुन्छ', पराजुली भन्छन् । जीवनको सात दशकको अन्तरालमा धेरै संघर्ष गरेको पराजुली बताउँछन् । जीवनका धेरै उतार-चढावपछि पराजुलीले उक्त जुत्ता उद्योग खोलेका हुन् ।
बाग्लुङको अधिकारी चौर-२ पाखापानीमा २००५ सालमा जन्मिएका पराजुली ६ वर्षदेखि १४ वर्षसम्म बाख्रा गोठालो भए । १४ देखि २२ वर्षसम्म भैंसी गोठालो गए । दुई वर्ष गाउँमै खेती किसान गरे । कुनै काममा मन नबसेपछि पराजुली मधेस झरे । ०२६ सालबाट रुपन्देहीको सालझण्डीमा खेती-किसानीमा लागे । २० वर्षसम्म सालझण्डीमा खेतीपाती गरे । ०४६ मा भने खेतीकिसानी पनि छाडेर नेपालगन्ज हानिए । नेपालगन्जले उनलाई पेसा व्यवसायतिर डोर्यायो । नेपालगन्ज बसपार्कमा उनले १० धुर जग्गा किनेर खाद्यान्नको व्यापार सुरु गरे । त्यसमा समेत तीन महिनाभन्दा बढी टिकेनन् । खाद्यान्न व्यवसायमा ०४४/४५ सालतिर ६० हजार रुपैयाँ डुबाए ।
त्यसपछि चोकमा बसेर परौठा बनाए, परौठा बनाउँदा बनाउँदै बसपार्कमा होटल खोले । त्यहीबेला छोराछोरीले एसएलसी पास गरे । छोरीको बिहेसमेत गरिदिए । एसएलसीपछि छोराले आफैं जुत्ता पसल थापे । पसलमा एउटा लामो टुप्पी भएका एक ब्राह्मण जुत्ता लिएर आउँथे । उनैसँग पराजुलीले व्यवसायको ज्ञान लिए ।
‘मैले उनीसँग जुत्ता कसरी, कहाँबाट ल्याउँछौ भनेर सोधेँ, उनले मेरै उद्योग छ त्यहीँ बनाएर ल्याएको हुँ भने', पराजुलीले अनुभव सुनाए, ‘मलाई पनि लाग्यो अब म जुत्ता बनाउने काम गर्छु । त्यहीँबाट मेलै पनि व्यवसाय सुरुगरेको हुँ ।'
अहिले उनका छोराहरूको बेग्ला-बेग्लै व्यवसाय चलाएका छन् । उनी एक्लैले जुत्ता उद्योग हाँकिरहेका छन् । समाजमा जातका आधारमा यो गर्नु हुन्छ त्यो गर्नु हुन्न भन्ने मान्यता रहेको कारण समाज पछाडि परेको उनको अनुभव छ । सरकारले रोजगारीभन्दा पनि व्यवसाय गर्ने वातावरण उपलब्ध गराउनुपर्ने उनी बताउँछन् । भन्छन्, ‘सरकारले रोजगारी दिने होइन, सरल रूपमा ऋण प्रवाह गरिदिनुपर्छ, उद्योगी र किसानलाई सहुलियत दिनुपर्छ, उद्योग, व्यवसाय गर्ने वातावरण बनाइदिनुपर्छ ।'