कार्यस्थलमा दिक्क लाग्छ ? यसो गरौं
कार्यस्थल सधैंभरि रोमाञ्चक वा सहज हुँदैन । प्रायः कार्यस्थलमा केही न केही तनाव भइरहेको हुन्छ । कार्यस्थलमा आवेगलाई कसरी व्यवस्थित गर्ने ? न्युयोर्क टाइम्सकी एलेन जिम्मरम्यानले प्रश्नोत्तर शैलीमा केही उपाय खोजेकी छन् ।
समस्याः अफिसमा काम गर्दा कहिलेकहीं रिस उठ्छ । सहकर्मीसँग झिँझो मानिन्छ । वचन लगाइन्छ । कहिलेकहीं त रोई पनि हालिन्छ । त्यस्तो व्यवहार देखाउनुभन्दा पहिला आफैंलाई कसरी जोगाउने होला ?
समाधानः मनोवैज्ञानिक, मनोविश्लेषक र करिअर कन्सल्टेन्ट लाइन फ्राइडम्यान भन्छन्- भावनात्मक रूपमा नियन्त्रण गुमाइरहँदा आफैंलाई रोक्न र साँच्चिकै के भइरहेछ भन्ने नियाल्न गाह्रो हुन्छ ।
तपाईंले काममा दिक्क मानिरहनुभएको छ भने आफैंसँग सोध्नुहोस्- के यो यथार्थपरक र तर्कसंगत छ त ? कहिलेकहीं यस्तो अनुभूति र घटनाक्रमसँग साइनो नै नहुन पनि सक्छ । ‘यो तपाईंको सहकर्मीहरूसँगको सम्बन्ध, परिस्थिति र पूर्वअनुभवको उपज पनि हुनसक्छ', फ्राइडम्यान भन्छन् ।
तत्काल प्रतिक्रिया जनाउनुको साटो थोरै समय निकालेर आफैंलाई भन्नुहोस्- ‘यसले मलाई दिक्क लगाइरहेको छ र म यसबारे विचार गर्छु । के यसबारे भोलिपर्सी विचार गरे हुन्न ? ' अनि केले रिस उठाइरहेको छ वा दिक्क लगाइरहेको छ, त्यसमा ध्यान दिनुहोस् । ‘जस्तै केही निर्णयले तपाईंको काममा बाधा पुर्याइरहेको छ भने त्यो निर्णयपछाडिको कारण के हुनसक्छ भन्नेबारे सोच्नुहोस्', फ्राइडम्यानको सुझाव छ ।
तपाईंको प्रतिक्रिया बाल्यकालसँग पनि जोडिएको हुनसक्छ । ती मनोचिकित्सक सल्लाह दिन्छिन्, ‘जस्तै तपाईंको हाकिम संरक्षकले जस्तै बोलिरहेका छन् भने तपाईंले चालीसबर्से नभई चारबर्से बच्चाजस्तै महसुस गरिरहनुभएको हुनसक्छ । त्यस्तो बच्चा जसको बुबा दम्भी र अहंकारी छ ।' तपाईंले त्यसैगरी परिस्थितिलाई जोड्नुभयो भने आफूलाई उद्वेलित गर्ने विषय चिन्नुहुनेछ र आफ्ना प्रतिक्रियालाई नियन्त्रण गर्नुहुनेछ ।
अर्का प्रशिक्षक डेबोराह ग्रेसन रेइगल आफ्ना अनुभूति र विचार लेख्ने सल्लाह दिन्छन् । लेखन प्रक्रियाले अनुभूतिलाई नियन्त्रण गर्न सघाउ पुर्याउने उनको तर्क छ । तपाईं आफ्नो विश्वसनीय साथीलाई आफूले लेखेको देखाउन पनि सक्नुहुन्छ । ‘ती साथीले त्यो पढेर तपाईंले नदेखेको समाधानको ढोका देख्न पनि सक्छन्', उनी तर्क गर्छन् ।
समस्याः के रिस, निराशा वा दुःख लुकाउँदा तपाईंको कार्यक्षमतामा असर पर्छ ?
समाधानः अवश्य । सम्बन्धविद् एवं काउन्सिलर करेन स्टेनबर्गका अनुसार हामीले ध्यान बाँडेर भावना दबाउँदा तनाव उत्पन्न हुन्छ । स्टेनबर्ग अनुभूति दबाउँदा सिर्जनशीलता पनि कमजोर हुँदै जाने बताउँछन् । सिर्जनशीलतामा लाग्ने ऊर्जा परिस्थिति समाल्दा सकिने भएकाले त्यस्तो हुने उनको धारणा छ।
अर्का परामर्शदाता रिगेल अनुभूति दबाउँदा शान्त अवस्थामा जसरी सोच्न पनि नसक्ने बताउँछिन् । ‘तपाईं सही निर्णय गर्न सक्नुहुन्न', उनी भन्छिन्, ‘तपाईंलाई शारीरिक रूपमै समस्या पनि आउनसक्छ । वाकवाकी लाग्ने वा स्वर काँप्ने हुनसक्छ ।'
तपाईंले ती अनुभूति लुकाएर पनि राम्रै गरिरहेछु जस्तो महसुस गर्नुभएको छ भने पनि त्यो कुनै न कुनै रूपमा देखिन्छ । मनोवैज्ञानिक अउब्रे डेनियलका अनुसार त्यस्तो प्रतिक्रिया अनुहारमा वा व्यवहारमा देखिन्छ । ‘राम्रो नतिजा आउन तपाईं मनोवैज्ञानिक रूपमा पनि ठीक हुनुपर्छ', उनी भन्छन्, ‘तपाईंको शरीर र मन दुवै थकित हुनु हुन्न ।'
जिज्ञासाः के नकारात्मक अनुभूति व्यक्त गर्ने केही सामाजिक रूपमा स्वीकार्य माध्यम छन् ?
समाधानः फ्राइडम्यान समय नै राम्रो समाधान हो भन्ने ठान्छन् । केले दिक्क लगाइरहेछ भन्ने चिन्तन गर्न कम्तीमा एक दिन दिनुपर्छ', उनको सल्लाह छ । हाकिम वा सहकर्मीले तपाईंसग जसरी बोल्छन् तपाईं पनि त्यसरी नै बोल्नुहोस् । तपाईंको हाकिमले अनुभूतिबारे ख्याल गर्दैनन् भने तपाईंले कामकेन्द्रित कुरा मात्रै गर्नुहोस् ।
भावुक हुनु, दिक्क मान्नु, अनुहार बिगार्नु र आवाज उँचो बनाउनुलाई व्यावसायिक मानिँदैन । हाकिम वा सहकर्मीसँग कुराकानी गर्नुपहिला शान्त हुनुहोस् । आफ्नो निराशा थाहा पाउनुपहिले उनीहरूलाई उनीहरूसँग काम गर्नु तपाईंका लागि महत्ववपूर्ण छ भन्ने जनाउनुहोस् । अनि तपाईंले भन्न सक्नुहुनेछ तपाईंको समस्या के हो ? तपाईंलाई के मनपर्छ, के मन पर्दैन ?