खानेपानी नभएर रोकिन्छ बिहेभोज
पाँचथर(फिदिम) : कुम्मायक गाउँपालिकाको यासोक, रानीगाउँ र स्याबरुम्बाका मानिसलाई बिहे भोजजस्ता कार्य गर्नलाई पनि पानी जुटाउन समस्या हुने गरेको छ । बर्सौंदेखि पानीको समस्या झेलिरहेका यस क्षेत्रका बासिन्दाले पानीको समस्याकै कारण विवाहमा भोज दिनै छाडिसकेका छन् ।
स्याबरुम्बाका स्थानीय दलबहादुर थापाका अनुसार विवाह गर्न सबैभन्दा ठूलो चिन्ता पानी जुटाउनेमा हुन्छ । पानीको व्यवस्थापन गर्ने पिरका कारण नै यहाँका अधिकांशले विवाहको भोज नदिने गरेको उनको भनाइ छ । विवाहको भोज दिने मन भए पानीका लागि मात्र १५ हजार रुपैयाँ छुट्ट्याउनुपर्छ । १५ हजार रुपैयाँ खर्चिएपछि ट्र्याक्टर मालिकले चार हजार लिटर पानी विवाहको भोजमा उपलब्ध गराउँछ । 'भोज चलाउन ट्र्याक्टरबाट खोलाको पानी ल्याउनुपर्छ', थापाले भने, 'विवाहमा पानीकै लागि १५ हजार रुपैयाँ खर्चिनुपरेपछि यहाँका विपन्न परिवारमा विवाह भए भोज चलाइँदैन ।'
पानीको चरम समस्याले गर्दा यहाँका मानिसको दैनिकीसमेत कष्टकर बनेको छ । पानीको आवश्यकता पूरा गर्न प्रतिलिटर डेढ रुपैयाँमा खोलाको पानी किनेर स्थानीयले तिर्खा मेट्ने गरेका छन् । २० किलोमिटर टाढा रहेको तमोर नदी, सिवा दोभान र सावाखोलादेखि ट्र्याक्टरबाट पानी ढुवानी गरेर रानीगाउँ, यासोक र स्याबरुम्बाका स्थानीयलाई ट्र्याक्टर मालिकले पानी बिक्री गर्छन् । दैनिक पाँचओटा ट्र्याक्टरले यस क्षेत्रका मानिसका लागि खोलाबाट पानी ढुवानी गर्ने गरेको स्थानीय टंक पौडेलले जानकारी दिए । एकपटकमा एउटा ट्र्याक्टरले तीन सय लिटर पानी गाउँसम्म पुर्याउँछ ।
दिनमा एक ट्र्याक्टरले दुईपटकसम्म गाउँमा पानी पुर्याउने गरेको स्थानीयको भनाइ छ । ट्र्याक्टरबाट गाउँका निश्चित स्थानमा पानी पुर्याइने र त्यहाँबाट गाउँलेले पानी किनेर लैजाने गरेका हुन् । मंसिरदेखि जेठसम्म ट्र्याक्टरबाट खोलाको पानी गाउँसम्म ढुवानी गरेर आवश्यकता पूरा गर्ने गरिएको छ ।
पिउने पानी जुटाउन पनि समस्या हुन थालेपछि किसानले हिउँदे बाली लगाउने हिम्मतसम्म गर्दैनन् । हातमुख धोएको पानी संकलन गरी गाईबस्तुलाई खुवाउनुपर्ने बाध्यता छ ।
कुम्मायक गाउँपालिकाका यासोक रानीगाउँ र स्याबरुम्बालाई सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको छ । यहाँका धारामा पानी झर्न छाडेको बर्सौं भइसक्यो । गाउँमा भएका कुवा र सिमसार जग्गा सुकेका छन् । 'पानीकै कारण विद्यार्थी पनि समयमै विद्यालय आउँदैनन्', महेन्द्रोदय मावि स्याबरुम्बाका प्रधानाध्यापक मदनकुमार बोहोराले भने, 'घरमा पानी जुटाउने ध्याउन्नले उनीहरू समयमै विद्यालय आउन नसकेका हुन्। 'पिउने पानी जुटाउनै समस्या हुन थालेपछि किसानले हिउँदे बाली लगाउने हिम्मतसमेत गर्दैनन् । हातमुख धोएको पानी संकलन गरी गाईबस्तुलाई खुवाउनुपर्ने बाध्यता छ ।
पानीका कारण बसाइँसराइ
बर्सौंदेखि पानीको पिरोलो खेपिरहेका कुम्मायक गाउँपालिका ५ स्याबरुम्बाका गोपाल थापा आफ्नो घरजग्गाको माया मारेर झापा बसाइँ सरे । गाउँमा पानीको भरपर्दो स्रोत नभएको र भविष्यमा पानीको सहज आपूर्ति नहुने देखेपछि यो वर्ष मात्रै यहाँका सात परिवार घरजग्गाको माया मारेर तराई बसाइँ सरे । 'पानीमा निर्भर हुँदो रहेछ मान्छेको जिन्दगी', स्याबरुम्बाका बालकृष्ण चेम्जोङले भने, 'पानीको समस्या भएपछि मानिसलाई हानि नै हानि हुँदो रहेछ । बसाइँ सरेर जाँदा पनि घरजग्गा बिक्री नभएपछि त्यसै छाडेर जानुपर्छ ।'
तीन वर्षअघि मात्र पानीको समस्याले गर्दा यस क्षेत्रबाट ७५ घरपरिवार बसाइँ सरेर अन्यत्र गए । गतवर्ष मात्र ७० घरपरिवारभन्दा धेरै बसाइँ सरे । त्यो क्रम यो वर्ष पनि नरोकिएको स्थानीय बताउँछन् । 'बसाइँ जाने क्रम रोकिएको छैन', स्थानीय टंक पौडेलले भने, 'पानीको अभावले यहाँ घरजग्गाको कारोबार छैन, जग्गाजमिनको माया मारेरै बसाइँ सर्नुपर्छ । यहाँको केही बेचेर पैसा लिउँला भन्ने नसोचे पनि हुन्छ ।' बसाइँ जाने क्रम नरोकिएकाले यहाँको उब्जाउयुक्त जमिन चौरमा परिणत भएका छन् ।