'सबैका असन्तुष्टिको सम्बोधन अब निर्वाचनपछि'
पोखराः नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले संविधान र निर्वाचनप्रति व्यक्त गरिँदै आएका असन्तुष्टिको सम्बोधन अब निर्वाचनपछि मात्रै हुने बताएका छन् ।
प्रेस चौतारी नेपाल कास्कीले सोमबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता नेपालले देश चुनावमय बनिसकेको र निर्वाचन आयोगपनि वैशाख ३१ गते नै चुनाव गराउनेगरी तीर्वगतिमा अघि बढीसकेकाले सानातिना विवादमा अल्झेर निर्वाचनलाई कोही कसैले अप्ठ्यारो पार्ने काम नगर्न आग्रह गरे।
‘अहिलेको बेला संविधान संशोधन गर्ने बेला होइन, देश र जनताको हितमा छ भने त्यो पछि विचार गरौँला ।’ प्रजातन्त्रको संस्थागत विकास गर्ने आधार खम्बा नै निर्वाचन हो भन्दै उहाँले जनताका सेवा र सुविधा घरदैलोमा पु¥याउने नयाँ संरचनाअनुसारको स्थानीय तहको निर्वाचनबाट मधेसवादी दल डराएर जनताबाट भाग्लान्जस्तो आफूलाई नलागेको चर्चा गरे ।
उनले केही वर्षदेखि देशले भोग्दै आएको राजनीतिक अस्थिरताको अन्त्य गर्न निर्वाचनमा कुनै एक दलले स्पष्ट बहुमत पाउनु पर्ने जिकिर गरे। रासस