मतदाता परिचयपत्र छाप्न सुरु
काठमाडौं (अन्नपूर्ण): निर्वाचन आयोगले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि कान्तिपथस्थित केन्द्रीय कार्यालय परिसरमा सोमबारबाट मतदाता परिचयपत्र छपाइ सुरु गरेको छ।
आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले डोल्पा जिल्ला त्रिपुरासुन्दरी नगरपालिका वडा नं. १० का मतदाता सुनकुमारी खत्रीको मतदाता परिचयपत्र सार्वजनिक गर्दै परिचयपत्र छपाइ प्रारम्भ गरेका हुन्।
आयोगले आइतबार मात्रै स्थानीय तह निर्वाचनमा एक करोड ४० लाख ५४ हजार ४८२ मतदाताको नामावली स्वीकृत गरेको थियो। स्वीकृत नामावलीका आधारमा परिचयपत्र छपाइ सुरु गरेको आयोगले जनाएको छ।
नयाँ परिचयपत्रमा भ्वाइड प्रिन्टोग्राफ, माइक्रोटेक्स्ट, डिफ्युज प्रिन्टिङ, क्यूआर कोडजस्ता सुरक्षण विधि अपनाइएको छ। छपाइ गर्ने जिम्मा पाएको ओम्नी गु्रपका अध्यक्ष तुलहरि सिंहले १० दिनमा छपाइकार्य सक्ने जानकारी दिए।
उनका अनुसार परिचयपत्रको चारैतिर सिल्ड भएकाले भाँचिँदैन र १० वर्षसम्म चल्छ। प्रतिघन्टा ६५ देखि ७० हजार प्रति तयार गर्न सकिने र दैनिक सातदेखि १० लाख परिचयपत्र छपाइ हुने भएको छ।