नर्सिङमा थपिँदै मधेसी महिला
वीरगन्जः वीरगन्जस्थित चिकित्साशास्त्र अध्ययन संस्थान (वीरगन्ज नर्सिङ क्याम्पस)बाट स्टाफ नर्सको अध्ययन पूरा गरेकी प्रतिमा गौरो अहिले त्यही क्याम्पसमा अध्यापनरत छिन् । वीरगन्जको त्रिजुद्ध माविबाट ०५२ सालमा प्रवेशीका परीक्षा (एसएलसी) उत्तीर्ण गरेकी गौरो उच्च शिक्षा अध्ययनका लागि ठाकुरराम बहुमुखी क्याम्पसको विज्ञान संकायको प्रवीणता प्रमाण पत्र तह (आइएस्सी)मा भर्ना भइन् । आइएस्सीमा भर्ना भएको ६ महिनामै उनले ठाकुरराम बहुमुखी क्याम्पस छाडेर स्टाफ नर्सका लागि वीरगन्ज नर्सिङ क्याम्पसको प्रवेश परीक्षा (इन्ट्रान्स परीक्षा) मा आवेदन दिइन् ।
३५ वटा कोटाका लागि एक सय ५० जनाले इन्ट्रान्स दिएका थिए । गौरो सम्झन्छिन्, ‘इन्ट्रान्समा मैले एक नम्बरमै नाम निकालेँ ।' ०५३ सालमा वीरगन्ज नर्सिङ क्याम्पसमा भर्ना भएकी गौरोले ०५६ सालमा स्टाफ नर्सको अध्ययन सकाएपछि वीरगन्जको एड्भान्स मेडिकेयर हस्पिटलमा तीन वर्षसम्म काम गरिन् । त्यसपछि विराटनगरस्थित कोसी हेथ इन्स्टिच्युटबाट ब्याचलर अफ नर्स (बिएन)को अध्ययन पूरा गरेपछि वीरगन्जकै हिमाल हेल्थ इन्स्टिच्युटमा अध्यापन सुरु गरिन् ।
अध्यापनसँगै उनले वीरगन्जको नेसनल मेडिकल कलेजबाट मास्टर्स अफ नर्स(एमएन) को अध्ययन सकेर ०७२ सालदेखि आफू अध्ययन गरेकै वीरगन्ज नर्सिङ क्याम्पसमा अध्यापन गराउँदै आएकी छन् ।एसएलसी पास गरेपछि ठाकुरराम क्याम्समा म आइएस्सीमा भर्ना भए पनि मेरो रुचि नर्सिङमै थियो', गौरो भन्छिन्, त्यसैले ६ महिनामै मैले आइएस्सीको पढाइ छाडिदिएँ र नर्सिङ पढ्न लागें । आफूले पढेकै क्याम्पसमा पढाउन पाउँदा निकै गर्वानुभूति भएको उनको भनाइ छ ।
पहाडी समुदायका महिलाको तुलनामा अत्यन्त न्यून रहेको मधेसी महिलाको संख्या अब फेरिँदो अवस्थामा छ । वीरगन्जस्थित नर्सिङ क्याम्पसमा मधेसी महिलाको संख्या बढ्दो छ ।
मैले जुन क्याम्पसमा स्टाफ नर्स पढें आज त्यही क्याम्पसमा अरू बहिनीलाई पढाउँदै छु', गौरो भन्छिन्, ‘मलाई एकदमै गर्वको अनुभूति भइरहेको छ, यहाँ सबै आफ्नोजस्तै लाग्छ ।' पछिल्लो समय नर्सिङ अध्ययनतर्फ किशोरी र युवतीको आकर्षण बढ्दै गएको उनी बताउँछिन् ।
‘मैले ०५२ सालमा स्टाफ नर्स अध्ययनका लागि इन्ट्रान्स परीक्षा दिँदा ३५ कोटाका लागि एक सय ५० जनाले निवेदन दिएका थिए', गौरो भन्छिन्, ‘अहिले यही क्याम्पसमा ४५ वटा कोटा छ तर इन्ट्रान्सका लागि ११ सय जनाले आवेदन दिने गरेका छन् ।'
समाजमा नर्सिङ पेसालाई निकै सम्मानसाथ हेर्ने चलन छ, आर्थिक रूपले पनि यो पेसामा राम्रै आम्दानी छ', उनी भन्छिन्, ‘यिनै कारणले अचेल किशोरी र युवतीको नर्सिङ पेसातर्फ आकर्षण निकै बढेको छ ।'
चार÷पाँच वर्षयता मधेसका किशोरी र युवती पनि नर्सिङतर्फ आकर्षित हुँदै गएको गौरोको भनाइ छ । ‘पहिले–पहिले वीरगन्ज नर्सिङ क्याम्पसमा मधेसका बहिनीहरूको संख्या नगण्य नै हुन्थ्यो', उनी भन्छिन्, ‘तर अहिले पहिलो वर्षमै नौ जना त मधेसी समुदायकै भर्ना भएका छन्, तीमध्ये क्लास टप पनि यही वीरगन्जकै बहिनी भएकी छन् ।'
०३३ सालमा स्थापना भएको त्रिभुवन विश्वविद्यालय मातहतको वीरगन्ज नर्सिङ क्याम्पसमा अहिले एक सय ६९ जना अध्ययनरत रहेको क्याम्पस प्रमुख मुना रानाले बताइन् । ‘पहिले यहाँ स्टाफ नर्स पढ्ने लगभग सबै पहाडी जिल्लाका छात्रा हुन्थे तर अहिले मधेसका किशोरी पनि भर्ना भएका छन्', रानाले भनिन्, ‘प्रचारप्रसार अझै गर्न सकियो भने मधेसी संख्या अझै बढ्छ ।' वीरगन्ज नर्सिङ क्याम्पसमा आफूले नै पढाएका चार जना विद्यार्थी अहिले आफ्नै क्याम्पसमा अध्यापनरत रहेको क्याम्पस प्रमुख राना बताउँछिन् ।