मधेसी महिलाको म्यादी मोह
वीरगन्ज: सोमबार बिहान उदाउँदो सूर्यलाई पूजा र अर्घ दिएर चैते छठ सकेलगत्तै म्यादी प्रहरीमा सहभागी हुन हतारहतार गाउँबाट वीरगन्ज आइपुगेकी ४५ वर्षीया सुगान्धी देवीले भनिन्, ‘चुनाव हुनैपर्छ । धेरै वर्षदेखि चुनाव नहुँदा गाविसको बजेट गाविस सचिवले हिनामिना गर्दै आएका छन् । आफूले भोट हालेर जिताएका नेता भएपछि काम हुन्छ । बदमासी गरे गाली पनि गर्न पाइन्छ ।’
वीरगन्जभन्दा करिब ४० किलोमिटर पश्चिममा रहेको मुडलीकी गृहिणी सुगान्धी देवीले म्यादीमा छनोट भए चुनावमा इमानदारीका साथ जिम्मेवारी निर्वाह गर्ने बताइन् । ‘अहिले मधेसी दलले चुनाव हुन्न भनिरहेका छन्’, उनले भनिन्, ‘चुनाव गर्न दिन्न भन्नु नाजायज कुरा हो, चुनावका दिन कसैले भाँजो हाल्यो भने सरकारी नुनको सोझो गर्छु ।’
वीरगन्जस्थित अञ्चल प्रहरी कार्यालयको चौरमा सोमबार भएको म्यादी प्रहरीको छनोट प्रक्रियाअन्तर्गतको लिखित परीक्षामा सहभागी पर्सा सुर्जाहाकी गृहणी महिला तारादेवीले पनि म्यादीमा भर्ना लिए खटाएको स्थानमा प्रतिबद्धताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । ‘त्यसमा कसैले अवरोध गर्छ भने हामीले सरकारको आदेश पालना गर्छौं’, उनले भनिन् ।
म्यादी प्रहरीमा पर्साबाट दुई सय १० जना महिलाले आवेदन दिएका छन् । तीमध्ये करिब दुई दर्जन मधेसी गृहिणी छन् ।
मधेसकै हकअधिकारका लागि कतिपय मधेसी जनताले ज्यान गुमाए पनि केही नपाएको उनको भनाइ छ । स्थानीय तहको चुनाव सबैका लागि भएकाले त्यसमा अवरोध नगरी मधेसी दललाई भाग लिन उनले सुझाइन् । चुनावमा मतदानका क्रममा महिलालाई सहजीकरण गर्न आफूले आवेदन दिएको पर्सा मानीपुरकी किस्मत देवीले बताइन् । अहिले चुनावको विरोध गर्ने मधेसी दल पनि अन्तिम समयमा आएर चुनावमा भाग लिने उनको विश्वास छ । लामो समयदेखि स्थानीय निकायको चुनाव नभएका कारण जनताको गुनासो सुन्ने जनप्रतिनिधि नभएकाले स्थानीय तहको निर्वाचन हुनैपर्ने म्यादी प्रहरीमा आवेदन दिएका मधेसी महिलाको तर्क छ ।
चुनावको सुरक्षाका लागि खोलिएको म्यादी प्रहरीको भर्नामा पर्साबाट दुई सय १० जना महिलाले आवेदन दिएका छन् । तीमध्ये करिब दुई दर्जन मधेसी गृहिणी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । २२ वर्षदेखि ५० वर्षसम्मका मधेसी महिला छनोट तालिममा सहभागी भएको पर्साका प्रहरी नायव उपरीक्षक यज्ञप्रसाद भट्टराईले बताए ।
मधेसी मोर्चाले संविधान संशोधन नभएसम्म स्थानीय तहको निर्वाचन हुनै नदिने चेतावनी दिइरहेका बेला चुनावकै लागि खोलिएको म्यादीमा भर्ना हुन मधेसी महिला अग्रसर देखिएका हुन् । आसन्न स्थानीय तहको चुनाव स्वच्छ, निष्पक्ष एवं शान्तिपूर्णमा रूपमा सम्पन्न गराउन म्यादी प्रहरीमा भर्ना हुन आएको मधेसी महिलाहरूको भनाइ छ । केही वर्षअघि घरबाहिर निस्किन अप्ठ्यारो मान्ने मधेसी महिलाले आसन्न स्थानीय तह चुनावका लागि म्यादी प्रहरीको भर्नामा आवेदन दिएको र छनोटमा पनि उनीहरूको उत्साहपूर्ण सहभागिता रहेको भट्टराईले बताए ।