माफी माग्दै हिसिलाले भनिन्,'आवेश र अर्धचेत अवस्थामै ‘देश खारेज गर’ भन्ने नारा लगाएछु'
काठमाडौंः नयाँ शक्ति नेपालकी नेतृ हिसिला यमीले आफू आवेश र अर्धचेत अवस्थामा रहेका बेला ‘देश खारेज गर’ भन्ने नारा लगाउन पुगेको भन्दै माफी मागेकी छिन्।
निर्वाचन आयोग अगाडि धर्ना बस्न गएका बेला प्रहरीसँग झण्डै एक घण्टाजतिको सकस र ठेलमठेलमा आफू अर्धमुर्छित हुन पुगेको र नियन्त्रणमा लिएर प्रहरीले भ्यानमा हाल्न खोज्दा आवेसमा आएर ‘देश खारेज गर’ भन्ने नारा लगाउन पुगेको भन्दै माफी मागेकी हुन्।
यमीलाई प्रहरीले नियन्त्रणमा लिएर भ्यानमा राख्न खोजेपछि ‘देश खारेज गर’ भन्दै आक्रोशित हुँदै नारा लगाएकी थिइन्। यस्तो नारा लगाएपछि नेतृ यमीको चौतर्फी रुपमा आलोचना हुन थालेपछि सोमबार पत्रकार सम्मेलन गरी आफू आवेश र अर्धचेत अवस्थामा रहेका बेला ‘देश खारेज गर’ भन्ने नारा लगाउन पुगेको भन्दै माफी मागेकी हुन्।
‘धर्नाको नेतृत्वपंक्तिमै रहेकाले आफू प्रहरीसँग धकेलाधकेल र झण्डै एक घण्टाजतिको सकस तथा ठेलमठेलमा म अर्धमुर्छित जस्तै हुन पुगेछु। त्यसैबीच सुरक्षाकर्मीहरुले समातेर सुरक्षा भ्यानमा राखे। म त्यो वेला आवेस र अर्धचेतकै अवस्थामा थिएँ। तीब्र आवेसमा म चिच्याउँदै नाराबाजी गर्न लागेछु। त्यसैक्रममा मैले स्थानीय निर्वाचन ऐनको ‘यो आदेश खारेज हुनुपर्छ’ भन्न खोज्दा वेहोशीपूर्वक अन्यथा हुनपुगेछ,’यमीले भनेकी छिन्।
जनजाति समुदायकी छोरी भएकोले आफूमा नेपाली भाषामा राम्रो दखल नभएको भन्दै उनले आन्दोलनको प्रेसर, भाषागत कमजोरी र वेहोसीमा आदेशलाई अन्यथा उच्चारण गर्न पुगेकाले होसमा आएपछि गल्ती महसुस गरेको बताएकी छिन्।
उनले त्यो परिस्थितिजन्य घटना र वेहोसीमा आफ्नो प्यारो देशका विरुद्ध निस्किएका शब्दहरुप्रति आफू अत्यन्तै दुःखित बनेको भन्दै क्षमायाचना मागेकी छिन्। उनले देशलाई अपमान र आधात पर्नेगरी बोलेको भन्ने सम्बन्धमा आएका समाचार र प्रतिक्रियाप्रति आफ्नो ध्यानाकर्षण भएको बताइन्।