बढ्यो चुनावी सरगर्मी

बढ्यो चुनावी सरगर्मी

प्युठान : स्थानीय तह निर्वाचनले जिल्लामा चहलपहल बढाएको छ । लामो समयपछि सरकारले निर्वाचन घोषणा गरेपछि आफ्नो पक्षमा नतिजा पार्न गाउँगाउँमा नेता कार्यकर्ता दौडधुपमा लागेका छन् । जिल्लामा क्रियाशील सबै दल टोल, वडा, गाउँ र नगरपालिका क्षेत्रमा कमिटी गठन, पुनर्गठनमा लागेका छन् । केन्द्रीयस्तरका नेता जन्माए पनि प्युठानले सोचेअनुसार विकासमा फड्को मार्न नसकेकाले स्थानीय तह निर्वाचनमा 'विकास प्रेमी' नेतालाई विजयी गराउने प्रतिक्रिया मतदाताले दिएका छन् ।

यसअघिको स्थानीय निकायको तुलनामा स्थानीय तहले धेरै अधिकार प्रत्यायोजन गरेकाले 'दूरदृष्टि' भएका नेता छनोट गर्नुपर्ने गाउँस्तरका कार्यकर्ता बताउँछन् । 'पार्टीलाई भन्दा पनि जनताका समस्या बुझेको नेतालाई विजयी गराउनुपर्ने देखिएको छ', प्युठान नगरपालिका-६ माझकोट लम्छ्याङनेटाकी सामाजिक अगुवा सावित्रा पोख्रेलले भनिन्, 'विकासमा धेरै पछाडि पर्यौँ । राम्रो नेता छान्न नसके फेरि दुःख पाइने छ ।' चुनावी प्रचारप्रसारमा गाउँ आउने सबै दलका नेतालाई पार्टीभन्दा विकासलाई प्राथमिकता दिन उनले सुझाव दिएको बताइन् ।

जिल्लामा क्रियाशील दलका नेता कार्यकर्ता आफ्ना चुनावी एजेन्डा लिएर गाउँ पसेका छन् । एमाले, कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, राप्रपालगायतका दल जिल्लामा क्रियाशील छन् । दोस्रो संविधानसभा निर्वाचनमा दुवै निर्वाचन क्षेत्र जितेको एमाले, जिल्लाको दोस्रो ठूलो दल राष्ट्रिय जनमोर्चा, नेकपमा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच नै जिल्लामा प्रतिस्पर्धा हुने धेरैले आँकलन गरेका छन् ।

दुई नगरपालिकासहित ९ वटा गाउँपालिकामा दलहरूले घरदैलो कार्यक्रम गरिरहेका छन् । स्थानीय तहमा उम्मेदवार छनोट गर्ने तयारी तीव्र पारी कार्यक्रम गाउँ केन्द्रित बनाएको नेकपा एमाले प्युठानका अध्यक्ष तुलसीराम शर्माले बताए । 'पार्टीभित्रै धेरैजना उम्मेदवारका आकांक्षी देखिएका छन्', उनले भने, 'सबैलाई मिलाएर जित्ने उम्मेदवार छनोट गरी अघि बढ्छौँ ।' सबै गाउँपालिका र नगरपालिकामा कमिटी पुनर्गठन र कार्यालय स्थापना गर्ने काम सकिएको उनले जानकारी गराए । उनका अनुसार गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका प्रमुख, उपप्रमुख पार्टी जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले टुंगो लगाउने छ ।

जिल्लाको अति दुर्गममा पर्ने साविकको स्याउलीवाङ गाविस समेटिएको नौ बहिनी गाउँपालिकाबाट घरदैलो अभियान कार्यक्रम सुरु गरिएको नेपाली कांग्रेस प्युठानका सचिव देवेन्द्र बर्माले बताए । 'वैशाख ७ भित्र उम्मेदवार टुंगो लगाउने केन्द्रीय सर्कुलर छ', बर्माले भने, 'वडास्तरबाट छलफल भइरहेको छ । समयसीमाअघि नै उम्मेदवारको छिनोफानो गर्ने तयारीमा जुटेका छौँ ।' जिल्लाका ६४ वटै वडामा बैठक, आमसभा, भेला भइरहेको उनले जानकारी गराए । उनका अनुसार उम्मेदवार चुन्ने सबै जिम्मेवारी जिल्लाले पाएको छ । 'महिला उम्मेदवारहरू धेरै देखिनुभएको छ', उनले भने, 'महिला सशक्तीकरण बढ्दै गएको पाइयो ।'

सबै वडामा कमिटी निर्माण भइसकेको नेकपा माओवादी केन्द्र प्युठनले जनाएको छ । 'कार्यक्रम गर्न नेताहरू गाउँ जानुभएको छ', केन्द्रका जिल्ला सहसंयोजक कृष्ण अधिकारी (प्रकाश) ले भने, 'सबै ठाउँमा कार्यकर्ताको उत्साह देखिएको छ । पार्टीलाई योगदान दिएका, सामाजमा छवि बनाएका नेतालाई पार्टीको तर्फबाट उम्मेदवार बनाउने आधार बनाएका छौँ ।' लामो समयपछि स्थानीय तह निर्वाचन हुन थालेकाले पार्टीभित्र उम्मेदवारको आकांक्षी धेरै देखिएको राजमोका जिल्ला अध्यक्ष कृष्ण खड्काको भनाइ छ ।

राष्ट्रिय राजनीतिमा पहुँच राख्ने नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम, नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह, नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य (किरण), नेकपा माओवादी केन्द्रका नेता मणि थापा, लीलामणि पोख्रेल, एमालेका केन्द्रीय सदस्य युवा नेता सूर्य थापा, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.गोविन्दराज पोख्रेल, नेता दिवागर गौतमलगायतका नेतासँग उम्मेदवारहरूले आफूलाई टिकट दिन 'लबिङ' थालेको स्रोतले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.