मुलुकभर वैशाख ३१ मै चुनाव हुन्छः थापा
पर्वतः उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले वैशाख ३१ गते मुलुकभरि एकै चरणमा चुनाव हुने बताएका छन् ।
पर्वत सदरमुकाम कुश्माबजारमा सोमबार बिहान आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री थापाले मुलुक चुनावमय भइसकेको बताए । ‘अब कतै रोकिन्छ कि, वा पछि सर्छ कि भनेर आशङ्का लिनुपर्ने ठाउँ छैन्’ उनले भने ।सात वटै प्रदेशमा वैशाख ३१ गते एकै चरणमा चुनाव हुने उनको भनाई थियो ।
मधेसवादीसँग समेत सहमतिको प्रयास अन्तिम चरणमा पुगेको बताउँदै मन्त्री थापाले स्थानीय तहको चुनाव राप्रपाको पहिलादेखिकै एजेन्डा भएको र स्थानीय तहको चुनाव गर्नकै लागि आफू सरकारमा गएको बताए । उनले कार्यकर्तालाई कतै चुनाव हुँदैन कि भनेर विचलित नहुनसमेत आग्रह गरे ।
आगामी माघ ७ गतेभित्र तीनै तहको चुनाव गर्नुपर्ने संविधानलेनै व्यवस्था गरेको बताउँदै मन्त्री थापाले स्थानीय तहको चुनावपछि अन्य दुईवटा चुनाव गर्नका लागि पनि मार्ग प्रसस्त हुने बताए ।
उनले चुनावमा उम्मेदवार चयन गर्नुभन्दा अघि प्रत्येक नेपालीको घर घरमा पुग्न र जनताको माझमा राप्रपा भन्ने अभियानलाई सार्थकता दिन पनि कार्यकर्तालाई निर्देशन दिए ।
मन्त्री थापाले सङ्घीयताको कार्यान्वयनसँगै मुलुकमा ७४४ स्थानीय तहबाट जनताले सेवा सुविधा लिन थालेको बताउँदै स्थानीय चुनावपछि सरकारको प्रत्यक्ष अनुभूत गर्ने पाउने बताए ।